+
+
किताब :

स्मृति हरायो भने के हुन्छ ?

जापानी लेखिका योको ओगावाको उपन्यास द मेमोरी पुलिस उपन्यासभित्र अर्को पनि उपन्यास लिखित छ, जुन उपन्यास अझै रोचक छ ।

कुमार नगरकोटी कुमार नगरकोटी
२०८० पुष २८ गते २०:१०

अरु नै किताब खोज्न पसलमा गएका बेला मैले जापानी लेखिका योको ओगावाको उपन्यास द मेमोरी पुलिस फेला पारें । सन् १९९४ मै लेखिएको पुस्तक धेरै वर्षपछि स्टेफन स्नाइडरको अनुवादमा जापानी भाषाबाट अंग्रेजीमा प्रकाशित भयो । हालसालै इन्टरनेशनल बुकर प्राइजको सर्टलिस्टमा पनि परेको रहेछ ।

मैले चाहिँ त्यो सूचनाका आधारमा नभई पसलमा हेर्दैजाँदा आवरणले आकर्षित गरेपछि किनेको थिएँ । नयाँ वर्ष सन् २०२४ लाग्नेबित्तिकै पढेको किताब हो द मेमोरी पुलिस

उपन्यासको संसारमा एउटा टापु सिर्जित छ, जहाँ मेमोरी पुलिस अर्थात् मान्छेको स्मृतिलाई नियन्त्रण गर्ने प्रहरीहरु छन् । स्मृति नियन्त्रण भयानक विम्ब हो । मानिसहरुले कुनै पनि चीजहरु आफ्नो वरिपरिबाट विस्तारै हराउँदै गइरहेको पाउँछन् । ती वस्तु भौतिक रुपमा मात्रै हराउँदैनन्, बरु मान्छेहरुको स्मृतिबाट समेत लोप हुँदै जान्छन् । उपन्यास पढ्दै जाँदा थाहा हुन्छ, त्यस टापुबाट एक दिन अत्तर लोप भयो । चराहरु लोप भए । टापुमा एक बिहान उठ्दा गुलाफ नै हरायो । टापुका बासिन्दाको मस्तिष्कबाट पनि गुलाफ हरायो ।

बाँकी रहेका अलिकति गुलाफ पनि मान्छेहरुले उखेलेरै समुद्रमा फ्याँक्ने गरे । केही मानिसको स्मृतिमा सुरक्षित बचेका गुलाफलाई त्यत्तिकै राख्न सम्भव नै थिएन । किनकि जसको स्मृतिमा त्यो वस्तु बाँचिरहेको छ, ऊ मेमोरी पुलिसको फन्दामा पक्कै पर्‍यो । पुलिस घरमा आउँछ, त्यो चीजसम्बन्धी स्मृति भएको मानिसलाई जेलमा लगेर कोच्छ । त्रासको वातावरण छ ।

आज आरामले सुतिरहेको मानिस बिहान उठ्दा मानचित्र नै हराउँछ । अर्को दिन भित्तेपात्रो हराउँछ । कि त समुद्रमा फ्याँकिदिनुपर्‍यो । कि आगो लगाउनुपर्‍यो । नत्र मेमोरी पुलिसले जेलमा जाकिहाल्छ । अर्को दिन फोटोग्राफ हराउँछ । मान्छेहरुको घरमा एल्बम हुँदैन । एल्बम छ भने पनि तुरुन्तै मिल्काइदिनुपर्‍यो ।

यसरी हरेक कुराहरु हराउँदै जाने, मान्छेको सम्झनाबाट गायब पार्न बाध्य गरिने उपन्यासको अवस्थिति र आइडिया एकदमै छुने खालको छ । प्लट पनि बाँधिराख्ने खालको छ । मैले सिंगो किताब पढिसकेको दुई दिन भयो, अहिलेसम्म यसैले पछ्याइरहेको छ । म सोच्छु, हाम्रो जीवनमा यस्तै स्मृति हराउँदै गए के होला ?

आम उपन्यासहरुमा पात्रको नाम हुन्छ, ठाउँको नाम, समय आदि हुन्छ । यसमा पात्रहरुको नाम छैन । ठाउँको पनि नाम छैन । जर्ज अरवेलले १९८४ भनेर लेखेकै शैलीमा कतिपय कुरा छन् । एउटी ‘उपन्यासकारा’ छिन्, जसको समेत नाम छैन । एउटा पात्रको नाम छ, अंग्रेजी ठूलो अक्षरमा आर लेखिएको छ । केवल संकेत छ । यो शैली एकदमै अनौठो खालको छ ।

किताब आफ्नी आमाबारे उपन्यासकारा पात्रकै सम्झनाबाट सुरु हुन्छ । त्यहाँ कतिपय सामग्रीको कुरा छ, जबकि ती सम्झना नै अब छैनन् । आमा मरिसकेपछि मृत शरीरबाट सम्झना फिर्ता गरिएको छ । फ्ल्यासब्याक कथामा अर्निथोलोजिस्टले जंगलमा चरा हेरिरहेको झझल्को आउँछ । तर अब चराको पनि स्मृति छैन ।

वर्तमानकालमा एउटा बुढो माझी छ, जबकि टापुबाट डुंगा हराइसक्यो । ऊ उपन्यासकाराको सहयोगी बनेर उभिएको छ । रोचक के छ भने उपन्यासकाराले लेखिरहेको उपन्यास यसै उपन्यासभित्र छ । त्यहाँ पनि मुख्य पात्र हुन्छ, अलग्गै । आफ्नो आवाज बिर्सदै गएकी पात्र छिन्, जसको सम्झनामा समय गायब छ । उसको आवाज टाइपिस्टले टाइपराइटरकै मुन्तिर लुकाइदिएको छ ।

टापुमा केही मान्छे छन्, जसले कुराहरु बिर्सदैनन् । उनीहरु मेमोरी पुलिसबाट लुकेर गुप्त ठाउँमा बसेका छन् । उपन्यासको सम्पादक आर भन्ने छ, ऊ पनि सबै कुरा सम्झन सक्छ । उसको दिमागमा जस्ताको तस्तै सम्झनाहरु छन् । उसले त्यसभन्दा अगाडि केही उपन्यास सम्पादन गरिसकेको छ । सम्पादकका लागि उपन्यासकाराले घरैभित्र गोप्य ठाउँ बनाइदिएकी छे । सानो कोठामा लुकेर ऊ सम्पादनको काम गर्छ ।

यो त्यो उपन्यासभित्रैको नयाँ उपन्यास सिध्याउने बेलासम्म उपन्यास नै उपन्यासबाट हरायो भने के हुन्छ ? यस्ता जिज्ञासाहरु समाधान गर्न द मेमोरी पुलिस किताब पढ्नुपर्छ । अहिले कथातत्वबारे यति भनौं ।

उपन्यासभित्रै उपन्यासका सेक्सनहरु छन्, जसलाई किताबमा फरक फन्टमा छापिएको छ ।

पाठकहरु त्यो उपन्यास कहिले बाहिर आउँछ भनेर पर्खिरहेका छन् । कुनै पनि कृतिमा सर्जकले बताएको जिन्दगीको प्रतिविम्बन यो उपन्यासमा हुन्छ ।

कतिपय यथार्थपरक किताबमात्र पढ्ने पाठकलाई यस्तो पनि हुन्छ र भन्ने प्रश्न जन्मेला । तर सिर्जनात्मक कलाहरुमा यस्तो कल्पना सम्भव छ । जरा हट्के केही चीज पढौं न भन्ने पाठकलाई यो गज्जबको पुस्तक हो ।

त्यसैले सर्रिअल, फ्यान्टासी उपन्यासको आइडिया मन पर्छ भने यो किताब पढ्नुहोस् । मेरो पछिल्लो किताब जोगियानामा मैले यस्तै कतिपय स्मृतिहरुबारे आफ्ना रचना लेखेको छु ।वस्तुहरुको, अनुभूतिहरुको स्मृति हराएको कुरालाई प्रतीकात्मक रुपमा पढ्दा साह्रै आनन्द आउँछ । मैले जस्तो साहित्य लेख्न, पढ्न रुचाउँछु, यो उपन्यास त्यस किसिमको रहेछ ।

(अनलाइखबरको यो सप्ताहान्त स्तम्भ ‘किताब’ मा लेखक कुमार नगरकोटीले भर्खरै पढेको ताजा उपन्यास ‘मेमोरी पुलिस’ बारे भिडियो टिप्पणी गरेका छन् । यो सम्पादित सामग्रीको पूरा भिडियो अनलाइनखबरको युट्युबमा हेर्न सकिन्छ ।)

भिडियो र तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
कुमार नगरकोटी

मोक्षान्त काठमाडौं फिभर, फोसिल, अक्षरगन्ज, जोगियाना, घाटमान्डु, मिस्टिका लगायत १० किताबका लेखक कुमार नगरकोटी नाटककार, कवि पनि हुन् । नीर शाहको निर्देशनमा यसै वर्ष बन्ने सिनेमा लेखिरहेका नगरकोटी धेरैवटा जानराका सिनेमा हेर्ने पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?