+
+

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते ८:०७

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।

अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।

सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप समेत खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स खेलेको छ ।

नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा नेपालले विश्वकप खेलिसकेको जापान र भियतनाम जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

नेपालले एएफसी वुमन्स कप भने खेलेको छैन ।

जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

यद्यपि नेपाली टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी साम्बा भने फाइनल खेलमा उपस्थित हुने छैनन् । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी हुन् ।

युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्रा नेपाली राष्ट्रिय टिमले आफैं इतिहास बनाउन लाग्दा भने टिमसँग नहुने भएकी हुन् ।

सावित्रा नभए पनि फुटबल टिम गेम भएकोले नेपाली टिमका अन्य खेलाडीहरुका लागि अब सावित्रा जस्तै चम्कने अवसर समेत छ ।

सावित्राले समूह चरणमा सिरियाविरुद्ध १, इराकविरुद्ध ४ तथा प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् । यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरेकी थिइन् ।

सावित्रापछि नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी छन् । अमिसा कार्की, अनिता बस्नेत, प्रीति राई र गीता रानाले समान एक/एक गोल गरेका छन् ।

नेपाल र जोर्डनको फाइनल यात्रा

नेपाल र जोर्डन फाइनलसम्म आइपुग्दा अपराजित छन् । दुवैले खेलेका चारै खेल जितेका छन् ।

नेपालले अहिलेसम्म १५ गोल गर्दा २ गोल बेहोरेको छ । समूह चरणमा नेपालले सिरियालाई ४-१ ले, इराकलाई ५-० ले तथा प्यालेस्टाइनलाई ४-० ले पराजित गरेको थियो ।

यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध एक गोलले पछि पर्दै पुनरागमन गरेर २-१ ले खेल जितेको थियो ।

उता जोर्डनले जम्मा एक गोल मात्र बेहोरेको छ भने १३ गोल गरेको छ । जोर्डनले साउदी अरेबियालई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० ले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक ९ गोल गरेकी छन् । यस्तै जोर्डनकी मायसा जेबाराहले ५ तथा ग्वामकी मारिएह र  लेबनानकी लिली स्कान्दरले समान तीन/तीन गोल गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?