+
+

फेरि अभागी नेपाल, पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ०:०१

१७ फागुन, काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।

साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्‍यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।

प्रतियोगिताकै सर्वाधिक ९ गोल गरेकी सावित्रा नहुँदा नेपाली टिममा पनि त्यसको असर देखियो ।

केही समयअघि मात्रै फ्रेन्च क्लब इए गुइगाम्पमा अनुबन्ध हादै फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलकरो इतिहास बनाएकी सावित्राले नेपाललाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले समूह चरणमा इराक विरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म ४ खेल खेलेकी सावित्राले ९ गोल गरिसकेकी छन् र उनी सर्वाधिक गोलकर्तामा शीर्षमा छन् ।

सावित्रा नहुँदा नेपाली टोलीको कम्बिनेसन कस्तो होला? कसरी खेल्ला, उनको स्थान कसले लेला भनेर धेरै कौतुहलता थियो । तर सावित्रा नहुँदा टिममा पहिलो रोजाईँमा अवसर पाएका अन्य खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन र फेरि फाइनलमा पराजित भयो ।

पहिलो रोजाईँमा खेलेकी सविताले  आफूलाई प्रमाणित गर्दै २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको क्रस जोर्डनी खेलाडीले रोक्ने प्रयास गरेपनि सफल नहुँदा बक्स बाहिर सविता बल पाइन् र त्यसमा उनले सिधा प्रहार गर्दा जोर्डनी खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।

७३औं मिनेटमा लाना फेरासले जोर्डनको लागि बराबरी गोल गरिन् । ७५औं मिनेटमा जोर्डनले अर्को गोल गरेपनि सहायक रेफ्रीले अफसाइड झण्डा उठाएपछि नेपालको संकट टरेको थियो ।

८९औं मिनेटमा साराह अबु शाबाहले गोल गरेपछि जोर्डनले २-१ को अग्रता लियो । र जोर्डन जित नजिक पगेको थियो । तर इन्जुरी टाइमको पहिलो मिनेटमा जोर्डनी खेलाडीले बक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पायो । त्यसमा गीता रानाले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याइन् ।

९० मिनेटपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । निर्धारित समयमा कडा फाइट गरेपनि पेनाल्टीसुटआउटमा नेपालले पराजित भयो ।

नेपालल महिला फुटबलमा फाइनलमा पराजित भएको यो ११औं पटक हो ।

यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि सधैँ उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो । यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक फाइनल पुग्दा पराजित भयो । यस बाहेक सन् २०१९ मा भारतमा भएको वुमन्स गोल्डकप कप र कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?