+

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

२०८० फागुन  १८ गते १४:१३ २०८० फागुन १८ गते १४:१३
Shares
सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

सबै मानिसको स्वभाव एकै हुँदैन । कोही शान्त स्वभावका हुन्छन् त केही लजालु स्वभावका । कसैलाई ख्यालठट्टा गर्न मनपर्छ ।  अनि कोही स-साना कुरामा पनि रिसाइहाल्ने स्वभावका हुन्छन् ।

हुन त रिस उठ्नु स्वभाविक प्राकृतिक प्रक्रिया हो । तर बिनाकारण साना-साना कुरामा रिसाउनु चाहिं समस्या बनिदिन्छ । रिसले दैनिक काममा मन लाग्दैन । अत्यधिक रिस उठ्नु र हरक्षण बेचैन अनुभव गर्नु ‘अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ अर्थात् एडीएचडीको समस्याले पनि हुनसक्छ ।

के हो एडीएचडी ?

एडीएचडी स्नायुसम्बन्धी रोग हो । यो रोग लागेकाहरुमा बढी आवेग र कुनै कुरामा एकाग्रता नहुने समस्या हुन्छ । जुन बालबालिकादेखि वयस्कसम्मलाई देखिन्छ ।

दैनिकी हुने कामकाजलाई पूरा गर्न सफल जीवन कौशलको आवश्यकता हुन्छ । जसका लागि आत्मनियमन (सेल्फ–रेगुलेसन) जरूरी हुन्छ ।

एडीएचडी ग्रसित व्यक्तिको आत्मनियमन सम्बन्धी समस्या हुन्छ । जसकारण उनीहरू आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनन् । जसकारण स-साना घटना वा समस्यामा पनि अति संवेदनशील व्यवहार या भावनासहितको प्रतिक्रिया दिन्छन् । कैयौं पटक एडीएचडी समस्या समयमा पहिचान र व्यवस्थापन नहुँदा व्यक्ति, परिवार र साथीसँग गर्ने व्यवहारमा पनि असर गर्छ ।

कारण

एडीएचडी अनुवांशिक वा जैविक र वातावरणीय दुवै कारणले हुनसक्छ । दुईमध्ये ८० प्रतिशत जैविक हुन्छ । र, २० प्रतिशत वातावरणीय प्रभावले हुन्छ ।

जैविक कारण

बच्चाले जन्मिंदा यो समस्या लिएर आएको हुन्छ । जैविकमा मस्तिष्कको अगाडिको भागको राम्रोसँग विकास छैन भने बालबालिकामा यो समस्या देखिन्छ ।

सिकाइ, सञ्चार, चालढाल, भावना र ध्यान, विभिन्न प्रकारका कार्यहरू सिकाइ, सञ्चार, चालढाल, भावना र  एकाग्रता गराउनु अगाडिको मस्तिष्कको काम हो । तर यो क्षेत्र विकास नभएमा यी सबै कुरामा कमजोर हुन्छ ।

परिवारका सदस्यमा यो समस्या छ भने त्यो परिवारको बच्चामा यो समस्या हुने सम्भावना हुन्छ ।

वातावरण

समयभन्दा अगावै जन्मिएको बच्चा वा तौल एकदमै कम छ भने त्यस्ता बच्चामा दिमागको राम्रोसँग विकास नहुँदा यो समस्या देखिने सम्भावना हुन्छ । साथै, गर्भावस्थामा चुरोट र रक्सी सेवन गर्दा जन्मिने बच्चामा यो समस्या देखिने सम्भावना हुन्छ ।

घरको वातावरण राम्रो छैन भने पनि बालबालिकामा एडीएचडी हुने सम्भावना हुन्छ । घरमा झै-झगडा भइरहन्छ, बच्चाको राम्रोसँग स्याहार भएको छैन, बच्चामा दुर्व्यवहार भइरहेको छ भने त्यस्ता बालबालिकाको दिमागमा असर परी एडीएचडी हुने सम्भावना हुन्छ । जुन बाल्यकालबाट सुरु भएर बिस्तारै वयस्कसम्म रहन सक्छ ।

समस्या र लक्षण

यो रोगको पहिचान लक्षणको आधारमा गरिन्छ । यो लक्षण उमेरको हिसाबले परिवर्तन हुनसक्छ । यसको अर्थ जुन लक्षण बच्चामा देखियो त्यो वयस्कमा नदेखिन सक्छ । यद्यपि केही यस्ता लक्षण हुन्छन् जो यो समस्या भएका व्यक्तिहरूले बढी सामना गर्छन् ।

हतारमा बोल्नु वा अरूको बोली काट्नु

यो समस्या हुनेमा उसले बोल्न सक्ने भन्दा छिटो काम दिमागले गर्छ । र, नयाँ शब्द र वाक्यांशहरू पनि बोल्न सक्नुअघि नै दिमागमा राम्रोसँग पुग्छन् । जसले अरूले कुरा सक्नुअघि नसुनेर हतारिएर बोल्नु वा कुराकानीबाट भाग्ने प्रयास गर्नु वा बोल्दाबोल्दै आत्तिनु पनि यसको संकेत हो ।

साथै, सानो कुरा राख्न पनि अत्यधिक समय लगाउँछन् वा खोजेको निष्कर्षमा कुरा गरिरहेको व्यक्ति पुगेको छैन । र, यो समस्या पटक-पटक भान हुन्छ भने यसले एडीएचडीलाई संकेत गर्छ ।

त्यधिक थकान

दिनभर काम गरेपछि थकान महसुस हुनु स्वभाविक हो । तर काम गरेपछि पूर्ण रूपमा शरीर भाँचिएको जस्तो अनुभव हुन्छ भने यो एडीएचडीको लक्षण हुनसक्छ । एडीएचडीको लक्षण भएकाहरूमा ध्यान दिन अन्य व्यक्तिको भन्दा कडा मेहनत गर्नुपर्छ । जसकारण उनी छिट्टै थकित हुन्छन् ।

जता पनि ढिलो पुग्नु

वयस्कमा यो समस्या छ भने उसलाई समय व्यवस्थापन गर्न धेरै कठिनाइ हुनसक्छ । किनभने उनीहरू आधारभूत कार्यहरू गर्न र आफू भएको ठाउँमा पुग्न लाग्ने समयको गलत हिसाब गरी सोहीअनुसार पुग्छन् । सधैं यस्तो हुनु सम्बन्धित व्यक्तिको लागि मात्र होइन, जसले समय दिएको छ उनीहरूका लागि पनि निराशाजनक हुनसक्छ ।

काम आधा छोड्ने

कुनै पनि काम पूरा गर्नुको सट्टा बीचमै छोड्नु वा लगातार कुनै काम गर्न र पूरा गर्न समस्या भइरहेको छ भने एडीएचडीको समस्या हुनसक्छ । उनीहरू ध्यान केन्द्रित हुन नसक्ने हुँदा अन्तिम परिणाम कल्पना गर्न समस्या हुनसक्छ ।

सबै कुरा बिर्सनु

पहिले गरेका वा भइरहेको कुरा बिर्सनु पनि वयस्कहरुमा एचडीजीको लक्षण हुनसक्छ । बिर्सनुको कारण उनीहरूको दिमाग एक समयमा एक कुरामा ध्यान केन्द्रित गर्न सक्षम हुँदैन । दिमागमा एकै पटक धेरै कुराहरु घुमिरहन्छ । जसकारण उनीहरू प्राय: कुराहरु बिर्सन्छन् । यही कारण उनीहरूलाई केही कुरा सोध्यो भने राम्रोसँग प्रतिक्रिया दिन सक्षम हुँदैनन् ।

एडीएचडीबाट ग्रस्त भएकाले यी समस्याको समयमै व्यवस्थापन गरिएन भने उसको भावना वा व्यवहारमा परिवर्तन आउनुका साथै मानसिक रुपमा समाजभन्दा आफूलाई अलग पाउँछ ।

रोकथाम तथा उपचार

माथि उल्लेखित लक्षण बाल्यकालदेखि छ भने यसको पुष्टि गर्न सहज हुन्छ । यो लक्षण बाल्यकालदेखि हो कि होइन पहिचान गर्न बाबुआमा, साथीभाइ र शिक्षकसँग कुरा गर्न सकिन्छ ।

समयमा उपचार गर्‍यो भने यो समस्या पूर्ण रूपमा निको हुनसक्छ । यसका लागि औषधि ‘एटोमोक्सेटाइन’ जस्ता औषधिको प्रयोग गरिन्छ । औषधिले मात्र नभई उनीहरुको मनोबल बढाउनुका लागि विभिन्न थरीका थेरापी दिइन्छ ।

यस्तो रोग हुन नदिन गर्भावस्थादेखि नै हेरचाह गर्ने, पौष्टिक खानेकुरा खाने, धुम्रपान तथा मदिरा सेवन गर्नु हुँदैन ।

जटिलता

समयमा उपचार नभएमा उनीहरूमा डिप्रेसन, पर्सनालिटी डिसअर्डर, बाइपोलर डिसअर्डर, ओब्सेसिव कम्पल्सिभ डिसअर्डर (ओसीडी) जस्ता मानसिक समस्या देखिन सक्छ ।

एडीएचडी डा. वासुदेव कार्की मानसिक स्वास्थ्य
डा. बासुदेव कार्की
लेखक
डा. बासुदेव कार्की
सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट

डा. कार्की  हाल ललितपुरस्थित पाटन मानसिक अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र न्यूरो साइकोलोजीमामा एमडी गरेका छन। उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६८४८ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?