+
+

सिमसार क्षेत्र पुर्ने व्यवसायी खतिवडाको अटेरीले नगर प्रहरी हैरान

‘युवराज खतिवडालाई दर्जनौं पटक पक्राउ गरिसक्यौं । सामान्य कारबाही भोगेर छु्ट्नुहुन्छ । अब उहाँलाई ठूलो कारबाही नहुँदासम्म रोकिएलाजस्तो छैन ।’

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन २४ गते २०:२२

२४ फागुन, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल नजिकै सेंदी खोला किनारमा अनधिकृत रुपमा सिमसार क्षेत्र पुरेको आरोपमा बिहीबार एउटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले दिएको जानकारी अनुसार प्रेमराज पहारीको जमिन पुरिरहेको अवस्थामा दिउँसो टिपर नियन्त्रणमा लिइएको हो ।

‘अनुमतिबिना पुर्न पाइँदैन भनेर पटकपटक खबरदारी गर्दै आएका छौं । तर, अटेरी गरेर रातारात पुर्ने काम भएको छ’, थापाले भने, ‘आज (बिहीबार) पनि अनुमतिबिनै पुरिरहेको अवस्थामा टिपर हामीले नियन्त्रणमा लिएका हौं ।’

फेवाताल सिमसार क्षेत्रभित्र पर्ने पहारीको जमिन सम्याइरहेको अवस्थामा टिपर नियन्त्रण लिइएको भए पनि पुर्ने व्यक्ति भने व्यवसायी युवराज खतिवडा हुन् ।

धाडिङका खतिवडा पोखराका विभिन्न ठाउँमा मापदण्ड मिचेर सटर व्यवसाय गर्दै आएका विवादास्पद व्यवसायी हुन् । उनी यसअघि पनि फेवाताल सिमसार क्षेत्र पुरेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

फेवाताल मुहान क्षेत्रको सिमसार क्षेत्र पुरेर घडेरी बनाएको आरोपमा केही महिनाअघि खतिवडाको सबै निर्माण सामग्री महानगरले जफत पनि गरेको थियो । तर, उनले सिमसार पुर्ने गतिविधि भने रोकेका छैनन् ।
सिमसार पुर्न पाउनुपर्ने माग राख्दै खतिवडाले त्यहाँका स्थानीयबासिन्दालाई उक्साउँदै पनि आएका छन् । उनकै नेतृत्वमा गत असारमा सिमसार क्षेत्रमा आवासीय संरचना बनाउन पाउनुपर्ने माग राखेर महानगर अगाडि नाराबाजी पनि भएको थियो ।

व्यवसायी युवराज खतिवडाले महानगरले जग्गा वर्गीकरणमै फेवाताल वरपरको क्षेत्रलाई सिमसार÷रामसार क्षेत्र उल्लेख नगरेको तर्क राख्दै आएका छन् । ‘स्थानीय सरकारले भूमि वर्गीकरण गर्दा कहाँनेर सिमसार, कहाँनेर रामसार राख्नुभएको छैन’, उनको तर्क छ, ‘उहाँहरुले फेवाताल, आवास, कृषि, वन भनेर मात्रै देखिन्छ । त्यहीअनुसार हामीले गरेको हो ।’

खतिवडा यतिसम्म शक्तिशाली छन् कि उनको नेतृत्वको टोलीले फेवातालको सिमसार क्षेत्र पुरिरहेको सूचना पाएर अनुगमनमा गएको महानगरको टोलीलाई नै घेरेको थियो । गत जेठ १४ गते सिमसार क्षेत्रमा महानगरको टोलीलाई घेरेपछि उद्धारका लागि वडा प्रहरी कार्यालय बैदामलाई नै खबर गर्नुपरेको थियो ।

व्यवसायी खतिवडाले पोखरा महानगर ५, पस्र्याङमा पर्ती जग्गा ओगटेर घर बनाएका थिए । तत्कालीन मेयर मानबहादुर जिसीको पालामा ०७५ सालमा सार्वजनिक जग्गा मिचेर बनाएको उनको घर भत्काउन जाँदा उनले स्थानीयलाई नै उतारेर जनप्रतिनिधिमाथि नै खनिएका थिए ।

महानगरले खतिवडाले मिचेको संरचना आफैंले भत्काउन नसकेपछि प्रमुख जिल्ला अधिकारीलाई नै गुहार्नुपरेको थियो । ‘आफूले गैरकानुनी काम गर्दै हिँड्ने र स्थानीयलाई भ्रममा पारेर उनीहरुलाई उक्साउने उहाँको बानी रहेछ’, महानगर स्रोत भन्छ, ‘उहाँको आश्वासनले स्थानीय पनि भ्रममा परेको देखिन्छ ।’

खतिवडा देखेर महानगर प्रहरी आजित !

पटकपटक नियन्त्रणमा लिएर कारबाही गर्दा पनि अटेरी गरेपछि अहिले महानगर प्रहरी पनि आजित छ । महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापा महानगरको सामान्य कारवाहीलाई टेर्नै छोडेको बताउँछन् ।

‘हामीले पनि अनुमतिबिना काम भइरहेको थाहा पाएर नियन्त्रणमा लिने हो । महानगरमा बुझाउँछौं’, थापा भन्छन्, ‘तर, सामान्य कारवाही उहाँले मान्नै छोड्नुभयो । उहाँलाई केही ठूलै कारबाही गरेपछि मात्रै टेर्नुहुन्छ जस्तो लाग्यो ।’

दिनमा सिमसार क्षेत्रमा महानगर प्रहरी नियमित गस्तीमा जाने हुँदा महानगरको आँखा छलेर प्राय रातको समयमा खतिवडाले सिमसार क्षेत्रको जमिन पुर्ने काम गरिरहेको महानगरको दाबी छ ।

महानगर प्रवक्ता मोति तिमिल्सिनाले महानगरले हाल कृषि र गैरकृषि जग्गामात्रै वर्गीकरण गरेको र जग्गा व्यवसायीले गैर कृषिको अर्थ आवास क्षेत्र भनेर भ्रम फैलाइरहेको बताउँछन् । ‘सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकियो भनेर बाहिर आइरहेको छ । त्यस्तो होइन’, उनले भनेका छन्, ‘त्यस्तो होइन, सिमसार जोगाउन महानगर गम्भीर छ । गैरकृषि भन्नेबित्तिकै आवास भन्ने हुँदैन ।’

सरकारले ०७९ मा ल्याएको भू–उपयोग नीतिमा जग्गाको वर्गीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको थियो । उक्त वर्गीकरणमा महानगरले फेवातालको अधिकांश सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकेको थियो ।

पोखराका फेवातालसँगै बेगनास, रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताल गरी ९ ताल २०७२ सालमै अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका थिए । संघीय सरकारले २०७८ माघमा फेवातालको जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको थियो ।

तर, पोखरा महानगरपालिकाले जग्गा वर्गीकरण गर्दा संरक्षित क्षेत्र वा सिमसार क्षेत्र तोक्नुको साटो आवास क्षेत्र घोषणा गरिदिएपछि जग्गा व्यवसायी सक्रिय भएका थिए । पछिल्लो समय सिमसार पुर्ने काम झनै बढेर गएपछि त्यसलाई रोक्न माग गर्दै अधिवक्ता मनोज घर्तीमगरले भदौ २० गते उच्च अदालतमा रिट नै दायर गरे ।

मगरको रिटउपर उच्च अदालतले तालको चार किल्लाभित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य तथा डोजर प्रयोग नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?