नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दो छ । उनीहरुमध्ये धेरैजसोमा यहाँबाट जाँदा स्वस्थ भए पनि बिस्तारै हावापानी परिवर्तन, नयाँ परिवेशको संघर्ष, परिवारबाट टाढा, अत्यधिक काममा खट्नुपर्ने बाध्यता, एक्लोपन, खानपिन र निद्राको तालमेल नमिलेर विभिन्न स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ ।
कति त दीर्घरोग लागेर काम नै गर्न नसकी स्वदेशसम्म फर्किन बाध्य हुन्छन् ।
वैदेशिक रोजगारीमा जानेहरुमा देखिने मुख्य स्वास्थ्य समस्या
मिर्गौला फेल
नयाँ ठाउँमा जाँदा खानपिनमा तालमेल मिल्दैन । न त भनेको समयमा सुत्न र आराम गर्न नै पाइन्छ । जसले गर्दा शरीरमा पोषण पुगिरहेको हुँदैन ।
खाडी मुलुक र मलेसियाको उच्च तापक्रममा बस्दा पानी तथा झोलिलो खानेकुरा नखाँदा डिहाइड्रेसनको समस्या पनि उत्तिकै हुन्छ । त्यसमाथि पनि कामको चाप उत्तिकै रहन्छ । कामको चापले गर्दा उनीहरु पिसाब फेर्न समेत जान भ्याउँदैनन् । जसकारण उनीहरुको पिसाबथैली भरिन्छ । र, पिसाब संक्रमणको समस्याले सताउँछ । बिस्तारै त्यो समस्याले मिर्गौला फेल समेत गराउन सक्छ ।
कहिलेकाहीं नेपालबाट नै पत्थरी जस्ता समस्या लिएर जाने र त्यहाँको अस्वस्थकर जीवनशैलीले मिर्गौला खराब पार्न सक्छ ।
संक्रमण
धेरैजसो आप्रवासी श्रमिकहरुमा क्षयरोग, मलेरिया, हैजाजस्ता रोग देखिन्छ । यसको कारण वैदेशिक रोजगारीमा जाँदा धेरैजना एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता हो । यस्तोमा हावा राम्रोसँग आवतजावत हुन पाउँदैन र उचित सरसफाइ पनि पुग्दैन ।
लामो समयसम्म धेरै व्यक्ति तर सानो कोठामा बस्छन् भने उनीहरुमा क्षयरोगको संक्रमण हुनसक्छ । जुन एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्न सक्छ । साथै, घरपरिवारबाट टाढा र अलि बढी स्वतन्त्रता हुँदा धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्ने गर्दा यौन प्रसारित रोगको जोखिम बढी हुन्छ ।
शारीरिक चोटपटक
नेपालबाट जाने धेरैजसो कामदार ठूला कलकारखानामा काम गर्छन् । यस्तोमा कहिलेकाहीं मेसिन चलाउँदा दुर्घटना भएर हातखुट्टा काट्ने, करेन्ट लाग्ने हुन्छ ।
त्यस्तै, विकिरण तथा रसायनिक पदार्थहरु भएको ठाउँमा काम गर्दा केमिकल र विकिरणले बिस्तारै असर गरी भविष्यमा छालासम्बन्धी रोग तथा क्यान्सर जस्ता रोग देखा पर्छन् ।
मुटुसम्बन्धी समस्या
‘फलानो राति राम्रोसँग सुतेको थियो । बिहान उठ्दा मृत्यु भइरहेको रहेछ’ भनेको धेरै सुनिन्छ । यस्तो किन हुन्छ होला ?
कारण, एउटा मात्र छैन । यसमा मानसिक तनाव, वातवरणीय प्रभाव, खानपिन, कामको चाप जस्ता धेरै खालका तत्वले भूमिका खेलेको हुन्छ ।
उच्च तापक्रममा काम गरिरहनु, पानी तथा झोलिलो खानेकुराको कमीले डिहाइड्रेसन हुनु, खानपिन समयमा नहुँदा र खाएको खानेकुरा पोषणले भरिपूर्ण नहुँदा सोडियम र चिनीको स्तर शरीरमा कमी भई मुटुसम्बन्धी समस्या देखा पर्न सक्छ । बाहिर ५० डिग्री सेल्सियससम्मको गर्मीमा काम गर्ने अनि बेलुका चिसो एसीमा सुत्दा अचानक हृदयको गति रोकिएर ज्यान नै गएको घटना बढ्दो छ ।
त्यस्तै, अत्यधिक काम गरेपछि अधिकांश समय मासुभात र बियर खाने धेरैको बानी हुन्छ । १२ घण्टाभन्दा बढी काम गरेपछि मदिरा सेवन गरेर सुत्ने कामदारको स्वास्थ्य नाजुक हुँदै जान्छ ।
प्रतिरोध क्षमता कमजोर
कतिपय वैदेशिक रोजगारका लागि गएका श्रमिकहरुले स्वस्थ खानेकुरा खान पाउँदैनन् । कामको चापले समयमा खाना खान पनि पाइरहेका हुँदैनन् । यस्तोमा शरीरमा पौष्टिक आहार पुगेन, समयमा निद्रा परेन, तनावपूर्ण दिमाग भइरहेमा र लगातार यो क्रम बढेमा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । प्रतिरोधात्मक क्षमता कम हुनेबित्तिकै विभिन्न रोगले आक्रमण गर्न सक्छ ।
प्रजनन् क्षमता घट्नु

वैदेशिक कामदारमा प्रजनन् क्षमतामा ह्रास आउनु प्रमुख स्वास्थ्य समस्या बन्दै गइरहेको छ । फलाम, रसायन उत्पादन गर्ने कारखाना, उच्च तापक्रममा ड्राइभिङ गर्ने मानिसको शुक्रकीट मर्ने र कम हुने समस्या आउँछ । यसरी कम भएको शुक्रकीट नयाँ बनेर पर्याप्त संख्यामा फर्किन कम्तीमा तीन महिना लाग्छ । जसकारण अधिकांश युवा मुस्किलले दुई-तीन महिना छुट्टीमा घर आएका हुन्छन्, त्यतिबेलाको सम्पर्क प्रभावहीन बन्छ । यस्तोमा उनीहरु चाहेको समयमा गर्भधान गर्न सक्दैनन् ।
यसबाहेक कठिन र स्वास्थ्य प्रतिकूल हुने प्रकृतिका काम, धेरै जनासँगको यौनसम्पर्कका कारण सर्ने रोग, गर्भ रहनसक्ने उपयुक्त समयमा यौनसम्पर्क हुन नसक्नु, मानसिक तनाव, धेरै वर्षसम्म अलगअलग बस्दा प्रजननशील उमेरसमेत बित्दै जाँदा कालान्तरमा सन्तान नहुने समस्या आउँछ ।
पहिला रोग नभए पनि पछि विविध कारणले समस्या थपिंदै गएर निःसन्तान हुने अवस्था आउन सक्छ । दम्पती अलग-अलग बस्दा दुवै पक्षको अन्य व्यक्तिसँगको यौनसम्पर्कले पनि समयमै बच्चा नहुने समस्या निम्त्याउँछ ।
मानसिक समस्या
ठूलो सपना बोकेर परदेश लागेकाहरु एक त परिवारबाट टाढा हुनुपर्छ भने टाउकोमा ऋणको भारी हुन्छ । तर काम भनेजस्तो भएन भने उनीहरु तनावमा हुन्छन् ।
कसैलाई सक्ने खालको काम नपाउँदा, काममा दबाब, काम र समय बढी तर पारिश्रमिक कम वा बस्ने वातावरण नमिल्दा, धेरै समय काम लगाउने, न्यून तलब, अवैध स्थिति, धम्की र शारीरिक यातना जस्ता कारणले कामदारमा मनोसामाजिक समस्या बढिरहेको हुन्छ ।
लामो समयसम्म भनेको जस्तो काम भएन र समाधान भन्दा बढी समस्या आइपर्दा उनीहरु गहिरो तनाव लिई बिस्तारै डिप्रेसनको सिकार हुन पुग्छन् । तनावमा रहँदा आफ्नो भावना पोख्ने साथी समेत नहुँदा एक्लो महसुस गर्न सक्छन् । जसले आत्महत्यासम्मको अवस्थामा पनि पुर्याइरहेको छ ।
रोग लुकाउँदा समस्या
वैदेशिक रोजगारीमा जानुअघि स्वास्थ्य जाँच अनिवार्य गरिन्छ । यो जाँचको उद्देश्य रोजगारीमा जाने व्यक्तिलाई त्यहाँ पुगेपछि वा निकट भविष्यमा आइलाग्ने स्वास्थ्य समस्याबारे जानकारी गराउने र लागेको खण्डमा उपचार होस् भन्ने हो । तर वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य चेकजाँच गर्नुलाई काम गर्न जान चाहिने थप एउटा कागजपत्र बनाउनु मात्र बुझ्छन् । र, कामदारले मेडिकल जाँचमा रोग लुकाउन अनेक तरिका अपनाउँछन् ।
रोग पत्ता लागेमा विदेश जान नपाउने भन्दै कामदारले नै विभिन्न प्रलोभन देखाएर वा केही समय औषधि सेवन नगरी जाँच गराउन जाने पनि धेरै भेटिन्छन् । स्वदेशबाटै रोग लिएर गएपछि उनीहरुलाई रोगले च्याप्दै स्थिति भयावह हुन जान्छ ।
समाधान
-रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु ठूलो कुरा हो । त्यसका लागि वैदिेशिक रोजगारमा जाने युवाहरुले विदेश जानुपूर्व आधारभूत स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
-सरकारले स्वास्थ्य परीक्षण मात्र होइन, रोजगारका लागि जानुपूर्व स्वास्थ्य शिक्षाको व्यवस्था गर्नुपर्छ ।
-कुनै काममा दक्ष र शारीरिक रुपमा स्वस्थ भएर मात्र वैदेशिक रोजगारको लागि जानुपर्छ ।
-वैदेशिक रोजगारमा गएकाहरुले कामको समयमा पिसाब रोकेर बस्नु हुँदैन । आफूलाई हाइड्रेट राख्न प्रशस्त झोलिलो खानेकुरा खानुपर्छ । जंकफुड सकेसम्म नखानु उपयुक्त हुन्छ ।
-सात घण्टा पर्याप्त निदाउने प्रयास गर्नुपर्छ । राति सुत्दा अत्यधिक मदिरा पिएर सुत्नु हुँदैन ।
-तनावले शरीर र दिमाग अस्तव्यस्त बनाएको छ भने मनोपरामर्श लिनु आवश्यक हुन्छ ।
-छुट्टीको समयमा साथीभाइसँग घुम्न जानु उपयुक्त हुन्छ । यसले तनावग्रस्त दिमागलाई हल्का बनाउँछ । र, शरीरमा फूर्ति बढाउँछ ।
-कुनै स्वास्थ्य समस्या देखिए श्रमिकले अनलाइनमार्फत आफ्नो समस्या राख्ने र चिकित्सकले पनि अनलाइनबाट नै औषधिको प्रेसक्रिप्सन दिने टेलिमेडिसिन सेवा लिन सक्नेछन् । श्रमिकले ९८५१३४५७०१, ९८५१३४५७०२ मा फोन, म्यासेन्जर, भाइबर, ह्वाट्सएपमार्फत पनि २४ घण्टा चिकित्सकसँग सम्पर्क गर्न सक्ने व्यवस्था छ ।
 
                    










 २०८० फागुन  ३० गते १८:४०
                        २०८० फागुन  ३० गते १८:४०                     
                             
                     
 
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                                         
                             
                             
                                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4