+

कानजालीको शल्यक्रिया कसरी गरिन्छ ?

२०८० चैत  ९ गते १३:२४ २०८० चैत ९ गते १३:२४
कानजालीको शल्यक्रिया कसरी गरिन्छ ?

कानको जालीमा प्वाल पर्ने दुई कारण हुन्छन् । एउटा एक्कासि र अर्को जीर्ण । यदि एक्कासि प्वाल परेको समस्या हो भने यसको लागि अतिरिक्त उपचार जरुरी हुँदैन । कानलाई सुक्खा राख्नुपर्छ, पानी पर्न दिनुहुँदैन, कोट्याउनुहुँदैन । यसो गरेपछि कानको जालीमा परेको प्वाल आफैं टालिन्छ ।

त्यस्तै कानमा केही संक्रमण हुन गएमा थोपा औषधि वा खाने औषधि प्रयोग गर्न सकिन्छ । तर जीर्ण खालको समस्या अलि जटिल हुन्छ । यस्तो समस्यामा कानको संक्रमण हुने, कान चिलाइरहने, थोरै पानी पर्नासाथ पिप आउने हुन्छ । यस्तो अवस्थामा औषधिले मात्र निको हुँदैन । कानको जालीको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यस्तो शल्यक्रियालाई माइरिङ्गोप्लास्टी भनिन्छ ।

माइरिङ्गोप्लास्टी भनेको कानको जालीमा परेको प्वाल (छिद्र) टाल्ने शल्यक्रिया हो । मध्यकानमा संक्रमणको कारणले गर्दा कानको जाली परेको प्वाल टालिन्छ ।

शल्यक्रिया कसरी गरिन्छ ?

कानको जाली टाल्ने शल्यक्रिया केवल कानलाई मात्र लत्याएर वा पूरै शरीर बेहोस पारेर गरिन्छ । सामान्यतया कानलाई मात्र लत्याएर बाहिर कुनै घाउ नबनाई कानको प्वालबाट (परमियटल)बाट पनि कानको जालीको प्वाल टाल्न सकिन्छ । यस्तो शल्यक्रिया गरेको एकैदिनमा घर जान सकिन्छ ।

कानको जालीको प्वालको प्रकृति वा अवस्था हेरी कहिलेकाहीं कानको वरिपरि चिरेर (पोस्टअरल वा एन्डअरल) पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ, जुन पूरै शरीर बेहोस पारेर गरिन्छ । यसमा २४ देखि ४८ घण्टासम्म अस्पतालमा भर्ना हुनुपर्ने हुन्छ । किनभने घाउमा टाँका लगाउने भएका कारण सफा गर्नुपर्ने हुन्छ । कानको प्वालबाट भित्र केही पनि नछिरोस् भनी कानमा प्याकिङ (नरम कपडालाई सानो डल्लो बनाएर राख्ने) गरिन्छ । त्यसलाई दुई हप्तापछि निकाल्नुपर्छ । त्यसको लगभग ६ हप्तापछि अर्को फलोअपमा श्रवण परीक्षण गरिन्छ । किनकि शल्यक्रियापछि कानमा प्याकिङ भएकाले श्रवणशक्ति कम हुनसक्छ ।

कानमा दुखाइ हुने भएकोले सकेसम्म कडा चीज चपाउनु हुँदैन । शल्यक्रियाको केही समयसम्म कानमा केही अनौठा आवाजहरू आउन सक्छ । कानको पछाडि चिरेको भए कान लाटो हुनसक्छ जुन बिस्तारै ठीक हुँदै जान्छ ।

शल्यक्रियाको सफलता दर कति छ ?

विश्वव्यापी अनुसन्धान समीक्षा गर्दा प्वाल पूर्ण रूपमा बन्द हुने औसत सफलता दर ८० देखि ९० प्रतिशत हुन्छ । प्वाल बन्द भएपछि पिप बग्न बन्द हुन्छ र श्रवण शक्ति राम्रो हुन्छ ।

शल्यक्रियाका सम्भावित जटिलता

शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस बनाउने) सम्बन्धित जोखिम हुनसक्छ । तर यो एकदमै न्यून हुन्छ । अनुहारको मांसपेशी आपूर्ति गर्ने स्नायु (फेसियल नर्भ) मध्यकान हुँदै निस्किने भएकाले शल्यक्रिया क्रममा चोट पर्ने सम्भावना हुन्छ, यदि भएमा मुख बाङ्गिने समस्या हुनसक्छ । तर यो केही समयसम्म मात्र हुन्छ र पूर्ण रुपमा निको हुन्छ ।

कसैकसैको भने शल्यक्रिया गरिसकेपछि पहिलेको भन्दा पनि कम सुन्ने वा पूरै नसुन्ने खतरा पनि हुन्छ, तर सम्भावना धेरै नै कम हुन्छ । शल्यक्रियापछि केही घण्टाको लागि चक्कर आउन सक्छ ।

शल्यक्रियापछि ध्यान दिनपर्ने कुरा

-रुखाखोकी र चिसोबाट बच्ने, रुघाखोकी लागि हालेमा तुरुन्त उपचार गर्ने

-नाक सिंसिं गर्ने बानी बन्द गर्ने

-कानमा पानी पस्न नदिने । यसका लागि नुहाउने बेलामा कपास वा नरम कपडालाई तेलमा भिजाएर निचोरेर वा भ्यासलिनमा लत्पत पारेर त्यसले कानको प्वाल बन्द गर्नुपर्छ । नुहाएपछि कान वरिपरि राम्ररी पुछपाछ गरेपछि उक्त कपास वा नरम कपडा झिकिदिने गर्नुपर्छ ।

-चिकित्सकको सल्लाहअनुसार औषधि खाने र कानमा थोपा औषधि हाल्नुपर्छ ।

कानको जाली डा. नवीन लागेजु
डा. नवीन लागेजु
लेखक
डा. नवीन लागेजु
नाक कान घाँटीरोग विशेषज्ञ

डा. लागेजु हाल काठमाडौंको महाराजगञ्जस्थित  नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमएस गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९१२९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय