+
+

आर्मीको जितमा टर्निङ प्वाइन्ट बनेको त्यो टाइम आउट

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत ९ गते २०:५०

८ फागुन, काठमाडौं । आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि ३–२ को रोमान्चक जित हात पार्‍यो ।

सुरुवाती तीनमध्ये दुई सेट गुमाएको आर्मीले चौथो र पाँचौंमा जितका साथ फाइनलमा स्थान पक्का गर्‍यो । त्यसमा पनि पाँचौं सेटमा लिएको टाइम आउट जितको टर्निङ प्वाइन्ट बन्यो ।

निर्णायक पाँचौं सेटमा आर्मीले ८–७ मा कोर्ट परिवर्तन गरेको थियो । तर पुलिसले उत्कृष्ट पुूनरागमनपछि आर्मी १२–११ ले पछि परेको थियो । एक अंकले पछि परेपछि मुख्य प्रशिक्षक जगतबहादुर सिंहले दोस्रो टाइम आउट लिए ।

टाइम आउट लिनुको कारण थियो, पुलिसको मोमेन्ट्स ब्रेक गर्ने । आर्मीका प्रशिक्षक जगत भन्छन्, ‘त्यो टाइम आउट एकदमै चाहिएको थियो । किनभने एउटा गल्ती १३/११ हुँदा बितिक्कै हाम्रो खेल लगभग सकिन्थ्यो ।’

भयो त्यही । स्पाइकर धनबहादुर भट्टको लगातार तेस्रो स्पाइक बचाएपछि पुलिसका रविन चन्दले हानेको बल बाहिर जान पुग्यो । लगत्तै राजेन्द्र विष्टले उत्कृष्ट स्पाइकमा अंक बटुले । धनले शक्तिशाली स्पाईक हानेपछि आर्मी १४–१२ ले अघि हुँदै सेट प्वाइन्टमा पुग्यो, अनि अनि १५–१३ ले पाँचौं सेट जित्दै फाइनलमा स्थान बनायो ।

पहिलो सेट आर्मीको लागि सम्झन लायक थिएन । टीम १६/७ ले पछि परेपछि आर्मीले प्रमुख स्पाइकर मानबहादुर श्रेष्ठलाई बेन्चमा राखेको थियो । आर्मीले पहिलो सेट २५–१८ ले गुमायो ।

आफ्नो कम्बिनेसन भन्दा पनि पुलिसका ४० वर्षीय सेटर इम रानाले राम्रो प्रदर्शन गरेको आर्मीका प्रशिक्षक सिंह बताउँछन् । ‘इमदाइ एकदमै अनुभवी खेलाडी हो । पावर सर्भिसमा तीन चार वटा लाग्दा टिम डाउन भयो’ उनले भने ।

दोस्रो सेट आर्मीले २५–२३ ले जित्यो । तेस्रो सेट २६–२४ ले गुमाएपछि चौथो सेट जित्नैपर्ने हुन्थ्यो । २५–१३ को सहज जितका साथ आर्मीले खेल पाँचौं सेटमा पुर्‍यायो ।

आर्मीको जितमा अनुभवी खेलाडी हरि अधिकारीले अलराउन्ड प्रदर्शन गरे । उत्कृष्ट ब्लकमा चौथो र पाँचौं सेटमा जितको आधार तय गरेका उनी प्लेयर अफ द म्याच चुनिए ।

‘मैले एक प्वाइन्ट भएपनि ल्याउनुपर्छ भन्ने सोचका साथ छिरेको थिए । दुई सेट गुमाएपनि रिसिभलाई केही गर्न सके अझै केहि गर्न सक्छौं जस्तो आशा लागेको थिया’, उनले भने ।

धनले एक तर्फबाट उत्कृष्ट प्रदर्शन गरे, तर मानबहादुर चल्न सकेनन् । स्पाइक मात्रै होइन, सर्भिसमा पनि गल्ती गरे । त्यसैले आर्मी केही समस्यामा परेको थियो । ‘उसको स्वास्थ्य अवस्था पनि त्यति राम्रो छैन । रुघाखोकी लागेको छ’ हरिले भने, छ ‘हिजो पनि टाइट खेल भयो, यसैले पनि भने जस्तो हुन सकेन ।’

क्वाटरफाइनलमा आर्मीले बिहीबार तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिम प्रदेशलाई ३–१ ले (२५–१९, २२–२५, २५–२३ र २५–१७) ले हराएको थियो । त्यसले गर्दा पनि शरीरलाई रिकभर गर्न कठिन भएको हरि बताउँछन् ।

आर्मीले फाइनलमा शनिबार दिउँसो टिपटप हेल्प नेपालसँग खेल्नेछ । तीन पाकिस्तानी सिनियर टोलीका खेलाडी उस्मान अली, मोहम्मद कासिफ नविद र फखार उद्दीन सम्मिलित हेल्प नेपालसँग सहज नहुने प्रष्ट छ । उस्मान र कासिफको शक्तिशाली स्पाइक र सर्भिसमा हेल्प नेपालले सहज जित हात पारेको छ । उचाईको कारण पनि नेपाली खेलाडीमाथि बढी हाबी बनेका छन् ।

गण्डकी प्रदेशसँग सेमिफाइनल खेलमा उस्मानको खुट्टामा चोट लागेको हुँदा उनी फाइनलमा फिट नभए हेल्प नेपाललाई ठूलो झड्का लाग्नेछ । फाइनललाई नेपाल र पाकिस्तानबीचको भिडन्डको रुपमा पनि हेरिनेछ ।

आर्मीमा मानबहादुर, धनबहादुर, दुर्गा खड्का र हरि अधिकार राष्ट्रिय टोली टोलीका खेलाडी हुन् । ‘हेल्प नेपालमा पाकिस्तानका राम्रा खेलाडी हो । वहाँहरुसँग जित्नको लागि खेल्ने हो । हाम्रो लक्ष्य उपाधि च्याम्पियन हुनेछ’, हरिले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?