+
+

जादुगर हुदिनी र प्रम प्रचण्ड

प्रचण्डले हुदिनी बन्ने प्रयत्न नगरेकै राम्रो हो। राजनीति मजाक गर्ने क्षेत्र होइन। हुनत नेपाली राजनीतिज्ञहरूले आजसम्म समग्र राजनीतिलाई स्टेजको जादु जस्तो ठट्टा–मजाक ठानेका छन्, जसमा अहिले आएर प्रचण्ड अगाडि देखिनुभएको छ।

गुरुराज घिमिरे  गुरुराज घिमिरे 
२०८० चैत १७ गते १८:५४

विश्वविख्यात हास्य कलाकार चार्ली च्याप्लिन अक्सर भन्ने गर्थें, ‘मलाई झरी असाध्यै मन पर्छ, किनभने झरीमा मेरा आँसु कसैले देख्दैन।’ हरेक व्यक्तिका लागि यो साँच्चै पीडादायी अवस्था हो। त्यसो त उनका यस्ता भनाइहरू अनगिन्ती छन् तर यो भनाइ साँच्चै मर्मस्पर्शी छ। हामी सबैको जीवनमा थोरबहुत मेल खान्छ।

उसो त नेपाली जनताले यस्तो कुरा आजसम्म मुखले त भनेका छैनन् तर चार्लीको भनाइ सापटी लिंदा जनताको मनको वास्तविक कुरा यही हो भन्दा फरक पर्दैन। अहिले नेपाली जनताको हालत यस्तै छ। कारण, जनताको मन रोएको नदेख्ने सरकार जतिवटा बने पनि र जति पटक बदलिए पनि त्यसको कुनै अर्थ छैन। सरकार फेरिंदा जनतामा कुनै हर्ष र उत्साह छैन, न हिजो थियो, न आज छ। त्यसैले अहिलेको सरकार अदलीबदलीसँग जनताको खासै साइनो वा सरोकार छैन।

सरकार आउने–जाने मात्र भएपछि जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन्छ नै र काठमाडौंका बासिन्दालाई जनकपुर–जयनगर चल्ने रेलको दैनिकी जस्तै हो सरकार परिवर्तन, आउँछ जान्छ। समयक्रममा राम्रा नतिजा देखिएछन् भने विश्वास गरौंला, स्याबासी दिउँला। अहिलेलाई नयाँ गठबन्धनबाट बनेको सरकारलाई केवल शुभकामना मात्रै छ। सरकारको मधुमास सिद्धिएपछि खास टिप्पणी र समीक्षा गरौंला। आजको बहस यसैमा हो तर फरक प्रसंगका साथ।

हम्मेसी जुन कुनै पात्रको चरित्रले हामीलाई छुँदै छुँदैन। जसको चरित्रले छुन्छ, ती कमै वा अपवाद हुन्छन्। यो रङ्गमञ्चको या सिनेमाको विषय मात्र होइन। समाजका अधिकांश क्षेत्र यस अन्तर्गत पर्दछन्। नायक र खलनायक हरेक क्षेत्रमा हुन्छन् नै।

साहित्य, संगीत, कला, व्यापार, वाणिज्य, समाजसेवा वा राजनीति नै किन नहोस्। यसमा हामी सबै जानकार नै छौं। संसारभरि यस्तो प्रभाव र अनुभव हुने गरेको छ। तर यो सबैका लागि एकसमान भने हुँदैन। आ–आफ्नो रुचि र इच्छा अनुसार हाम्रा लागि छुने चरित्र फरक–फरक हुनसक्छन्। यसमा पनि फरक–फरक श्रेणी छ। सकारात्मक र नकारात्मक दुवै।

सकारात्मक चरित्र त समाजको आदर्श वा गहना नै भैहाल्यो, कहिलेकाहीँ नकारात्मक चरित्र पनि छाप बनेर बस्न आइपुग्छ। हाम्रो सन्दर्भमा चर्चा गर्न लागिएका पात्र कस्ता हुन् नेपाली समाजले नै स्वयं निर्क्योल गरोस्, हाललाई यसमा हामी प्रवेश नगरौं। तर विश्वका एक जादुगर, भ्रमवादी (इलुजनिस्ट) वा भाग्ने कलाकार (इस्केप आर्टिस्ट) ह्यारी हुदिनीसँग सामान्य तुलना गरेर केहीबेर मनोरञ्जन भने गर्न सक्छौं।

कला जगत त ठिक छ तर बाहिर पनि अर्थात् वास्तविक जीवनमा पनि यस्ता पात्र फेला परे भने चाहिं सम्बन्धित क्षेत्रको कुन दशा होला ? वा मानव विकासक्रमले कति मूल्य चुकाउनुपर्ला? नागरिक समाजको अवस्था के होला? जेहोस् अब थोरै समय जादुगर हुदिनीतर्फ लागौं।

हंगेरियन-अमेरिकी जादुगर हुन् ह्यारी हुदिनी। हंगेरीका बासिन्दा यहुदी पण्डितका छोरा हुदिनीको जादुगरी विश्व विख्यात छ। उनी जम्मा ५२ वर्ष बाँचे। गरिबीका कारण हंगेरीबाट अमेरिका बसाइँ सरेको उनको परिवारका लागि सुरुवाती दिन निकै संघर्षपूर्ण थिए। तेज दिमागका एरिक वेस, जो उनको वास्तविक नाम थियो, जादुगरी दुनियाँतर्फ आकर्षित भए।

फ्रान्सेली जादुगर ‘रोबर्ट हार्डिन’ लाई आफ्नो आदर्श बनाएका हुदिनीले लण्डनबाट आफ्नो करिष्मा देखाउन सुरु गरे। त्यहाँको जेलमा चमत्कार देखाएपछि उनले अपार चर्चा पाए। तत्पश्चात् जर्मनीमा त्यसै गरेर थप चर्चित बने। जेलमा अनेकौं ताला, हातगोडामा नेल हत्कडी लगाएर थुन्दा पनि आफूलाई मुक्त गर्न सक्ने क्षमता थियो उनमा।

नयाँ दलको गीत गाएर मात्र पुग्दैन, कर्मले प्रमाणित गर्न सक्नुपर्छ। यसको लक्षण कहींकतै देखिएको छैन। तर नयाँ हुनुको एउटा सुविधा छ। जनताले काम हेर्न बाँकी छ। तर अरुको घर भत्काएर आफ्नो घरको अस्तित्व बचाउने पुरातन शैली असान्दर्भिक भइसकेको छ। अब यस रोगबाट राजनीतिक दलहरू मुक्त हुनुपर्छ। नयाँ दलहरू त झन् मुक्त रहनुपर्छ

त्यति मात्र होइन, उनले जेलका अरु बन्दीलाई राखेको साविक स्थानबाट अन्तै सारिदिए। बाकसमा बन्द गरेर समुद्रमा फाल्दा होस् वा खाल्डो खनेर पुर्दा समेत सकुशल बाहिर निस्कन सक्ने अद्भुत क्षमता थियो हुदिनीमा। जादुको स्टेजबाट हात्ती नै गायव पार्न सक्थे उनी। उनलाई विश्वका अन्य महान् जादुगरहरूले समेत आफ्ना गुरु मान्छन्।

तर उनै महान् जादुगर इटालीको जेलमा नराम्ररी असफल भए। कारण उनलाई त्यहाँको जेलमा राखियो र बलिया ताला लगाएर राखिएको छ भनेर भनियो तर ताला लगाइएन। उनको दिमागमा भने तालै ताला थियो। त्यसैले उनले ताला खोज्न र खोल्न अनेक कोसिस गरे।

घण्टौं कोसिसका बाबजुद ताला भेट्न असफल भएपछि बेहोस भएर ढले। जब उनी ढले, उनको धक्काले ढोका आफैं खुल्यो। उनको ‘प्री माइण्डसेट’का कारण प्रारम्भमा जेलको भौतिक यथार्थ बुझ्नतर्फ लागेनन्। अन्ततः न्यूयोर्कमा जादु देखाएको हप्ता दिनमा उनको मृत्यु भयो।

उनको मृत्युका बारेमा अनेक किस्सा छन्। जेहोस् हुदिनी व्यक्तिगत जीवनमा सफल जादुगर मानिन्छन्।

नेपाली राजनीतिमा यतिबेला पुष्पकमल दाहालको चर्चा छ। चर्चा यसकारण छ कि उनलाई नेपालको पछिल्लो संसदीय राजनीतिका चतुर खेलाडी मान्न थालिएको छ। एक त हिंसात्मकबाट शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेका उनी र उनको पार्टी निरन्तर खिइँदै गएको छ। तर व्यक्तिगत रूपमा भने उनी मोटाउँदै गएका छन् र चर्चाको केन्द्रमा समेत छन्।

त्यति मात्रै होइन नेपाली राजनीतिको मुख्य भूमिकामा छन् र पार्टीभित्र झण्डै चारदशकदेखि एकछत्र राज चलाइरहेका छन्। यसैका कारण नेपालको राजनीतिमा उनलाई जादुगर जस्तो देखिन थालेको छ। पछिल्लो समय अन्य ठूला र मुख्य दलहरूलाई पर्ल्याकपुर्लुक पारेर सत्ता गुट्मुट्याउनु उनको खप्पिस वा खासियत भएको छ। सदन या सडकमा जहाँ पनि आफूलाई नै माथि पारेर बोल्ने दाहालले राजनीतिमा सायद, जे गरे पनि फरक पर्दैन भन्ने चिन्तन बोक्छन्। दाहाल यस प्रवृत्तिका अब्बल प्रतिनिधि हुन्।

बाल्यकाल गरिबीको दुष्चक्रमा, तत्पश्चात् बसाइसराइ, जादुको दुनियाँमा प्रवेश, विस्तारै ख्याति र प्रसिद्धि र अन्ततः मृत्यु, हुदिनीको नियति थियो। न्यूयोर्कमा पनि उनलाई चिकित्सकले केही दिन आराम गर्ने सल्लाह दिएका थिए तर उनले मानेनन्। जसको परिणाम मृत्यु थियो, किनभने हुदिनी आफूलाई धुरन्धर ठान्थे।

दाहाल पनि आफूलाई निकै धुरन्धर ठान्छन् र चिनियाँ नेता माओत्सेतुङको नेपाली संस्करण मान्छन्। ठिक छ- राजनीतिमा आफूले रुचाएको पात्रलाई गुरु थाप्न वा आदर्श मान्न पाइन्छ तर आफ्नो भूगोल र परिवेश थाहा पाउनुपर्छ, अनुकूल हुनु पनि पर्छ। पछि आएर इटालीको जेलमा हुदिनी अलमलिए जस्तो दाहाल नराम्ररी अलमलिएको प्रतीत हुन्छ। प्रधानमन्त्री भएको व्यक्ति यतिसारो अलमलिनु जायज हुँदैनथ्यो र एउटै ‘माइण्ड सेट’ले चल्नु पनि हुँदैनथ्यो। हामीलाई थाहा छ, अरूको सल्लाह कहिल्यै नमान्ने व्यक्तिको जीवन सुखद् र त्यसको परिणाम धेरै गतिलो हुँदैन।

हुदिनी र दाहालको ‘ग्रो अप’ एकैनास छ, वास्तविक नाम पनि फरक छ दुवैको। एरिक वेस र छविलाल। यो संयोग मात्र हो जस्तो लाग्छ। चञ्चलता, अस्थिरता, महत्वाकांक्षा र मपाईंत्व एकैनास छ। अरुको सल्लाह मान्दै नमान्ने, आफ्नै सुरमा हिंड्ने। अझ दाहालमा त पालो गरी–गरी सबैलाई गाली गर्ने विशिष्ट क्षमता छ। आफ्नो आङको भैंसी नदेख्ने, अरुको आङमा जुम्रा देख्ने खुबी पनि छ। बोलीमा उच्च चेतना र सांस्कृतिक स्तर कायम राख्न नसक्ने प्रवृत्ति देखिन्छ। तीनचोटि प्रधानमन्त्री भएर पनि दाहाल औसत राजनीतिज्ञबाट माथि उठ्न सक्नुभएन, लोकतन्त्रका आधारभूत सिद्धान्तलाई आत्मसात् गर्न सक्नुभएन भन्ने छर्लङ्ग देखिन्छ।

ज्यान जाँदा हुदिनीको मात्र गयो, जादुगर टोलीको गएन। नयाँ गठबन्धन भत्किंदा डुब्ने प्रचण्ड मात्र हो, अरु कोही होइन। त्यसैले नेपाली राजनीतिमा स्थापित हुँदै गएको राजनीतिमा जे गरे पनि हुन्छ भन्ने मान्यतालाई अन्त्य गर्नु आजको राष्ट्रिय आवश्यकता हो

त्यसबेला हुदिनीले पेट कसेपछि जस्तोसुकै मुक्काले पनि असर नगर्ने सर्वत्र प्रचार थियो। न्यूयोर्कको स्टेज शो अगाडि एक युवक आएर त्यस प्रचारको वास्तविकता सोध्यो। उसले सत्य हो भन्ने जवाफ दियो। त्यसपछि हुदिनी तयार नै नभई त्यस युवकले उसको पेटमा धमाधम मुक्का प्रहार गर्न थाल्यो। यसले उसको एपेन्डिक्स फुट्यो। मृत्युका विषयमा अन्य प्रचार जेसुकै भए पनि आखिर यही कारण एकहप्ता पछि नै उसको मृत्यु भयो।

पुनः यो प्रसंग किन ल्याइएको हो भने देशको नेता भइसकेको राजनीतिज्ञले राजनीतिका संभावित जोखिमको राम्रो आकलन गर्न सक्नुपर्छ, दाहालमा त्यो होश र दूरदर्शिता देखिएन। कुरा उहाँले झेल्नुपर्ने जोखिमको मात्र होइन, राष्ट्र र जनताले उठाउनुपर्ने उच्च जोखिम र संकटको हो।

प्रम दाहालले आजसम्म धेरै राजनीतिक मुक्का खाइसकेको दुनियाँलाई थाहा छ। अहिलेको तरिकाले त निकट भविष्यमा राजनीतिक बज्रमुक्का खाने निश्चितै देखिन्छ। जनताको मुक्काले थलिएको बेला भावी संसदीय गठबन्धनको नयाँ मुक्का खाएपछि जाने कहाँ होला ? त्यतिबेला अकाल राजनीतिक मृत्युको बज्रमुक्का खानुपर्ने हुनसक्छ। यसको हेक्का दाहाललाई नभए जस्तो छ। त्यसैले राजकाज चलाउने कुरालाई उहाँले खेलाँची ठानेको र घरीघरी ख्यालठट्टा गरेको देखिन्छ। यो सफल राजनीतिज्ञको लक्षण होइन।

नयाँ सरकारमा सामेल भएका गठबन्धनका पात्रहरू कतिपय पुरानै र कतिपय नयाँ छन्। पुराना पात्र त चिनेकै बिष्ट हुन् तर नयाँ माथि निकै चुनौती र जोखिम छन्। कुरा गरे जस्तो सजिलो काम गर्न हुँदैन। यसका कठिनाइ धेरै छन्। पहिलो कुरा, पुराना दल माथि अनेकौं प्रश्न उठाउँदा आफ्नो नैतिक धरातल बलियो हुनुपर्छ। यस दौरान आफूमाथि उठेका नैतिक प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ।

नैतिकताको दोहोरो मापदण्ड कसैलाई मान्य हुँदैन। सत्तामा पुग्नु राजनीतिका फोहोरलाई पन्छाउने अवसर प्राप्त गर्नु हो। यसको लागि आफ्ना कमि–कमजोरी खुला दिलले स्वीकार्न सक्नुपर्छ। जानी–नजानी भएका गल्तीलाई ढाकछोप गर्नुहुँदैन। तर नेपाली राजनीतिको सनातन रोगको रूपमा एउटा प्रवृत्ति विद्यमान छ। अरुका सामान्य गल्तीलाई पनि पहाड बनाउने र आफ्ना ठूल्ठूला गल्तीलाई पनि ढाकछोप गर्ने।

सचेत नागरिक समाजले यसलाई नजिकबाट नियालिरहेको छ। सत्तामा रहँदा होस् या प्रतिपक्षमा, राज्यमा विद्यमान समस्याहरूलाई हेर्ने दृष्टिकोणमा समानता हुनुपर्छ। हामी सबैले बुझेकै कुरा हो कि विभिन्न विचारधारा र सिद्धान्त बोकेका दलहरू सबै यसै नेपाली समाजका उपज हुन्। यसभित्रको चिन्तन प्रणाली, स्वार्थ र महत्वाकांक्षा एकै हो। केवल ज्ञान, विवेक र राष्ट्रिय कर्तव्यबोधले हरेकले आफूलाई फरक प्रमाणित गर्ने हो। आजसम्म अपवाद बाहेक यस्तो विलक्षण प्रवृत्ति कसैमा पाइएको छैन। सबैमा देखिएको औसत प्रवृत्तिले आजको दुरवस्था निम्त्याएको हो। यस वास्तविकतालाई मनन गर्ने कसले ?

त्यसैले नयाँ दलको गीत गाएर मात्र पुग्दैन, कर्मले प्रमाणित गर्न सक्नुपर्छ। यसको लक्षण कहींकतै देखिएको छैन। तर नयाँ हुनुको एउटा सुविधा छ। जनताले काम हेर्न बाँकी छ। तर अरुको घर भत्काएर आफ्नो घरको अस्तित्व बचाउने पुरातन शैली असान्दर्भिक भइसकेको छ। अब यस रोगबाट राजनीतिक दलहरू मुक्त हुनुपर्छ। नयाँ दलहरू त झन् मुक्त रहनुपर्छ।

जादु विज्ञान होइन, जसलाई प्रमाणित गर्न सकियोस्। यो स्टेजमा प्रस्तुत गरिने कलात्मक गतिविधि मात्र हो। जादुमा देखाए जस्तो वास्तविक जीवन हुँदैन। यसको आयु स्टेज रहँदासम्म मात्र रहन्छ। यो क्षणभरको अद्भुत मनोरञ्जन मात्र हो। त्यसैले प्रचण्डले हुदिनी बन्ने प्रयत्न नगरेकै राम्रो हो। राजनीति मजाक गर्ने क्षेत्र होइन। हुनत नेपाली राजनीतिज्ञहरूले आजसम्म समग्र राजनीतिलाई स्टेजको जादु जस्तो ठट्टा–मजाक ठानेका छन्, जसमा अहिले आएर प्रचण्ड अगाडि देखिनुभएको छ। यो राम्रो लक्षण होइन।

उहाँका लागि न त राजनीतिक, न भौतिक परिस्थिति सोचे जस्तो अनुकूल छ। बरु सोचेभन्दा ज्यादा प्रतिकूल छ। र अब झन् बढ्नेवाला छ। जुन देशको समाज अशान्त र समस्याग्रस्त हुन्छ, त्यहाँका नेता र राजनीतिक दलले क्षणिक फाइदा त उठाउँछन् तर टिक्दैनन्। प्रचण्डको नियति पनि त्यही हो। वर्तमान नवनिर्मित गठबन्धन असफल हँदा प्रचण्ड बाहेक कोही पनि असफल हुँदैन।

ज्यान जाँदा हुदिनीको मात्र गयो, जादुगर टोलीको गएन। नयाँ गठबन्धन भत्किंदा डुब्ने प्रचण्ड मात्र हो, अरु कोही होइन। त्यसैले नेपाली राजनीतिमा स्थापित हुँदै गएको राजनीतिमा जे गरे पनि हुन्छ भन्ने मान्यतालाई अन्त्य गर्नु आजको राष्ट्रिय आवश्यकता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?