+
+

१५ वर्षपछि कसरी समातिए व्यापारी हत्याका आरोपित माओवादी नेता खाम ?

ओली र प्रचण्ड बाझ्दा चर्चामा आएका खाम उनीहरु मिलेका बेला पक्राउ परे

जिल्ला प्रहरी परिसर काठमाडौंको सादा पोशाकको टोलीले खामको मोबाइल नम्बर दुई दिनअघि मात्रै पत्ता लगाएको थियो । मोबाइल नम्बर पत्ता लगाएपछि मंगलबार इन्सपेक्टर योगेश खत्रीसहितको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत २० गते २०:५९

२० चैत, काठमाडौं । तीन वर्षअघि नेकपा फुट्ने बेला केपी ओली र प्रचण्ड दुवैले आपसमा घोचपेच गर्दा सम्झेका पात्र थिए कालीबहादुर खाम ।

नेकपा विभाजनको संघारमा रहेका बेला १५ पुस २०७७ मा राजधानीमा आयोजित आफू निकटको सुदूरपश्चिम र कर्णाली प्रदेश भेलामा प्रथम वरियताका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डलाई अत्याउन खामको नाम लिएका थिए ।

ओलीले आफ्ना गृहमन्त्री रामबहादुर थापा बादललाई नजिकै राखेर खामको तुष्टि मेटाएका थिए, ‘यतिबेला म कालीबहादुर खामहरुलाई सम्झिरहेको छु । खोई कहाँ छन् कालीबहादुर खामहरु ? कसले संरक्षण गरेका छन् ?’

‘पक्राउ नगर्दासम्म के न होला भन्ने थियो । तर पक्राउ गरिसकेपछि उहाँले पनि सामान्य रुपमा लिनुभयो । माथिबाट अहिलेसम्म त्यस्तो केही प्रेसर आएको छैन’, काठमाडौंका एक प्रहरी अधिकारीले भने ।

९ माघमा प्रचण्डले ओलीलाई जवाफ फर्काए– ‘उसको मुद्दा मिलाउनका लागि मैले काम गरिरहेकै थिएँ । जसलाई मैले १० वर्षसम्म स्कुलिङ गरेर युद्धमा कमाण्डर बनाएँ । अब तिनको रक्षा ओलीले गर्ने अरे । सुन्दै अचम्म लाग्छ । आमाको दूध चुसाएर भएन, बाउको घुँडो चुस्दा के रस आउला र ?’

ओली र प्रचण्ड यसबीचमा पटक पटक बाझेर फेरि मिल्न पुगेका छन् । उनीहरु मिलेकै बेला उनीहरुले त्यसबेला प्रिय पात्र मानेका कालीबहादुर खामको हातमा मंगलबार हत्कडी लागेको छ ।

अर्थात्, त्यो पनि मुद्दा मिलाउन काम गरिरहकै छु भनेका प्रचण्ड प्रधानमन्त्री भएका बेला खाम र खामलाई गृहमन्त्रीको अघि सम्झिरहेको छु भन्दै सहानुभूति दिएका ओलीको पार्टी सत्ताको मुख्य घटक भएका बेला खाम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले खामलाई ठमेलमा हिँड्दै गरेका बेला पक्राउ गरेको हो । खाममाथि १५ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ अपहरण र हत्याको अभियोग छ । खाम अहिले पनि सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रको सुरक्षा विभागको जिम्मेवारीमा छन् । यही विभागका प्रमुख कृष्णबहादुर महरामाथि भने सुन तस्करसँग कनेक्शन देखिएको आरोपमा अनुसन्धान भइरहेको छ ।

खाम पक्राउ परिसकेपछि काठमाडौं परिसरका एक अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पक्राउ नगर्दासम्म के न होला भन्ने थियो । तर पक्राउ गरिसकेपछि उहाँले पनि सामान्य रुपमा लिनुभयो । माथिबाट अहिलेसम्म त्यस्तो केही प्रेसर आएको छैन ।’

प्रहरी स्रोतका अनुसार यसअघि पनि चार/पाँच पटक खामको फाइललाई प्रहरीले अघि बढाएको थियो । तर उक्त फाइल बीचमै रोकिन्थ्यो । ‘अघि बढ्ने र बीचमै रोकिने काम चलिरहेकै थियो । तर यस पटक फाइल रोकिएन अघि बढ्दै गयो । आज पक्राउ गर्न सफल भयौं’, खामको रेकी गर्दै आएका प्रहरीले भने ।

प्रहरी स्रोतका अनुसार पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएपछि खामको फाइल पुनः अघि बढाइएको थियो । करिब एक महिनासम्म मेहनत गरेपछि बल्ल खाम पक्राउ गर्न सफल भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

त्यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखाका डीएसपी हरि खतिवडालाई जिम्मेवारी दिइएको थियो । डीएसपी खतिवडाले आफू मातहतको सादा पोशाकको टोली पछिल्लो एक महिनादेखि खामको खोजी गर्न खटाएका थिए । खामको मोबाइल नम्बर दुई दिनअघि मात्रै प्रहरीले पत्ता लगाएको थियो । मोबाइल नम्बर पत्ता लगाएपछि मंगलबार इन्सपेक्टर योगेश खत्रीसहितको टोलीले उनलाई ठमेलबाट पक्राउ गर्‍यो ।

‘हामीले पक्राउ गरेपछि खामसँग कुरा गर्दा उनी पनि अदालत फेस गर्न तयार भएको जस्तो देखियो । यसअघि जेल सजाय सुनाइएकाले समेत सफाइ पाएकाले आफू पनि अदालतबाट छुट्नेमा ढुक्क थिए’, एक अधिकृतले बताए ।

कमाण्डर हुनुका नाताले व्यवसायी रामहरिलाई काठमाडौंबाट चितवनको शक्तिखोरस्थित माओवादीको तत्कालीन लडाकु शिविरमा ल्याउन आदेश दिएको जिम्मा आफूले लिने तर बाँकी घटनाबारे आफू जानकार नभएको दाबी खामले गरेका छन् ।

खाम पक्राउबारे एक अधिकृत भन्छन्, ‘शान्ति प्रक्रियापछि माओवादी कुनै न कुनै रुपमा सत्ता रह्यो । त्यतिञ्जेल उसको प्रभाव राम्रै पर्‍यो । तर अहिले परिस्थिति केही फरक छ । अन्य पार्टीका हाइप्रोफाइल नेताहरु धमाधम पक्राउ परेर जेल जाँदा खामलाई चाहेर पनि माओवादीले जोगाउन सक्ने अवस्था छैन ।’

उनका अनुसार पक्राउ परेपछि पनि दबाब आए भोलि माओवादीमाथि नै प्रश्न उठ्ने भएकाले परिस्थिति विश्लेषण गरेर खामलाई समातिएको हो ।

खाम पक्राउको रिपोर्टिङ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसम्म पुगिसकेको र अहिलेसम्म कतैबाट केही प्रेसर नआएको परिसरका एसएसपी भूपेन्द्र खत्रीको दाबी छ ।

‘कसैको आदेशमा खाम पक्राउ परेका होइनन् । यसअघि रमेश खरेल काठमाडौंको एसएसपी भएको बेला २०६७ सालमा पनि व्यापक खोजी गर्दा पनि भेटिएका थिएनन् । अहिले हामीले पनि निकै मेहनत गरेर खाामलाई पक्राउ गरेका हौं’, एसएसपी खत्रीले भने ।

पक्राउ परेका खामविरुद्धको मुद्दा जिल्ला अदालत चितवनमा मुल्तबीमा राखिएको छ । अब उनलाई चितवन अदालतमा उपस्थित गराउनुपर्छ । थुनछेक बहसपछि अदालतले उनलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा रिहा गर्ने विकल्प एउटा आदेश दिनेछ ।

के थियो घटना ?

सशस्त्र युद्धरत नेकपा माओवादी २०६२/६३ मा भएको जनआन्दोलनबाट शान्ति प्रक्रियामा आएको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीका लडाकुलाई देशका विभिन्न ठाउँमा शिविर बनाइर राखिएको थियो । चितवनको शक्तिखोरमा स्थापित तेस्रो डिभिजन कार्यालयले कोटेश्वरमा व्यापारी रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो ।

१४ चैत, २०६४ मा उक्त सम्पर्क कार्यालयबाट १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । तेस्रो डिभिजनका कमाण्डर कालीबहादुर खामले घटनाको छानबिन गर्न भन्दै घरधनी रामहरिलाई ‘उठाउन’ निर्देशन दिए ।

माओवादी लडाकुहरुको टोलीले केशव अधिकारी, गंगाराम थापा अनि घरधनी रामहरि श्रेष्ठलाई अपहरण गरेर चितवन लगेको थियो ।

तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटालाले सोधपुछ रामहरिले आफूसँगै नियन्त्रणमा लिइएका केशव र गंगारामको नाम पोलेका थिए । हाम्रो नाम पोल्ने भन्दै गंगाराम र केशवले ३१ भदौ २०६५ मा रामहरिमाथि कुटपिट गरेका थिए । उपचारका लागि अस्पताल लैजादै गर्दा रामहरिको बाटैमा मृत्यु भयो ।

त्यसपछि रामहरिको शव नारायणी नदीमा फालियो । माओवादीको तेस्रो डिभिजनले ३ जेठ, २०६५ मा गोविन्द बटालाले रामहरि श्रेष्ठको शव नारायणीमा फालेको भन्दै विवरण लेखेर प्रहरीलाई पठायो ।

कोटेश्वरस्थित सम्पर्क कार्यालयमा रहेका बेला माओवादीका कमाण्डर खामलाई ३ जनाले नियन्त्रणमा लिएर पैसा र पेस्तोल लुटेका थिए । पछि उनीहरुले घरधनीलाई नै अपहरण गरे । घटनाको पर्सिपल्ट शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख रुपैयाँ र भर्‍याङमुनि पेस्तोल भेटिएको थियो ।

श्रीमानको हत्या भएपछि श्रीमती रमिलाले अपहरण गरी हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । खामसँगै, गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो ।

१७ जेठ २०६८ मा उक्त मुद्दाको फैसला भएको थियो । जसमा बटालालाई तीन वर्ष कैदको सजाय सुनाइएको थियो । खाम, अधिकारी, थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा मुल्तबीमा राखिएको थियो । कार्कीको हकमा भने २० रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदनमा गएको थियो । पुनरावेदन अदालत हेटौंडाले ५ माघ २०७० मा जिल्लाकै फैसला सदर गरेको थियो ।

उक्त मुद्दा त्यहाँबाट पनि पुनरावेदनबाट पनि सर्वोच्च आइपुगेको थियो । १८ फागुन २०७६ मा सर्वोच्चले बटालालाई भने सफाइ दिएको थियो । खाम, अधिकारी र थापा फरार भएकाले उनीहरुको हकमा केही पनि भएको थिएन । कार्कीको हकमा भने जिल्लाकै २० रुपैयाँको फैसला सदर भएको थियो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?