+

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

२०८० चैत  ३० गते १३:४९ २०८० चैत ३० गते १३:४९
कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

काठमाडौं । रोग लाग्नुको कारण हुन्छ । त्यही कारण पहिल्याउँदै चिकित्सकले उपचार गर्छन् । तर रौतहट, चन्द्रपुरका विवेक भण्डारीको हकमा यो नियम लागू भएन ।

काठमाडौंमा बसेर शिक्षण पेशा गरिरहेका उनी आर्थिक अवस्था उकास्ने सपना बुन्दै यूएई हान्निए । त्यहाँ गएको केही समयमा उनलाई नसासम्बन्धी समस्या भयो । त्यसपछि नेपाल फर्किए ।

उनको देब्रे खुट्टामा एक्कासि चिसो महसुस भयो । चिसोसँगै खुट्टा कडा हुने, खुट्टा बटारिने जस्ता समस्या देखापर्‍यो । केही दिनमा त खुट्टा राम्ररी चल्नै छाड्यो । खुट्टा यस्तो हुनुको कारण पत्ता लगाउन उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पुगे । त्यहाँ डाक्टरले उनलाई एमआरआई गर्न लगाए ।

एमआरआईको रिपोर्ट हेरेर डाक्टरले विवेकलाई सोधे- तपाईंको कुनै दुर्घटना भएको थियो ?

डाक्टरको प्रश्नमा आश्चर्य मान्दै विवेकले भने- ‘दुर्घटना भएको वा अन्य केही भएको छैन नि एक्कासि खुट्टा चिसो भयो ।’

विवेकको जवाफपछि डाक्टरले भने- ‘तपाईंको ‘सिभियर कम्प्रेसिव माएलोप्याथी’ मेरुदण्ड च्यापिएको छ,  शल्यक्रिया गर्नुपर्छ ।’

विवेकको मेरुदण्डको ११ वटा नसा च्यापिएको रहेछ । जसको उपचार औषधि उपचार तथा थेरापीबाट सम्भव थिएन । त्यसैले शल्यक्रिया गर्नुपर्ने सल्लाह डाक्टरले दिए ।

अब उनी शल्यक्रियाका लागि बुझ्न राष्ट्रिय ट्रमा सेन्टर पुग्छन् । त्यहाँ पनि उनको रिपोर्ट हेरेर डाक्टरले शल्यक्रिया गर्नुपर्छ भने- ‘दिसा,  पिसाब नै कन्ट्रोल भएको छैन भने त झन् तत्काल शल्यक्रिया गर्नुपर्छ ।’

डाक्टरले कस्तो खाले, कुन लेबलको शल्यक्रिया गर्नुपर्छ भनेनन् । धेरै ठाउँको नसा च्यापिएको छ, कहाँको शल्यक्रिया गर्ने हो भनेर पनि भनेनन् ।

‘मेरो श्रीमती चावहिलकै नेसनल ओरचिड बोडिङ स्कुलमा पढाउँथिन् । त्यहाँका प्रिन्सिपलले स्पार्क हेल्थ होम अस्पताल जान सुझाए, त्यहाँ धेरै नसा च्यापिएको समस्या निको भएको छ भनेर,’ विवेक सुनाउँछन् ।

साथीभाइको सल्लाहमा उनी स्पार्क अस्पताल पुगे र डाक्टरलाई रिपोर्ट देखाए । त्यहाँ फेरि डाक्टरले सिटिस्क्यान गर्ने सल्लाह दिए । सिटिस्क्यानको रिपोर्ट हरेर डाक्टरले भने- ‘तिमी संसारको जुनसुकै कुनामा गए पनि निको हुँदैनौ ।’ त्यो कुरा सुनेर उनलाई छाँगाबाट खसे जस्तो भयो । जिन्दगीले कस्तो परीक्षा लिइरहेको हो भन्ने भयो ।

त्यही अस्पतालमा अर्का डाक्टरले भने ‘निको हुने ५० प्रतिशत सम्भावना छ, त्यसैले थेरापी हेरेर गरौं न’ भने । तर अर्का चिकित्सकले भने निको नै हुँदैन भने ।

स्पार्क हेल्थ होम अस्पतालमा उनको साथमा बुवा पनि गएका थिए । डाक्टरको कुरा सुनेर उनको बुवाको आत्मविश्वास कमजोर भयो । त्यसैले बुवाले भने- ‘बाबु एक्कासि यस्तो समस्या देखियो, केही लागो पो हो कि झारफुक  गरौं न एकचोटि ।’

बुवाको कुरालाई विवेकले काट्न सकेनन् । त्यसैले उनी झारफुकको लागि गाउँ गएसँगै फिजियोथेरापी पनि गरे । झारफुक र फिजियोथेरापी गर्दा पनि समस्या हल भएन झन् बढ्दै गयो । शरीरका मांसपेशीहरु कसिलो हुँदै गयो, दिसा-पिसाब रोकिन छाड्यो, खुट्टा रातभरि आफैं चलिरहने, खुट्टा टेक्न गाह्रो हुने साथै बिस्तारै बेडबाट उठ्नै नसक्ने भए विवेक ।

समस्या झन् झन् बढ्दै गएपछि उपचारका लागि उनी परिवारसँग दिल्लीको म्याक्स अस्पताल पुगे । त्यहाँ उनको भेट डाक्टर मुकेश अग्रवालसँग भयो । उनले भने- ‘सिभियर कम्प्रेसिव माएलोप्याथी हो, त्यसैले गर्धनभन्दा तल र कम्मर भन्दा माथिको मेरुदण्डको भागको शल्यक्रिया गर्नुपर्छ र त्यसपछि लामो समयसम्म थेरापी गर्नुपर्छ । त्यसपछि तपाईंको समस्या कम  हुन्छ ।’

डाक्टरले थप भने- ‘तपाईं पूर्ण रूपमा त निको हुन त सक्नुहुन्न तर ९० प्रतिशत मात्र निको हुनुभयो भने तपाईंले सामान्य जीवन बिताउन सक्नुहुन्छ ।’

म्याक्स अस्पतालको शुल्क एकदमै महँगो थियो । महँगो भएपनि उपचार निर्णय गर्‍यो उनको परिवारले, त्यसपछि अस्पतालमा विवेक भर्ना भए । तर अस्पतालमा पाँच दिनका लागि मात्र बेड पाइयो । अस्पतालको वरिपरि कोठा पाइएन, अन्तर्राष्ट्रिय बिरामीहरूले नै भरिएको थियो कोठाहरू । कोठा नपाएपछि त्यहाँ बसेर उपचार गर्न सम्भव भएन, किनकि उनको उपचार पनि लामो समय चल्नेवाला थियो ।

म्याक्स अस्पतालमा बेड नपाएको थाहा पाएपछि उनकी फुपूले भारत, इलाहाबादको वैष्णवी न्युरो स्पाइनल अस्पताल जाने सल्लाह दिइन् । फुपूको सल्लाहमा उनी वैष्णवी न्युरो स्पाइनल अस्पताल पुगे । त्यहाँ डा. प्रकाश खेतानले पनि शल्यक्रिया र थेरापी गर्नुपर्ने सुझाए । डाक्टरले भने- ‘तपाईंलाई निको पार्ने ९९ प्रतिशत प्रयास म गर्छु, बाँकी एक प्रतिशत भगवानको हातमा छ ।’

उनले २०७९ जेठ मा त्यहाँ उपचार सुरु गरे १७ गते शल्यक्रिया भयो । शल्यक्रिया भएको २२ दिनपछि उनको थेरापी सुरु भयो । शल्यक्रिया र थेरापीपछि केही सुधार हुँदै गयो । नौ महिना इलाहाबादमा बसेर उनले उपचार गरे । नौ महिनाको अवधिमा उनी बस्न सक्ने भए । बिस्तारै अलिअलि हिंड्न सुक्ने भए ।

शल्यक्रियापछि उनले औषधि सेवन र थेरापीसँगै गरिरहेका थिए । तर स्टेरोइड औषधि लामो समय चलाउन नमिल्ने भएकाले औषधि छुटाइयो । औषधि छोडेपछि फेरि उनी हिंड्न नसक्ने भए । त्यहाँ उपचारकै क्रममा उनले सोसल मिडियामा दिल्लीको ‘वाक एण्ड रन एडभान्स रिहाभ्लिटेसन सेन्टरमा राम्रो थेरापी हुने कुरा थाहा पाए ।

त्यसपछि उनी वाक एण्ड रन एडभान्स रिहाभ्लिटेसन सेन्टरमा पुगे र त्यहाँ आठ महिना थेरापी गरे ।  लगभग १९ महिना उनी भारतमा बसेर उपचार गरे । उपचारको क्रममा सकियो ६० लाख रुपैयाँ ।

वाक एण्ड रनको थेरापीपछि विवेक वाकरको सहायतामा उनी हिंड्न सक्ने भए । तर खर्च अभावले थप उपचार गराउन सकेनन् । पैसा सकिएपछि उनी काठमाडौं फर्किए ।

काठमाडौंमा फिजियो थेरापिस्ट रोशन थापामगरको  सहयोगमा उनले थेरापी गरिरहेका छन् । तर रोशनले उनलाई तीन महिना एडभान्स रोबटिक थेरापी गर्न सुझाएका छन् । यो एडभान्स रोबटिक थेरापी नेपालमा छैन । त्यसैले यो थेरापी गर्न उनलाई भारत नै जानुपर्ने हुन्छ । यो थेरापी अझै डेढ वर्ष गर्नुपर्ने हुन्छ ।

विवेक भन्छन्, ‘भारत गएर एडभान्स रोबटिक थेरापी लिनका लागि थोरै खर्चले पुग्दैन । आर्थिक अभावका कारण उपचारका लागि भारत जान सकेको छैन ।’

श्रीमान् र श्रीमती दुवै जना शिक्षण पेशा गरिरहेका थिए । जीवन जेनतेन चलिरहेकै थियो । विद्यार्थीको उज्ज्वल भविष्यका लागि रातदिन तल्लीन रहने विवेक अब आफ्नो जीवन अँध्यारोबाट हुनबाट बचाउन सबैसँग गुहार माग्ने अवस्थामा पुगेका छन् । उनले फेसबुकमा समेत सहयोगी मनहरुलाई आफ्नो उपचारमा सहयोग गर्न अपील गरेका छन् ।

‘जिन्दगीमा सधैं आशावादी हुँदै जोश-जाँगर बोकेर हिंडेको मान्छे हुँ म । जिन्दगी यो अवस्थामा आइपुग्ला भनेर कल्पना नै गरेको थिइनँ,’ विवेक भावुक हुँदै भन्छन्, ‘सहयोगी मनहरुले मलाई बचाउन मेरी श्रीमती सशिता राज भण्डारी (९८६१४५२९२३)को नाममा रहेको एसबीआई बैंकको खाता नम्बर २००१५२४३४०२२६९ मा  सकेको रकम जम्मा गरिदिनुहुन अनुरोध गर्न बाध्य छु । बालबालिकालाई उज्यालो भविष्य देखाउने म आफ्नै जिन्दगीबाट उज्यालो सधैंलाई ओझेल पर्ने त होइन भन्ने चिन्तामा छु ।’

उपचार खर्च नसा च्यापिने नसारोग विवेक भण्डारी स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय