+
+

भारतीयलाई काठमाडौंमा बन्धक बनाएको घटनामा ८ जनाविरुद्ध संगठित अपराधको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २०:५६

३ वैशाख, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाइदिने भन्दै असुली गरेर काठमाडौंमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा अपहरण तथा शरीर बन्धक, लिखत कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा २ फागुन २०८० मा रातोपुलस्थित धोबीखोला करिडोर नजिकैको एक घरमा छापा मारेर ११ जना भारतीय नागरिकलाई उद्दार गरेको थियो ।

उद्दार गरिएकामध्ये भुपेन्दर सिंहका अनुसार, उनीहरुलाई काठमाडौंबाट यूएई–ब्राजिल हुँदै मेक्सिको लैजाने भनिएको थियो । त्यहाँबाट ‘वर्क पर्मिट’ बनाएर अमेरिका प्रवेश गराउने भनिएको थियो ।

तर, उनीहरुलाई नेपालमा ल्याएर एक घरमा बन्धक बनाइएको थियो भने हरियो पर्दामा फोटो र भिडियो खिचेर मेक्सिकोमा रहेको भन्दै फोटो र भिडियो परिवारलाई पठाइएको थियो । घरमा उनीहरु बाटोमा रहेको विश्वास दिलाएर पटकपटक पैसा माग्ने गरेको अनुसन्धानबाट पनि खुलेको थियो ।

मुख्य आरोपीले भने – मुख्य नाइके भारतमै छन्

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, घटनाका मुख्य योजनाकार इन्दु सिंह यादव हुन् । ३८ वर्षदेखि नेपालका विभिन्न गार्मेन्ट उद्योगमा काम गर्दै आएका उनले चिनजानका व्यक्तिहरुलाई प्रयोग गरेर भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएको अनुसन्धानबाट खुलेको छ ।

‘उनले भरातमा बस्ने टोनी नामक व्यक्तिसँग मिलेर त्यहाँका व्यक्तिलाई ठगेर मोटो रकम असूली गर्ने गरेको खुलेको छ’, प्रहरी प्रतिवेदनमा भनिएको छ, ‘उसले आफूले भनेअनुसारको काम गरे मालामाल हुन्छ भनेको पनि देखिन्छ ।’

इन्दु सिंहले बयानमा समेत यो कुरा बताएका छन् । ‘केही व्यक्तिहरुलाई अमेरिका पठाउन भनेर नेपालमा पठाउँछु, तिमीले सम्पर्क गरेर केही दिन होटलमा राखेर कोठा भाडामा लिएर राख्नु भनेको थियो’, उनले भनेका छन्, ‘त्यसपछि मैले यताबाट प्रतिव्यक्ति ३० हजार भारतीय रुपैयाँका दरले पैसा पठाउँछु भनेको थियो ।’

उनीहरुको खाना, नास्ता तथा घर भाडाका लागि अन्य व्यक्तिहरुको रकम छुट्टै पठाउँछु भनेकाले आफू काम गर्न तयार भएको उनले दाबी गरेका छन् । त्यसपछि निपुन गुप्ताले भाडामा लिएको घरमा उनीहरुलाई राखेको उनले भनेका छन् । आफूले काठमाडौंमा एक लाख २५ हजार रुपैयाँ अग्रिम भुक्तानी समेत पाएको उनले प्रहरीसँगको बयानमा भनेका छन् ।

प्रहरीले यो घटनामा नक्कली कागजात बनाउन सहयोग गरेको आरोपमा नेपाली नागरिक लक्ष्मण गिरीलाई समेत पक्राउ गरेको थियो । तर, तत्काललाई थप प्रमाण फेला नपरेको भन्दै मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ ।

अनुसन्धानका क्रममा खुलेका बलजित कौर, गुरविन्द्र सिंह, टोनी लगायतविरुद्ध समेत पछि अनुसन्धान हुने गरी मिसिलमा नाम समावेश गरिएको छ । सिंह र रहिमको साथबाट बरामद अमेरिकी डलर र भारतीय रुपैयाँबारे थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई पत्राचार गर्ने निर्णय पनि सरकारी वकिलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?