+
+

प्रचण्डलाई प्रश्न सोध्ने मनोज गजुरेलको नाटक ‘शहीद गेट’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १७:५७

दशरथ चन्द : छटपटी त हामी शहीदहरुलाई नै हुने रहेछ दाई । सपना पुरा गर्नेहरु त मस्तसँग निदाइरहेको देख्छु । यो शहीदहरुको शालिकमा किन हात चाहिँ नबनाइएको होला ?

शुक्रराज शाष्त्री : गम्भीर प्रश्न दशरथ । सायद माल्यार्पण गर्न जाँदा झापड खाइन्छ भनेर हो कि ।

दशरथ चन्द : किन खानु र झापड दाई, महिनैपिच्छे मन्त्री फेरिइरहन्छन् । मन्त्री फेरिँदै पिच्छे हामीलाई श्रद्धान्जली दिन आइरहन्छन् । श्रद्धाञ्जली दिँदै पिच्छे माला खादा लाइदिरहन्छन् । म त ह्याप्पी छु दाई ।

शुक्रराज शाष्त्री : तिमी ह्याप्पी छौ, त्यसैले दुःखी छौ दशरथ ।

शहीद र माला, अन्धकारमा ज्योति छर्दैन भने
बाती र पाला केका लागि ?
निरकुंशताको उन्माद मर्दैन भने
सिद्धान्तको रंगशाला केका लागि ?
राष्ट्र भन्ने गौरव नै मासियो भने
यी झण्डा नामका टाला केका लागि ?
देशको मुहार फेरिँदैन भने शहीदलाई माला केका लागि ?

दशरथ चन्द : वाह गुरु वाह । तपाईंका शब्द शब्द म टिपोट गर्छु गुरु । भावी पुस्ताका लागि गतिलो दस्तावेज बन्न सक्छ

यस्तो संवाद चल्दा हलभरि हाँसोको फोहोरा छुट्छ । अतिथि दीर्घामा रहेका राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका नेताहरु माधव नेपाल, झलनाथ खनाल पनि हाँस्छन् ।

सिस्नुपानी नेपालले नयाँवर्ष २०८१ को सन्दर्भमा आयोजना गरेको ‘शहीद गेट’ नामक यो स्टेज नाटकले हामीलाई इतिहासमा लैजान्छ र वर्तमानमा सोच्न बाध्य पार्छ ।

नाटकमा हाँस्य कलाकारद्धय मनोज गजुरेलले शुक्रराज शाष्त्री र चक्र दवाडीले दशरथ चन्दको भूमिका निर्वाह गरेका छन् । युट्युवमा सार्वजनिक भएको यो २१ मिनेट लामो दमदार र प्रेरक नाटक समकालिन राजनीतिमा अर्थपूर्ण र सान्दर्भिक छ ।

हामीले बाँचिरहेको समय, राजनीति र नेतालाई कटाक्ष गर्ने यो नाटक शहीद गेटमा राखिएका यी दुई शहीदको प्रतिमाबीचको संवादमा आधारित छ । यी दुई प्रतिमासँग शरिर नभएपछि चेतनाको बलमा हिँड्छन् र बोल्छन् । प्रतिमामा प्राण भरेर नाटक निर्देशक गजुरेलले अहिलेको राजनीतिलाई प्रश्न सोध्ने आँट गरेका छन् ।

हातमा श्रीमद्भागवत गीताको पुस्तक समातेका गजुरेलको डायलग छ- हामीले क्रान्ति गर्दा हाम्रो नशा नशामा रातो खुन बग्थ्यो । अहिले त पहेँले सुन बग्न थालेछ ।’ उनले यसो भन्दा दर्शक दीर्घा तालीले गुन्जायमान हुन्छ ।

विश्वचर्चित पात्रमार्फत समाज र समयलाई व्यंग्य गर्दै आएका गजुरेलले यसपटक शहीदमार्फत त्यो प्रश्न सोध्ने साहस गरेका छन्, त्यो पनि नेताहरुलाई अघि राखेर । गजुरेलको यो नयाँ नाटक अवश्य पनि दर्शनीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?