+
+

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, कस्तो असर पार्छ नेपाललाई ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते ८:५४

५ वैशाख, काठमाडौं । अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ भने खरिदर मूल्य १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्य १३ पैसा बढेको हो भने यो मूल्य हालसम्मकै उच्च हो ।

इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन पाउँदा इरानी मुद्रा रियाल थप कमजोर बनेको छ, भने इजरायली मुद्रा शेकेल बलियो बनेको छ । शनिबार र आइतबार अन्तर्राष्ट्रिय मुद्रा कारोबार बन्द रहेकाले सोमबारदेखि नै डलर मजबुत बनेको हो ।

अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा झनै नोक्सानी पर्दछ । डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ ।

सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । एकातर्फ आयातित परिमाण नै बढ्ने अर्कोतर्फ प्रतियुनिट परिमाणको मूल्य नै बढ्दा त्यसले सञ्चित विदेशी मुद्रामा असर पार्छ । डलरको भाउ बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट नेपाललाई हुने आम्दानी रुपैयाँमा केही बढी देखिन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?