
काठमाडौं । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रबार अपरान्ह र सन्ध्याकालिन शोको अकुपेन्सी उत्साहजनक देखियो । शुक्रबार रिलिज भएको बलिउड फिल्म ‘रुस्लान’को अकुपेन्सीलाई पनि उछिन्दै यो फिल्म बक्सअफिसको शीर्ष स्थानमा रह्यो ।
बोक्सी कुप्रथाको नाममा हुने महिला हिंसाको कथावस्तुमा फिल्म बनेको छ । थ्रीलर फिल्मलाई डेब्यु निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन् । मञ्चन भैसकेको नाटकबाट प्रेरित रहेर बनाइएको फिल्मले समाजका वास्तविक घटनाक्रमलाई चित्रण गरेको जनाइएको छ ।
तपाईंलाई सोसल-ड्रामा र थ्रीलर फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । ११० मिनेट लामो यो फिल्ममा केकीसहित सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउतको अभिनय छ ।
फिल्मले शुक्रबार बिहानदेखि बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार फिल्मको देशब्यापी अकुपेन्सी ६० देखि शतप्रतिशत रह्यो । क्यूएफएक्स, आइएनआईका अपरान्ह र सन्ध्याकालिन शोज हाउसफूल रहे । बिहानीको शोहरु ३० देखि ५० प्रतिशतसम्म थिए । केकी र निर्देशक भारतीसहितको टोली हल–हलमा पुगेर दर्शकसँग भेटघाटमा ब्यस्त देखियो ।
शनिबार फिल्मले उत्कृष्ट कमाई गर्ने अपेक्षा छ ।
‘वर्ड अफ माउथ’को मद्दत पाएको खण्डमा फिल्मले पहिलो सप्ताहन्त राम्रै कमाइ गर्न सक्छ । सामाजिक थ्रीलर फिल्ममा नेपाली दर्शकको रुचि देखिन्छ । बलिउड फिल्म ‘शैतान’ हिट हुनुको कारण यो पनि हो । त्यो मनोविज्ञानको फाइदा ‘बोक्सीको घर’ले उठाउन सक्ने देखिन्छ ।
प्रतिक्रिया 4