+

ललितपुर मेयर्स कपमा उपाधि दाबेदार एपीएफको विजयी सुरुवात

२०८१ वैशाख  ३० गते १७:४५ २०८१ वैशाख ३० गते १७:४५
ललितपुर मेयर्स कपमा उपाधि दाबेदार एपीएफको विजयी सुरुवात

३० वैशाख, काठमाडौं । उपाधिको प्रमुख दाबेदार नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२४ मा कोशी प्रदेशलाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

आइतबार दिउँसो वर्षाको कारण समयमै सुरु हुन नसकेपछि खेल ५/५ ओभरमा झारिएको थियो । ५७ रनको बलियो लक्ष्य पछ्याएको कोशीले ५ ओभरमा २ विकेट गुमाउँदै ३२ रन बनायो ।

कोशीकी कप्तान अप्सरी बेगमले २० बलमा २ चौकासहित सर्वाधिक २५, काजोल श्रेष्ठले ४ र सानु राजवंशीले २ रन बनाइन् । एपीएफकी सीता रानामगरले १ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले ५ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन जोडेको थियो ।

एपीएफकी इन्दू बर्माले १५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ३८ रनको आक्रामक अविजित इनिङ खेलिन् । ओपनर ममता चौधरी ९, सीता रानामगर २ र रोमा थापा ५ रनमा आउट भइन् । कोशीकी एलिसा खडिया र हिरान्मई रोयले १/१ विकेट लिइन् ।

आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ लाई डकवर्थ लेविस पद्धतिको आधारमा १६ रनले हराएको थियो ।

भोलि, सोमबार पहिलो खेलमा बागमती र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।

ललितपुर मेयर्स च्याम्पियनसिपमा प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेका चार र पुग्न नसकेका बाँकी चार टोलीबाट ललितपुर ११ गरी ५ टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ ।

५ टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनल खेल्ने छन् । यस अघिका दुई संस्करण एपीएफले जितेको थियो ।

एपीएफ क्लब ललितपुर मेयर्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय