+
+

१० ग्राफमा अर्थतन्त्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते २०:१०

३० वैशाख, काठमाडौं । नेपालको अर्थतन्त्रका वाह्य सूचक सुदृढ बने पनि माग भने अझै पनि निकै कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने अद्यावधिक आर्थिक सूचकांकको पछिल्लो विवरणले यस्तो देखाएको हो ।

आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले वाह्य क्षेत्र देखाउने भुक्तानी सन्तुलन, चालु खाता, विदेशी विनियम सञ्चिति, रेमिट्यान्सलगायत सूचक राम्रो देखाएको छ ।

त्यस्तै माग, खपत, लगानीको अवस्था देखाउने आयात, निर्यात, कर्जाको विस्तारलगायत सूचक कमजोर छन् ।

राष्ट्र बैंकको तथ्यांकका आधारमा अनलाइनखबरले १० वटा ग्राफमा अर्थतन्त्रको चित्र प्रस्तुत गरेको छ :

१. आर्थिक वर्ष (आव) २०७८/७९ र २०७९/८० मा क्रमशः ८ प्रतिशत र साढे ७ प्रतिशत रहेको मूल्यवृद्धि चालु आवको ९ महिनामा ४.६१ प्रतिशतमा झरेको छ ।

२. मुलुकको निर्यात व्यापारमा गत आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको संकुचन कायमै छ । तर, संकुचनको दर भने केही घटेको छ ।

३. निर्यात व्यापारकै प्रवृत्ति आयातमा पनि छ । यो ९ महिनामा पनि आयात २.३ प्रतिशतले घटेको छ ।

४. आयातमा संकुचन आउँदा रेमिट्यान्समा भने उत्साहप्रद वृद्धि छ । गत आवको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ ।

५. घट्दो आयात र बढ्दो रेमिट्यान्सको प्रभाव भुक्तानी सन्तुलनमा परेको छ । यो वर्षको ९ महिनामा भुक्तानी सन्तुलन ३ खर्ब ६५ अर्बले सकारात्मक बनेको छ ।

६. विदेशी विनिमय सञ्चिति ऐतिहासिक रुपमा उच्च बिन्दुमा पुगेको छ । गत वर्षको चैत मसान्तमा १० अर्ब ९१ करोड अमेरिकी डलरबराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा यो चैत मसान्तमा १४ अर्ब ३६ करोड अमेरिकी डलर पुगेको छ । यसले १२ दशमलव ५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

७. विदेशी लगानीको यथार्थ प्राप्ति भने निराशाजनक छ । आव २०७८/७९ सम्म वार्षिक १९ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्रने गरेकोमा गत वर्षभरिमा ७ अर्ब ७७ करोड रुपैयाँ मात्रै भित्रिएको थियो । चालु आवको ९ महिनामा ६ अर्ब ४८ करोड मात्रै विदेशी लगानी भित्रिएको छ ।

८. भ्रमण र शिक्षामा नेपालीले विदेश लैजाने पैसा भने अस्वाभाविक रुपमा बढेको छ । गत वर्षको चैत मसान्तसम्म १ खर्ब १ अर्ब रुपैयाँ यो शीर्षकमा बाहिरिएकोमा यो वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब पुगेको छ ।

९. चालु आर्थिक वर्षमा बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ । चैत मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको औसत भारित ब्याजदर १०.५५ मा झरेको छ । यो कोभिडअघिको भन्दा पनि कम हो ।

१०. ब्याजदर घटे पनि कर्जा विस्तार सुस्त छ । चैत मसान्तसम्म निजी क्षेत्रमा जाने कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशत मात्रै विस्तार भएको छ । कोभिडको समयमा यो २६ प्रतिशतसम्मले बढेको थियो ।

ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?