काठमाडौं । ‘बोक्सीको घर’ २०८१ सालको सुपरहिट फिल्म हो भन्नेमा कुनै दुविधा रहेन । तेस्रो सातासम्म पनि यो फिल्मको गतिमा सुस्तता छैन । तेस्रो सप्ताहन्तसम्म यो फिल्मको कमाइ आकर्षक देखिएको छ ।
भीआईपीदेखि सर्वसाधारणसम्मले हलमा पुगेर अहिले पनि केकी अधिकारी स्टारर फिल्मलाई हेरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा नेतृ सोविता गौतमले पनि केही दिनअघि यो फिल्म हेरिन् ।
सोविताले फिल्म हेरिसकेपछि उनको भेट केकीसँग भयो । सांसद गौतमले फिल्मको प्रशंसा मात्र गरिनन्, यस्तो फिल्म निर्माणमा आफ्नो सहयोग हुने पनि बताइन् । केकीले पनि सोविताको संघर्ष र व्यक्तित्वको प्रशंसा गरिन् ।
सोविताले फिल्म हेरिसकेपछि अत्याधिक राम्रो लागेको र सबैले एकपटक हेर्नुपर्ने बताइन् । फिल्ममा समावेश गीत ‘बुझिनँ मैले’ धेरैपटक सुनेको सोविताले बताइन् । केकीलाई पनि सोविताबारे प्रश्न सोधियो । कुनै दिन राजनीतिक कथावस्तुमा फिल्म बनेमा आफू सो फिल्मको नेतृको रोलमा सोविताको भूमिकामा देखिन चाहेको बताइन् । ‘सोविताको हरेक गतिविधिबाट धेरै प्रेरणा मिल्नेछ,’ केकीले भनिन् ।
सोवितालाई आइडल राजनीतिको रुपमा आफूले लिएको केकीले बताइन् । केकी र सोविताको मित्रता पुरानै हो । चुनावको प्रचारप्रसारमा पनि केकीले सोवितालाई खुलेरै समर्थन गरेकी थिइन् ।
सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ अहिले हलमा चलिरहेको छ ।
प्रतिक्रिया 4