सामान्य पाचन प्रणालीमा शरीरले निकाल्नुपर्ने दिसामा परिवर्तन आउनुलाई दिसामा गडबडी भनिन्छ । चाहे त्यो झाडापखाला होस् वा कब्जियत ।
खराब जीवनशैली र खानपानको कारण धेरै मानिसमा पेटसम्बन्धी विभिन्न समस्या देखिन्छन् । दिसा गडबडी, पूरा दिसा नहुने, कब्जियत र झाडापखाला जस्ता समस्या देखा पर्न सक्छन् ।
दिसा गडबड हुने कारण
संक्रमण
अहिलेको सिजनमा झाडापखालाको समस्या लिएर धेरै बिरामी अस्पताल आउँछन् । दूषित पानी र खानेकुरामा सक्रिय रहेको जीवाणु, भाइरस तथा विषादीले संक्रमण गराउँछ । तर पहिलेको तुलनामा कोभिडपछि दिसाको संक्रमण हुने समस्या अलि कम भएको छ । मानिसहरुमा हात धुने बानीको विकास भएर तथा सरसफाइमा ध्यान दिन थालेको हुनसक्छ ।
इरिटिएबल बोउल सिन्ड्रोम
भाइरल संक्रमण र तनावको कारण इरिटिएबल बोउल सिन्ड्रोम हुन्छ । यो समस्यामा पेट कटक्क दुख्ने, थोरै दिसा हुने र फेरि एकैछिनमा दिसा लाग्ने हुन्छ ।
इरिटिएबल बोउल सिन्ड्रोमको मिश्रित प्रजातिमा कसैलाई केही समय पखाला लाग्ने र केही समय कब्जियत हुने जस्तो समस्या पनि देखिन्छ ।
इन्फ्लेमेटरी बोउल डिजिज
इन्फ्लेमेटरी बोउल डिजिज पाचनसँग सम्बन्धित यस्तो रोग हो, जसले धेरै प्रकारका समस्या निम्त्याउन सक्छ । यो रोगले पाचन प्रणाली दीर्घकालीन रुपमा सुन्निने हुन्छ । जसकारण पखाला लाग्ने, दिसामा रगत आउने, राम्ररी दिसा नहुँदा पेट दुखाइ र ऐंठन लगायतको समस्या देखा पर्छ ।
ग्यास्ट्रिकको औषधि लामो समयसम्म खाँदा
ग्यास्ट्रिकको औषधि लामो समयसम्म खानु हुँदैन । धेरै जना फार्मेसीमा गएर आफूखुसी औषधि किनेर खान्छन् । पेट दुख्नेबित्तिकै ग्यास्ट्रिक भयो भनेर औषधि खान थाल्छन् र लामो समय निरन्तर खान्छन् । लामो समय ग्यास्ट्रिकको औषधि खाँदा ‘क्रोनिक डायरिया’ हुन्छ । जसले गर्दा लामो समय दिसा नहुने, दिसा गडबड हुने हुन्छ ।
थाइराइडको गडबडी
थाइराइड गडबड हुँदा पनि दिसामा गडबड हुन्छ । हाइपो–थाइराइडिज्म थाइराइड ग्रन्थीले शरीरको लागि पर्याप्त हार्मोन उत्पादन गर्दैन भने थाइराइड हार्मोनको कमी हुँदा कब्जियतको समस्या हुन्छ । ‘हाइपर थाइराइडिज्म’ थाइराइड ग्रन्थीले बढी हार्मोन उत्पादन गर्न थाल्यो भने पखाला लाग्छ । लामो समयसम्म दिसामा समस्या भयो भने थाइराइडको जाँच गर्नुपर्छ ।
मानसिक तनाव
तनाव लिने व्यक्तिलाई पेटको समस्याले सताइरहन्छ । धेरै तनाव लिंदा पाचन प्रणालीको समस्या भएर ग्यास्ट्रिक, दिसामा गडबडी जस्तो समस्या देखा पर्छ ।
पोलिभ
मलद्वारमा ‘पोलिभ मासुको’ डल्लो पलाएमा तथा आन्द्राको क्यान्सर भएमा पनि दिसामा गडबड हुने र दिसामा रगत देखापर्ने हुनसक्छ ।
कब्जियतका कारण
अस्वस्थकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निष्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेलाई कब्जियत हुनसक्छ । साथै, कतिपय औषधिका कारण पनि कब्जियतको जोखिम हुन्छ ।
एक-दुई दिनको खानाले कब्जियतको समस्या निम्तिंदैन । लामो समयदेखि शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् ।
दिसामा रगत देखिने कारण
दिसामा रगत देखिने विभिन्न कारण हुनसक्छन् । पायल्स फिसरको समस्यामा दिसामा रगत देखा पर्छ । दिसामा रगत बग्ने अर्को कारण कब्जियत पनि हो । भित्री पायल्सले पनि रक्तस्राव हुन्छ । कसैमा इन्फ्लाममेटोरी बोउल डिजिजले समेत दिसामा रगत देखिन्छ । साथै मलद्वारमा पोलिभ भएमा र आन्द्राको क्यान्सर भएमा पनि दिसामा रगत बग्न सक्छ ।
उपचार
दिसा कस्तो हुन्छ भन्ने कुरा खानामा भर पर्छ । कस्तो खाना खाइन्छ, त्यसैअनुसार दिसा निष्कासन हुन्छ । स्वस्थ र सन्तुलित खाना खाने मान्छेलाई खासै दिसाको समस्या हुँदैन ।
दूषित पानी र खानाको कारण पखालाको समस्या देखा परेको हो भने यो समस्या केही दिनमा आफैं निको भएर पनि जान्छ ।
इरिटेबल बोउल सिन्ड्रोम आन्द्राको समस्या र तनावका कारण हुने भएको तनाव हुनेबित्तिकै समस्या दोहोरिन सक्छ । यस्तो अवस्थामा औषधिसँगै मनोपरामर्श पनि बिरामीलाई दिनुपर्छ । औषधि मात्र खाएर सबै रोग निको हुँदैन । औषधिसँगै खानपान र जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्छ ।
तौल नियन्त्रण गर्न होस् वा अन्य स्वास्थ्य समस्यामा औषधि खानेबित्तिकै सबै कुरा ठीक हुन्छ भन्ने धेरैलाई लाग्छ । तर जीवनशैली परिवर्तन गरी स्वस्थकर खानपान र व्यायाम गरे रोग लाग्नबाट बच्न सकिनुका साथै लागिहालेमा पनि छिट्टै निको हुन्छ ।
फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4