+
+
पोखराको पदचाप–३ :

चिनियाँ पर्यटकलाई ‘मिस’ गर्दैछ पोखरा

रवीन्द्र घिमिरे अमृत सुवेदी रवीन्द्र घिमिरे, अमृत सुवेदी
२०८१ जेठ ११ गते १९:५०
सुनसान बनेको पोखराको एक चाइनिज रेस्टुरेन्ट

१० जेठ, पोखरा । २०१७ सालमा आफ्नो निमन्त्रणामा नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री चाउ एनलाइलाई पोखरा भ्रमण गराउन प्रधानमन्त्री बीपी कोइराला आफैं आए । त्यतिबेला चाउ पोखरा पुग्नुमा यहाँको प्रकृतिमा रमाउनु र हिमाल हेर्नु मुल उद्देश्य थियो ।

तर, पोखरा पुगेपछि त्यहाँको सौन्दर्यबाट लोभिएका चाउको भ्रमणले पोखरालाई काठमाडौंसँग जोड्ने राजमार्ग बन्ने आधार तयार गर्‍यो । २०२२ साल (सन् १९६५)देखि नौबिसे–मुग्लिन–पोखरा सडकका रुपमा चीनले पृथ्वी राजमार्ग बनाउन थाल्यो ।

त्यही क्रममा ‘चाइना कम्पनी’का चिनियाँ प्राविधिक र कामदारहरुको पोखरा आउ–जाउ बाक्लियो र २०३० साल (सन् १९७३)ताका पृथ्वी राजमार्ग उद्घाटन भयो ।

पोखरा भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ (फोटोः Shen Shiwei 沈诗伟)

चीनसँग बिद्रोह (खम्पा विद्रोह) गरेका तिब्बती फौज मुस्ताङ हुँदै बेसीतिर झरेपछि विद्रोहीमध्ये केही पोखराका हेमजा, सिमलचौर र छोरेपाटनमा राखिएको थियो । भूराजनीतिक कारण पनि चासोको ठाउँ बन्दा पोखरा चिनियाँ कुटनीतिज्ञहरुको चलहपल र गतिविधि भइरहने ठाउँ बन्यो ।

चिनियाँ सहयोगमा पोखरालाई केन्द्रमा राखेर सडकदेखि सेती सिँचाइ, जलविद्युत परियोजनादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म बने । २०१७ सालमै प्रधानमन्त्री चाउले गरेको भ्रमणपछि पोखरा धेरै चिनियाँको चासोको ठाउँ बन्दा विस्तारै चिनियाँ पर्यटकको उपस्थिति सुस्त रुपमा बाक्लिंदै गयो । र, २०७६मा कोभिडको महामारी सुरु हुँदासम्म चिनियाँ पर्यटक सबैभन्दा रुचाइएका पर्यटक बनिसकेका थिए ।

तर, अहिले अवस्था धेरै फरक छ । पोखरामा चिनियाँहरू ठूलो संख्यामा पुगिरहेका छैनन् ।   

नियाँस्रिएको पोखरा

हिजोआज पोखराले चिनियाँ पर्यटकको नियाँस्रो मानिरहेको छ ।  सन् २०१९ ताका पोखराको फेवा किनारको पर्यटकीय शहर लेकलाइडका हरेकजसो चोक र गल्लीमा चिनियाँ पर्यटक भेटिन्थे । हाइकिङ, सर्ट ट्रेकिङ, प्याराग्लाइडिङ, बोटिङ र र्‍याफ्टिङ, जीप फ्लाइङमा चिनियाँहरुको उपस्थिति बाक्लिँदै थियो ।

बढ्दो चिनियाँ पर्यटकलाई लक्षित गर्दै पोखरामा चिनियाँ रेष्टुरेन्ट र होटल खुल्दै थिए । चिनियाँ व्यवसायी समेत पोखरामा रेष्टुरेन्ट र कार्गो ब्यापारमा संलग्न भएका थिए ।

पोखरामा चिनियाँ २० भन्दा बढी चिनियाँ रेस्टुरेन्टको व्यापार लोभलाग्दो थियो । होटल र ट्राभल एजेन्सीहरुले चिनियाँ पर्यटकलाई लक्षित गरेर भ्रमण प्याकेजहरु बनाइरहेका थिए ।

सन् २००३ मा कुल सात हजार ५६२ चिनियाँ पर्यटक नेपाल आएका थिए । यो संख्या बढेर २०१९ मा १ लाख ६९ हजार ५४३ जना पुगेको थियो ।

पोखरा विमानस्थलमा एक प्रतियोगिताका लागि चार्टर्ड विमानबाट आएका चिनियाँ पर्यटक ।  फाइल तस्वीर : रासस

सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी संसारभर फैलियो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपालमा करिब एक वर्ष  पर्यटकीय गतिविधिमा रोक लगायो, चीनले पनि आफ्ना नागरिकलाई सन् २०२३ को सुरुवातसम्मै यात्रा प्रतिबन्ध लाग्यो ।

१ चैत २०७९ देखि चिनियाँ नागरिकलाई एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेज बिक्री गर्न खुला भएसँगै पर्यटन क्षेत्रमा केही आशा थियो । तर, सन् २०२३ मा चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो चार महिनामा चीनबाट ३८ हजार २९० जना पर्यटक आएका छन् ।् अप्रिलमा चीनबाट ९ हजार ७५० मात्र पर्यटक आएका छन्  ।  यीमध्ये कति पर्यटक पोखरा पुगे भन्ने तथ्यांक भने उपलब्ध छैन ।

नेपाल भ्रमण गर्ने पर्यटकमा भारत र अमेरिकापछि चीन तेस्रो स्थानमा छ । पोखरामा फाट्टफुट्ट देखिएका चिनियाँ पर्यटकले पनि पहिले झैं खर्च नगरेका व्यवसायीहरु बताउँछन् ।

होटल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी चिनियाँ पर्यटक अझै राम्रोसँग नआएको बताउँछन् । ‘पोखराले चिनियाँ पर्यटकलाई धेरै मिस गरिरहेको छ’, सुवेदी भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय विमानस्थल र सन् २०२० को पर्यटन वर्षलाई लक्षित गरेर होटलमा लगानी पनि थप्यौं, तर हाम्रा प्रमुख पाहुना चिनियाँ भने अझै राम्रोसँग आइसकेका छैनन् ।’

किन आएनन् चिनियाँ ?

सन् २०१० मा पोखरा आएर कृषि र उद्यम गरिरहेका सिचुवान प्रान्तका स्याङ साओ कोभिडपछि चिनियाँ पर्यटकलाई नेपालले आकर्षित गर्न नसकेको बताउँछन् । पोखरा रिठ्ठेपानीमा व्यवसायिक खेती गरिरहेका स्याङको उत्पादन खरिदकर्ता चिनियाँ होटल र रेस्टुरेन्ट थिए । तर, त्यस्ता होटल तथा रेष्टुरेन्टमा माग निकै कम रहेको उनको भनाइ छ ।

‘कोभिडका बेला उता (चीनमा) प्रतिबन्ध नै भयो । नेपाल भ्रमणमा आकर्षित गर्ने गतिविधि धेरै भएनन् र नेपाल आउने पर्यटक पनि अरु देशतिर जान थाले’, पोखरामा सन्देश नामले चिनिने स्याङले भने ।

बढ्दो चिनियाँ पर्यटकलाई लक्षित गरेर व्यवसायी गोपी भट्टराईले लेकसाइडमा  द ओल्ड लान हुवा चाइनिज रेष्टुरेन्ट एन्ड बार खोलेका छन् । तर कोरोना महामारीपछि सोचेजस्तो पर्यटक नआएका कारण व्यवसायमा टिक्न नै समस्या भएको उनको भनाइ छ ।

‘कोभिडपछि पोखरामा चिनियाँ पर्यटकको आवागमन सेलाएकै हो । खचार्लुका हिसाबले पनि चिनियाँ बढी हुन्थे । उनीहरु साहसिक गतिविधिमा रमाउँछन्’, भट्टराईले भने ।

धेरै चिनियाँहरु परिवारसहित पोखरामा बसेको र कोरोना महामारीका बेला चीन फर्किएका भट्टराईले बताए । ‘कोभिडका बेला चिनियाँ पर्यटकलाई काठमाडौं हुँदै उता (चीन) पठाउने प्रबन्ध गरियो, त्यो बेला पो थाहा भयो, पोखरामा त ठूलो संख्यामा पो चिनियाँ रहेछन्’, उनले भने ।

परिवार नै यहाँको संस्कृतिसँग भिजेर बसेका चिनियाँ कोरोना महामारीका बेला फर्केपछि त्यही अनुपातमा पछि नआएको उनको भनाइ छ । ‘पछिल्लो समय केरुङ हुँदै गाडीमा आउन त थालेका छन् तर पर्याप्त छैनन्’, उनले भने ।

पछिल्लो समय पोखरामा पुनःचिनियाँ पर्यटक बढ्न थालेको र चिनियाँहरुले रेस्टुरेन्टसँगै अन्य सामानको व्यापारका लागि अध्ययन गरिरहेका भट्टराई बताउँछन् ।

२०१९ मा १५ करोड ४६ लाख चिनियाँले देशबाहिर भ्रमण गरेकामा सन् २०२३ मा ८ करोड ७० लाखले मात्र भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

यो तथ्यांकले चिनियाँ पर्यटकको संख्यामा अझै पहिलेको स्थितिमा आउन नसकेको देखाउँछ । पोखराका व्यवसायीहरु नेपाल घुम्न आउने चिनियाँ पर्यटक कम्बोडिया, भियतनाम, थाइल्यान्डजस्ता मुलुकतर्फ गइरहेको दाबी गर्छन् ।

पोखराका होटल व्यवसायी श्रीबन्धु ताम्राकार चीन सरकारले नेपाल आउन सक्ने आफ्ना नागरिकलाई अन्य देशतर्फ जान प्रोत्साहन गरेको बताउँछन् ।

‘पूर्वाधारका हिसाबले अरु देश हामीभन्दा अब्बल छन्, यहाँ न सडकको अवस्था राम्रो छ, न हवाई यात्रा सुरक्षित छ’, उनले भने, ‘पर्यटकीय गतिविधिमा सामेल हुँदा सुरक्षाको प्रत्याभूति दिनसमेत हामी असफल छौं भने किन आउँछन् यहाँ चिनियाँ ?’

विश्वकै धेरै जनसंख्या भएकाले चीनको पर्यटक आकर्षित गर्न धेरै मुलुकले योजना बनाइरहेका हुन्छन् । तर नेपाल सरकारले त्यस्तो कुनै प्रयास गरेको छैन । कोभिड महामारीपछि चीनमा नेपाल प्रवर्द्धनका कार्यक्रम भएका छैनन् ।

स्वतःस्फुर्त रुपमा आएका पर्यटक र पर्यटन व्यवसायीको पहलले मात्र नगन्य चिनियाँ पर्यटक आइरहेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चीनबाट आउने पर्यटकको संख्यामा वृद्धि हुने पोखरेलीको आशा थियो । तर उद्घाटन भएको डेढ वर्षमा एकाध चार्टर्ड फ्लाइटबाहेक नियमित उडान हुन सकेका छैनन् ।

पर्यटन क्षेत्रमा चिनियाँलाई खर्च गर्र्ने पर्यटकको रुपमा लिइन्छ, उनीहरु ठूलो समूहमा घुमफिर गर्ने हुनाले चिनियाँ पर्यटकमा व्यवसायीहरु लाभदायक मान्छन् ।

बौद्ध धर्माबलम्बीको बाहुुल्यता भएको देश चीनका धेरै मानिस गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्छन् । पोखराका व्यवसायीहरु भैरहवा र पोखरालाई हवाइ रुटले जोड्न सके यी दुई ठाउँमा पर्यटक आदान प्रदान हुन सक्ने बताउँछन् ।

प्याराग्लाइडिङ गर्न पोखराको मान्द्रेढुङ्गामा आइपुगेका चिनियाँ । फाइल तस्वीर : रासस

चिनियाँ पर्खिरहेको पोखरा

गत वर्ष भदौमा पोखरा महानगरको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीहरूले तिब्बती शहरहरू हुँदै कोरला नाकासम्म भ्रमण गरेका थिए ।   ‘पोखरा–नेपाल पर्यटन प्रवर्द्धन र बिक्री मिसन’ लिएर चीन पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको टोली चिनियाँ शहरहरुमा पुगेर प्रचार गरी हालै फर्किएको छ ।

भ्रमणमा सहभागी व्यवसायी आनन्दराज मुल्मी यस्ता प्रवर्द्धनात्मक कार्यक्रम राज्यका तर्फबाट हुनुपर्ने बताउँछन् ।

‘पोखरालाई केन्द्रमा राखेर गतिविधि र लगानी बढाउन चिनियाँ पक्ष सकारात्मक देखियो’, मुल्मीले भने, ‘उनीहरुले नेपाली सीमा क्षेत्रमा लगानी बढाइरहेका छन्, तर नेपालतर्फ भने चिनियाँ पर्यटक भित्र्याउने कुनै तयारी छैन ।’

पोखराका व्यवसायीहरु नेपाल आएका चिनियाँ पर्यटकले काठमाडौं भन्दा पोखरा बढी रुचाउने बताउँछन् । पोखरामा चिनियाँले पर्यटनसँग जोडिएका सबै क्षेत्रमा एकै पटक बिजनेस दिने गर्छन् ।

चिनियाँ पर्यटक ‘लक्जरी टूर’ र ‘सफ्ट एन्डभेन्चर ट्राभल’ मन पराउँछन् । चिनियाँ हिमाल चढ्न र पदयात्रामा खासै रुची राख्दैनन् । बरु चिल्ला र सफा सडकमा यात्रा गर्ने, ठूलाठूला होटेलमा बस्ने, खाने र रमाउने गरी समूहमा यात्रामा निस्कने गर्छन् ।

पोखरामा चिनियाँ पर्यटकहरुका लागि सबैभन्दा प्यारो प्याराग्लाइडिङ हो । जिपलाइन, हट एयर बलुन, बञ्जी, बोटिङ र साइट सिन, अल्ट्रालाइट,र्‍याफ्टिङ, कायाकिङ जस्ता गतिविधिमा उनीहरु भुलिन्छन् ।

लुम्बिनीको दर्शन र भ्रमणमा पनि चिनियाँ पर्यटक आउँछन् । पछिल्लो समयमा चितवनको जंगल सफारीमा पनि चिनियाँ पर्यटकको आकर्षण बढ्दो छ । फिल्म, रियालिटी सो, सर्ट मुभी लगायत सुटिङका लागि पनि चिनियाँहरु नेपाल आउने गरेका छन् ।

चिनियाँ पर्यटक आकर्षित गर्न उनीहरुको रुची बुझ्नुपर्ने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीकपकराज जोशी बताउँछन् ।

‘नेपालले चिनियाँ पर्यटकबाट लाभ लिन इन्फ्रास्ट्रक्चर र कनेक्टिभिटीलाई बढाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरु के रुचाउँछन्, त्यसअनुसारको पर्यटकीय पूर्वाधार र गतिविधिहरुमा लगानी बढाउनुपर्छ ।’

अस्थिर राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्तिले पनि पर्यटकको आगमन प्रभावित हुने गरेको छ । नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प गयो र त्यसै वर्ष भारतले नाकाबन्दी गर्‍यो । त्यसपछि आएको विश्वव्यापी कोरोना महामारीले त नेपालसँगै संसार नै प्रभावित भयो ।

अहिले पोखरामा चिनियाँ भन्दा भारतीय पर्यटक बढी आउँछन् व्यवसायीहरुका अनुसार चिनियाँहरु भारतीयको तुलनामा धेरै रकम खर्च गर्छन् ।

पर्यटन व्यवसायी तथा होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर पर्यटकीय संरचनाहरु बनेका छन्, तर त्यसको प्रचार प्रसार हुन सकेको छैन ।

‘चिनियाँ पर्यटक तान्ने गरी सरकारले योजना बनाउन सकेन, पोखरा उनीहरुको रोजाइको गन्तव्य भएर पनि हामीले राम्रो प्रवर्द्धनात्मक काम नगर्दा समस्या भयो’, उनले भने ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन अफ नेपाल पोखराका अध्यक्ष नरेश भट्टराई तिब्बत आउने चिनिया पर्यटकलाई नेपाल भित्र्याउने योजना बनाउनुपर्ने बताउँछन् ।

‘चीनका ठूला शहरहरुबाट पोखरामा सिधा उडान हुनुपर्छ, चीनबाट नेपालसम्म आउने सडकमार्गहरु चुस्त बनाउनुपर्छ’, उनी भन्छन्, ‘मानसरोबर र ल्हासा घुम्न आउने चिनियाँ पर्यटकलाई पोखरा ल्याउने वातावरण बनाउन के–के गर्न सकिन्छ भनेर सरकारले काम गर्नुपर्छ ।’

उडान संख्या बढाएर हवाइ भाडा सस्तो बनाउन सके चिनियाँ पर्यटक बढ्ने पोखराका पर्यटन व्यवसायीहरु बताउँछन् ।

चिनियाँ विमान कम्पनीको भाडा महंगो रहेकाले नेपाल गन्तव्य महँगो हुने गरेकाले त्यो एकाधिकार नेपाल वायुसेवा निगममार्फत तोड्नुपर्ने पक्षमा सरकार छ । तर, वायु सेवा निगमले चीनको राजधानी  बेइजिङमा उडान थाल्ने भनिए पनि अझै सुरु भएको छैन ।

अहिले नेपालबाट विभिन्न एयरलाइन्समार्फत चीनको छेन्दु, बेइजिङ, ग्वाङझाउ, ल्हासा, साङ्घाईसहित सहरमा सिधा उडान चलिरहेको छ । एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, हिमालय एयरलाइन्स, सिचुआन एयरलाइन्स र तिब्बत एयरलाइन्सले नेपाल उडान गरिरहेका छन् ।

अहिले नेपाल र चीनबीच नियमितभन्दा ‘चार्टर्ड बेस’ उडान भइरहेका छन् । यस्तो उडान सामान्यभन्दा महँगो हुने भएकाले आम पर्यटक सजिलै आउन सक्दैनन् ।

चीनसँग जोडिएका तातोपानी, रसुवागढी, कोरला, लामबगर लगायत नाकाको स्तरोन्नति गरेर अध्यागमन सुविधालाई सहज ग गरेमा स्थल मार्गबाट पनि चिनियाँ पर्यटक आउने व्यवसायीहरु बताउँछन् । हाल तिब्बतको सिगात्सेसम्म आइपुगेको रेल सेवालाई नेपाली सीमा क्षेत्र केरुङसम्म ल्याउन नेपालतर्फबाट पहल गर्नुपर्ने उनीहरुको भनाइ छ ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराई पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेकाले चीनका ठूला शहरहरुबाट पोखरामा सिधा उडान सुरु गर्नुपर्ने बताउँछन् । ‘विमानस्थल उपयोग हुने वातावरण बनाउन चीनका सम्भाव्य शहरहरुबाट पोखरामा उडान गराउन पहल गर्नुपर्छ ।’

पोखरा शीतल ठाउँ भएकाले भारतका पर्यटक गर्मी छल्न आउने गर्छन् । तर चिनियाँ पर्यटकलाई कुन उद्देश्यले पोखराको महत्व दर्शाउने भन्ने हालसम्म निर्क्योल छैन । ड्रागन बोट रेस, क्रस कन्ट्रीजस्ता गतिविधि चिनियाँ दूतावासको संलग्नतामा सञ्चालन हुने गरे पनि नेपालले ठूला गतिविधि गरेर आकर्षित गर्न सकेको छैन ।

पर्यटन बोर्डका पूर्वसीईओ जोशी नेपालमा छिटो पर्यटकको संख्या बढ्ने स्रोत बजार चीन नै भएकाले सरकारले चिनियाँ पर्यटक लक्षित प्रवर्द्धनात्मक काम थाल्नुपर्ने बताउँछन् ।

‘चीन र्‍यपिड्ली ग्रोथ भएको पर्यटनको स्रोत बजार हो, महामारीपछि नेपालले चीनमा हामी सेवा दिन तयार छौं भन्ने प्रवर्द्धनात्मक सन्देश लिएर गएको छैन’, उनले भने, ‘त्यसैले चीनमा नेपाल घुम्न आह्वान गर्दै केन्द्रीकृत कार्यक्रम लिएर जानुपर्छ ।’

थाइल्याण्डले चिनियाँ पर्यटक बढाउन विभिन्न सुविधा दिने नीतिगत व्यवस्था गरेको उदाहरण दिँदै उनले नेपालले पनि चिनियाँ पर्यटक लक्षित कुनै नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

‘हामीले चीनमा नै पुगेर नेपाल चिनियाँ पर्यटकलाई स्वागत गर्न तयार छ भन्ने सन्देश नदिएसम्म चिनियाँ पर्यटक हामीले मिस गरिरहन्छौं’, उनले भने ।

तस्वीर: सरोज अधिकारी/अनलाइनखबर

पोखराको पदचाप-१

पोखराको पदचाप-२

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?