काठमाडौं । किरण राव निर्देशित बलिउड फिल्म ‘लापता लेडिज’ यस वर्षको सरप्राइज बलिउड हिट हो । १ मार्चमा हलमा रिलिज भएको यो फिल्मसँग न कुनै ठूलो स्टार थिए, न ठूलो प्रोडक्सन हाउसको ठूलो बजेटको फिल्म थियो ।
फिल्मको कथालाई यति रुचाइयो कि कम बजेटको यो फिल्म हलमा हिट सावित भयो । २६ अप्रिलमा नेटफ्ल्क्सिमा रिलिज भएपछि यो फिल्मको लोकप्रियता अझै वृद्धि भयो । दर्शकले फिल्मको निकै प्रशंसा गरे ।
किरण रावको यो फिल्मले यतिबेला ओटीटीमा कीर्तिमान रचेको छ । ‘लापता लेडिज’ले नेटफ्लिक्समा रणवीर कपुर स्टारर ‘एनिमल’लाई पछाडि छाड्दै धेरै हेरिने फिल्म बनेको छ ।
सन्दीप रेड्डी वांगा निर्देशित विवादित ब्लकबस्टर फिल्म ‘एनिमल’ २६ जनवरीमा रिलिज भएको थियो । स्याकनिल्कको एक रिपोर्टअनुसार अहिलेसम्म ‘एनिमल’लाई १३.६ मिलियन पटक हेरिएको छ ।
किरण रावको ‘लापता लेडिज’ले २४ दिनमा १३.८ मिलियन भ्युज प्राप्त गरेको छ । यो फिल्म सन् २०२४ मा नेटफ्लिक्समा धेरै हेरिने दोस्रो हिन्दी फिल्म बनेको छ ।
१३ देखि १९ मेसम्म नेटफ्लिक्समा ‘लापता लेडिज’लाई २.६ मिलियन भ्युज प्राप्त भएको थियो । पछिल्लो साता यो फिल्म नेटफ्ल्क्सिमा धेरै हेरिने पाँचौं गैरअंग्रेजी फिल्म बन्यो । १७ मिलियनभन्दा बढी भ्युजसहित ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ अहिलेसम्म नेटफ्ल्क्सिमा धेरै हेरिने भारतीय फिल्म बनेको छ ।
अजय देवगणको ‘शैतान’ले पनि नेटफ्ल्क्सिमा राम्रै दर्शक पाइरहेको छ । अहिलेसम्म यो फिल्मलाई १३ मिलियन भ्युज मिलेको छ । जुन गतिमा ‘लापता लेडिज’लाई दर्शकको साथ मिलेको छ, यसले फाइटरको कीर्तिमानलाई पनि उछिन्ने अनुमान छ ।
प्रतिक्रिया 4