+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
विचार :

भीडतन्त्र, सञ्जालीय आक्रमण र निरीह समाज

अहिले समाजमा चलिरहेको ‘गेस्टापो टेक्टिस’ लाई बहिष्कार र अन्त्य गर्नुपर्नेछ नत्र नेपाली समाज र राष्ट्रको ह्रासोन्मुख गति कसैले रोक्न सक्ने छैन।

 

केशवमोहन अधिकारी केशवमोहन अधिकारी
२०८१ जेठ २४ गते १४:०२

पछिल्लो एक दशक मात्र संसारभरका सामाजिक सञ्जालमा दृष्टि दौडाउने हो भने एउटै कुराको दबदबा देख्न सकिन्छ, त्यो हो भीडतन्त्र र सञ्जालीय आक्रमण। प्रविधि विकासको महत्वपूर्ण उपलब्धिको रूपमा रहेको सामाजिक सञ्जालमा हिजोआज अरू कुरा कम र गालीविरोध र उग्रता बढी देखिन्छ।

एउटा सभ्य परिधि र तर्कसंगत आलोचनाले बढेको चेतनास्तर र मनोवैज्ञानिक एवं नैतिक शक्तिलाई प्रकट गर्दछ तर हचुवा, अनुमान र अफवाहको पछि लागेर अरूको व्यक्तिगत जीवन, स्वतन्त्रता र अस्तित्वमाथि नै जब प्रहार हुन थाल्छ, हाम्रो विवेक, चेतना र सिकाइप्रति नै प्रश्न गर्नुपर्ने अवस्था आउन थाल्छ।

धेरै टाढा जानुपर्दैन, गएको केही महिनाका घटनाहरूको उदाहरण लिंदा हुन्छ। कलाकार तथा निर्देशक दीपाश्री निरौला र कलाकार उषा रजक नायक राजेश हमालको बारेमा आफ्नो धारणा राख्दा निकै आलोचनाको सिकार हुनुपर्‍यो। उनीहरूले बोलेको कुरा स्वयं राजेश हमाललाई त्यति नमिठो लागेन होला तर उनका शुभचिन्तक भीडलाई त्यसले निकै चिढ्यायो।

राजेश हमाल महानायक हुन् या हैनन् भन्ने प्रश्नमा दीपाश्रीले ब्ल्याक एन्ड ह्वाइट जवाफ नदिएर महानायक कसरी भइन्छ भन्ने खालको प्रश्न गरेकी थिइन् जुन असान्दर्भिक थिएन। उक्त प्रश्न बहसको विषय बन्न सक्थ्यो।

त्यसैगरी उषा रजकले ओभररेटेड कलाकारको रूपमा राजेश हमालको नाम लिएपछि उनी पनि भीडको निशानामा परेकी थिइन्। यी दुवै कलाकारमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भएको थियो।

व्यक्तिगत जीवनसम्म पुगेर टिप्पणी हुँदा सुरक्षामाथि नै भीडबाट खतरा बढ्न थालेपछि उनीहरूले घुमाउरो तरिकाबाट माफी मागेका थिए। यो सब हुँदाहुँदै पनि दु:खको कुरा नै मान्नुपर्छ राजेश हमालबाट भीडलाई सम्झाउने प्रयास भएको थिएन।

उनले आफ्ना शुभचिन्तकलाई सम्बोधन गरी न सम्झाउने प्रयास गरे, न आफ्ना सहकर्मी कलाकारहरूमाथि भएको आक्रमणमा सहानुभूति व्यक्त गरे। बरु उनले अप्रत्यक्ष रूपमा भीडको मनोबल बढाउने नै अभिव्यक्ति दिए जसले उनको भीडतन्त्रप्रतिको विश्वास देखाउँछ।

साक्षरताको कुरा गर्ने हो भने नेपाली समाज अगाडि नै बढेको भन्ने बुझिन्छ। गएको तीन दशकमा शिक्षाको गुणस्तर पनि बढिरहेको देखिन्छ। पहिले जस्तो पढ्न लेख्न नसक्ने वा स्कुल नदेखेका मानिसहरू आजकल निकै कम छन्। तर विडम्बना तथ्यांकमा जे देखिए पनि व्यवहारमा निकै फरक पाइन्छ। शिक्षाको दर बढे पनि चेतना र सोच्ने तरिका निकै नकारात्मक भएको देखिन्छ। अश्लील भाषा, अशिष्ट व्यवहार र फरक विचार राख्नेप्रतिको सामूहिक आक्रमणले सामाजिक सञ्जाल निकै कुरूप हुँदै गइरहेको छ।

यही कुरूपता हरेक मानिसको दिमागमा लेपिंदै गइरहेको सन्दर्भमा मानिसहरूको सोच्ने तरिका, बोल्ने र व्यवहार गर्ने तरिका र आपसी सम्बन्धमा पनि विस्तारै त्यसको प्रभाव पर्न थालेको छ जसको कारण समाज उकालो हैन ओरालो लागिरहेको छ। सामाजिक सञ्जालमा व्याप्त नकारात्मकता र हानिकारक आलोचनात्मक चेतले समाजका हरेक तह र तप्काका मानिसहरूलाई गाँजिरहेको छ।

अहिलेको सन्दर्भमा सामाजिक सञ्जालमा दुईवटा पदावली निकै प्रसिद्ध छन्- मोबोक्रेसी र साइबर बुलिङ। सामाजिक सञ्जालको एउटा विशेषता यो छ कि यहाँ हरपल भीड रहन्छ। अलि फराकिलो रूपसम्म पुग्दा यो साना–साना भीडहरूको ठूलो भीड बन्न पुग्छ।

अर्को कुरा सामाजिक सञ्जाल धेरैभन्दा धेरैको पहुँचमा रहने हुँदा कसैले कसैलाई रोक्न सक्दैन। त्यसो त त्यसको प्रयोग गर्न पाउनु सबैको व्यक्तिगत अधिकारको कुरा पनि हो। यस पक्षबाट हेर्दा सामाजिक सञ्जालमा हरेक किसिमका मान्छेहरू रहन्छन् र ती सबैका आफ्ना आफ्ना रुचि र स्वार्थहरू हुन्छन्।

धेरैभन्दा धेरै मानिस सकारात्मक भन्दा नकारात्मक विचारले छिटो बहकिने जुन ट्रेन्ड छ त्यसले पनि नकारात्मक कुरा सामाजिक सञ्जालमा चाँडै फैलन्छ र मानिसहरू पनि त्यही विश्वास गर्न थाल्छन्। यसको खास कारण पोस्ट कोभिड युगमा आर्थिक संकट, पारिवारिक तनाव, आपसी अविश्वास, ह्रासोन्मुख जीवनशैलीका कारण उत्पन्न तनाव र चिन्तालाई मानिसहरूले आलोचना, निन्दा र कटाक्षको माध्यमबाट व्यक्त गरिरहेका जस्तो देखिन्छ।

सामाजिक सञ्जालमा आजकल आफ्नो विचारसँग असहमत हुनेहरूलाई यसरी गालीगलौज गरिन्छ कि उनीहरूले आलोचना गर्नेहरूको जीवन नै बर्बाद गरिदिएका छन्। घरबार लुटेका छन्। चौपट गरेका छन्।

कुराको गहिराइमा नपुगी र वास्तविकता बुझ्नै नखोजी कसैले भनेको, सुनेको भरमा वा समाचार शीर्षक पढेकै भरमा धारणा बनाउनु र कटु आलोचना गर्दै व्यक्तिगत तवरमा उत्रिनु सामान्य जस्तै बनिसकेको छ। ढिलोचाँडो आफ्नो विचार राखेकै भरमा एक वा अर्को साइबर बुलिङको सिकार बन्नुपर्ने दिन जसको पनि आउन सक्छ।

यही हप्ताको कुरा, कलाकार मदनकृष्ण श्रेष्ठको एउटा धारणा सामाजिक सञ्जालमा आयो। त्यो उनको व्यक्तिगत विचार थियो। उनको विचारमा न कसैलाई उचालेर शिखरमा पुर्‍याइएको थियो न कसैलाई खसालेर पातालमा धसाइएको थियो। तर सञ्जालीय भीडबाट उनीमाथि यति प्रहार हुन थाल्यो कि मह जोडीले नै आफ्नो भनाइप्रति माफी नै माग्नुपर्ने बनाइयो।

सामाजिक सञ्जालमा उनीमाथि यति धेरै अपमानपूर्ण शब्दहरू व्यक्त भए कि एउटा सभ्य समाजमा ती सब पचाउन गाह्रो पर्छ। विडम्बनाको कुरो, एकथरी मान्छेहरूले उनलाई एकोहोरो प्रहार गरिरहँदा पनि कसैले एक शब्द निकालेन। न कलाकार, न पत्रकार, न राजनैतिक दल वा न त नागरिक समाजले नै।

हाम्रो समाज यतिसम्म तन्नम र भूमिकाविहीन देखियो कि एक अग्रज कलाकार त्यस्तो आक्रमण वा बुलिङको सिकार भइरहँदा समेत समाज रमिते बनिरह्यो। त्यति मात्र हैन समाज परिवर्तनको नारा बोकेर आएका युवा सांसद र मन्त्रीहरू त्यसैको साक्षी बनेर बसिरहे।

अन्त्यमा देशले गहना मानेका कलाकारले भयंकर नमिठो हीनभाव र लाचार बन्दै आफ्नो अस्तित्वको लागि माफी माग्न बाध्य भए। माफी मागिसक्दा पनि उनीमाथिको साइबर बुलिङ अझै रोकिएको छैन।

हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौं? हामीले खोजेको परिवर्तन कस्तो हो? हामीले सम्मानपूर्वक आफ्नो जिन्दगी जिउन पाउने कि नपाउने? एक्काइसौं शताब्दीको यो कालखण्डमा कसैलाई नकारात्मक असर नपर्ने गरी आफ्नो विचार राख्न पाउने कि नपाउने?

हामी आफ्नो तर्कसंगत विवेकबाट चल्ने कि अराजक भीडको उत्ताउलो उक्साहटबाट? सत्ता र शक्तिमा हुनेबित्तिकै उनीहरूको विचारलाई आँखा चिम्लेर मान्नुपर्ने हो? आवेग र उत्तेजनामा बरालिएको भीडमा तिरस्कारको आगो झोसेर समाजलाई किन बर्बादीतिर धकेलिंदैछ? हामी सब सच्चिनु जरूरी छ।

गेस्टापो हिटलरको विरोधी तह लगाउने विशेष हतियार थियो। यो खासमा गोप्य प्रहरी दस्ताको नाम हो जसले फरक मत राख्नेहरूलाई चरम यातना दिएर हत्या गर्न भूमिका खेल्यो। अहिले समाजमा चलिरहेको ‘गेस्टापो टेक्टिस’ लाई बहिष्कार र अन्त्य गर्नुपर्नेछ नत्र नेपाली समाज र राष्ट्रको ह्रासोन्मुख गति कसैले रोक्न सक्ने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?