 
																			३० जेठ, काठमाडौं । अब हरेक व्यवसायीले आयातित वस्तु बिक्री गर्न भ्याट बिल काट्दा हार्मोनाइज्ड कोड (एचएस कोड) अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ ।
सरकारले मूल्य अभिवृद्धि कर नियमावली २०५३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नियमावलीको नियम १७ को उपनियम (१) र अनुसूची ५, ५ख र ६ मा समावेश कर बिजकको ढाँचामा नयाँ संशोधनले परिमार्जन गरेको छ ।
नियमावलीको नियम १७ (१)मा संशोधन गर्दै ‘आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएबमोजिमको वस्तुको कम्तीमा सुरुको चार अंकको हार्मोनाइज्ड कोड’ पनि कर बिजकमा खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुरुप परिमार्जित अनुसूचीहरूमा बिक्री गरिने वस्तुहरूको विवरणभन्दा अगाडि नै एचएस कोड उल्लेख गर्नुपर्ने गरी कोलम थपिएको छ । यस्तो अवस्थामा अब कुनै पनि विक्रेताले आयातित वस्तुको बिक्री गरी बिल काट्दा अनिवार्य रूपमा एचएस कोड उल्लेख गर्नुपर्ने हुन्छ ।
वस्तु आयात निर्यात गर्दा त्यो कुन वस्तु हो भनेर जनाउन त्यसलाई अंकसहितको संकेतमा उल्लेख गरिएको हुन्छ, त्यसैलाई हार्मोनाइज्ड (एचएस) कोड भनिन्छ । यो कोडको प्रयोग मूलतः भन्सार प्रयोजनका लागि गरिन्छ र कुन वस्तुमा कति भन्सार लगाउने भन्ने विषय यही कोडको आधारमा तय हुन्छ ।
तर, खासगरी राजस्व छली कम गर्न, तस्करी नियन्त्रण गर्न तथा आयातित वस्तुको ट्र्याकिङ गर्न मूल्य अभिवृद्धि करको बिजकमा पनि एचएस कोड उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था विश्वका विभिन्न मुलुकले गरेका छन् । छिमेकी मुलुक भारतमा पनि यो व्यवस्था छ ।
नेपालले पनि आयातित वस्तुको बिक्री गर्दा काटिने भ्याट बिलमा एचएस कोड उल्लेख गर्नुपर्ने नियम बनाएको हो ।
पुरानो भ्याट बिलको ढाँचाः

नयाँ भ्याट बिलको ढाँचाः

‘आयातकर्ताले कुन सामान कति ल्यायो, कति विक्री गर्यो भन्ने कुरा हेर्न यो व्यवस्था प्रभावकारी हुने देखिएको छ,’ आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलले भने, ‘नक्कली भ्याट बिलको प्रयोग हटाउन तथा तस्करी कम गर्न पनि यो व्यवस्थाले मद्दत गर्ने अपेक्षा गरिएको छ ।’
भ्याटमा दर्ता भएका खुद्रा विक्रेताले समेत एचएस कोडसहितको बिल काट्नुपर्दा यसको परिपालना निकै झन्झटपूर्ण हुने एक चार्टर्ड एकाउन्टेन्टले बताए ।
‘आयातकर्ता, होलसेलरदेखि खुद्रा व्यापारीसम्मले अब आयातित सामान बेच्दा एचएस कोड अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ, आयातकर्ता र ठूला व्यवसायीलाई त यसले कुनै समस्या नहोला तर खुद्रा व्यवसायीलाई भने यसले झन्झट थप्न सक्छ,’ ती सीएले भने, ‘त्यसो हुँदा यसको परिपालनामा ध्यान दिनुपर्छ ।’
विभागका उपमहानिर्देशक पोखरेल भने आयातकर्तादेखि नै बिल काट्दा बिलमा नै एचएस कोड उल्लेख हुने हुनाले खुद्रा व्यापारीले पनि त्यहीअनुसार बिल काट्दै जाने बताउँछन् ।
‘आफूले सामान किन्दा पाएको बिलमा नै एचएस कोड उल्लेख भएको हुन्छ, बिक्री गर्दा पनि त्यही उल्लेख गरे भइहाल्यो, यसले झन्झट बढाउँदैन,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4