+
+
Shares

तेह्रथुमका अर्गानिक उत्पादन अब मिनी मार्केटमा

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार १४ गते ८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको लालीगुराँस नगरपालिकाले किसानको अर्गानिक उत्पादनलाई बजारीकरण गर्न बसन्तपुरमा मिनी मार्केट सञ्चालनमा ल्याएको छ।
  • नगरप्रमुख अर्जुन माबोहाङले किसानले उत्पादन गरेका वस्तु बिक्री नभए नगरपालिकाले समर्थन मूल्यमा खरिद गर्ने प्रतिबद्धता जनाउनुभयो।
  • कृषि उपजको बजार सुनिश्चित गर्न नगरपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

१४ असार, तेह्रथुम । पहाडका किसानका लागि उत्पादन गर्नु जति कठिन छ, त्योभन्दा कठिन उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न छ । यो समस्यालाई समाधान गर्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक उत्पादनलाई बजारीकरणमा जोड दिएको छ ।

त्यसका लागि वडा नं. २, बसन्तपुरमा मिनी मार्केटमा बिक्री गर्ने व्यवस्था मिलाएको छ । यो मिनी मार्केट लालीगुराँस सघन शहरी विकास आयोजना अन्तर्गत निर्माण गरिएको हो ।

लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङकका अनुसार किसानले उत्पादन गरेको वस्तु बिक्री नभए नगरपालिकाले समर्थन मूल्यमा खरिद गर्नेछ । ‘हामीले किसानलाई उत्पादन गर्न मात्रै होइन, उत्पादनको बजार सुनिश्चित गर्न पनि जिम्मेवारी लिएका छौँ’, उनले भने, ‘अब प्रत्येक किसानले कम्तीमा दुईदेखि तीन रोपनी क्षेत्रफलमा अर्गानिक खेती गर्नुपर्ने अवधारणा अघि सारेका छौँ । त्यहाँ उत्पादन हुने सम्पूर्ण कृषि उपजको बजारीकरणमा नगरपालिकाले समन्वय गर्नेछ ।’

किसानको उत्पादनको बजारीकरण सुनिश्चित गर्न चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ । अर्गानिक खेतीलाई प्राथमिकता दिँदै गुणस्तरीय बीउबिजन, आधुनिक कृषि प्रविधि, जैविक मल उत्पादनसम्बन्धी तालिम तथा अनुदानमार्फत आवश्यक कृषि सामग्री उपलब्ध गराउँदै आएको उनले बताए ।

मिनी मार्केट सञ्चालनअघि किसानहरूले उत्पादन बोकेर टाढाका बजार धाउनुपर्ने बाध्यता थियो । उत्पादन बिक्री गर्न यातायात खर्च, समय र श्रम खर्चिनुपर्थ्यो । कतिपय अवस्थामा उत्पादनले उचित मूल्य पाउँदैनथ्यो भने कतिपय उत्पादन बिक्री नहुँदै नष्ट हुने अवस्था पनि थियो । कृषिमा मेहेनत धेरै भए पनि आम्दानी कम हुँदा किसानहरू निराश हुने गरेका थिए ।

लालीगुराँस नगरपालिका–६ का किसान गंगालाल सेनले मिनी मार्केटबाट किसानहरुलाई राहत मिल्ने विश्वास गरेका छन् । ‘हामीले मेहेनत गरेर उत्पादन त ग‍र्‍यौँ, तर बिक्री गर्ने निश्चित ठाउँ थिएन । कहिले उत्पादन बोकेर बजार जानुपर्थ्यो, कहिले उचित मूल्य नै पाइँदैनथ्यो । बजारको सुनिश्चितता नहुँदा किसान उत्पादन बढाउन पनि डराउँथे । मिनी मार्केट सञ्चालनमा आएपछि अब उत्पादन बिक्री हुने आशा छ ।’

मिनी मार्केटमा अर्गानिक अट्टे, बेलकुटीको चामल, जुनेलो, कोदो, फापर, भटमास, सिमी, कालो दाल, कङरङे दाल, विभिन्न सागसब्जी, फलफूल, अचार, बदाम, बोक्रेको चिया, कफी तथा चैते सिस्नुको ढुट्टोलगायत स्थानीय तथा रैथाने उत्पादनहरू बिक्रीका लागि राखिने भएको छ । यी उत्पादन केवल खाद्यान्न मात्र नभई यस क्षेत्रको कृषि संस्कृति, परम्परा र पहिचानका प्रतीक पनि हुन् ।

कृषि उत्पादनसँगै स्थानीय सीप र श्रमलाई पनि मिनी मार्केटले स्थान दिनेछ । स्थानीय स्तरमा उत्पादन गरिएका सिरुपाते खुकुरी, हँसिया, कोदाला, बन्चरोलगायत परम्परागत औजार तथा फरक क्षमता भएका व्यक्तिहरूद्वारा निर्मित हस्तकलाका सामग्रीहरू पनि यहाँ बिक्रीका लागि राखिनेछन् । यसले स्थानीय सीप संरक्षणसँगै आयआर्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ ।

लालीगुराँस नगरपालिकाले सञ्चालन गरिरहेको ‘नगरको खुसी, रैथाने कृषि’ विशेष अनुदान कार्यक्रमअन्तर्गत अर्गानिक कृषि उत्पादनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । कृषि प्राविधिक हिमबहादुर थापाका अनुसार हाल २१ सय भन्दा बढी कृषक अर्गानिक तरकारी तथा फलफूल उत्पादनका लागि सूचीकृत छन् । उनीहरूले उत्पादन गरेका कृषि उपज मिनी मार्केटमार्फत बिक्री–वितरण गरिनेछ ।

नगरपालिकाले उत्पादनसँगै बजारीकरणलाई पनि समान महत्व दिएको उनको भनाइ छ । यस कार्यक्रमअन्तर्गत माटो सुधार, गोठ सुधार, नर्सरीमा आत्मनिर्भर कार्यक्रम, प्लास्टिक पोखरी निर्माण, प्लास्टिक टनेल निर्माण, तरकारी खेती प्रवर्द्धन, अर्गानिक धान उत्पादन तथा अर्गानिक कृषक पाठशाला सञ्चालन हुँदै आएका छन् ।

साथै चार वटा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने कार्यसमेत अघि बढाइएको छ ।

   

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?