 
																						१० असार, काठमाडौं । सरकारले सोमबार मन्त्रिपरिषदको निर्णयबाट नयाँ मुख्यसचिव नियुक्तिको बाटो खोलेको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।
योसँगै हाल प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् भने सरकारलाई तत्कालै नयाँ मुख्यसचिव नियुक्त गर्न परेको अड्चन पनि खुलेको छ ।
सरकारले अनुकलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म केही समय कायममुकायम मुख्यसचिव नियुक्त गरेर राख्ने सम्भावना पनि रहेको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।
अर्याल मुद्दा जितेर फर्किने सम्भावना समेत हुने भएकाले तत्काल नयाँ मुख्यसचिव नियुक्त गर्नकै लागि सरकारले डा. अर्याललाई अतिरिक्त पद नै सिर्जना गरेर व्यवस्थापन गरेको हो । अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएपनि प्रधानमन्त्री कार्यालयमा फर्किएर काम गर्न पाउने छैनन् ।
मुख्यसचिव पद एउटा मात्र भएकाले तत्काल कसैलाई जिम्मेवारी दिँदा मुद्दा जितेर अर्याल फर्किएमा उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने अप्ठेरो पर्न सक्ने सम्भावना यो निर्णयसँगै टरेको छ ।
विगतमा सरकारले मुख्यसचिवलाई जिम्मेवारीविहीन बनाएर नयाँ व्यक्तिलाई जिम्मेवारी दिएको उदाहरण छ । २०६२/६३ को जनआन्दोलन दबाउन भूमिका खेलेको र गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोपमा २८ वैशाख २०६३ मा तत्कालीन मुख्यसचिव लोकमान सिंह कार्की मुख्यसचिव पदबाट हटाइएका थिए ।
प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय योजना आयोगमै मुख्यसचिवस्तरको विशेष पद सिर्जना गरेर कार्कीको मुख्यसचिव पद खोसिएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवलाई निमित्त मुख्य सचिव पद दिइएको थियो ।
कार्कीलाई विशेष पदमा राखेरै २१ जेठ २०६३ मा मुकुन्द शर्मा पौडेल मुख्यसचिव नियुक्त भएका थिए । उनले करिब ४ महिना पद सम्हालेपछि डा. भोजराज घिमिरे मुख्यसचिव बनेका थिए ।
सोमबारको मन्त्रिपरिषदको निर्णयले विशेष दरबन्दी सिर्जना गर्न र नयाँ मुख्यसचिव ल्याउन सत्तारुढ दलरुबीच सहमति भइसकेको संकेत गरेको छ । अब योसँगै मुख्यसचिव बन्न दौड सुरु हुने छ ।
स्वभाविक रुपमा सबै सचिवहरुमध्ये वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त गरिएमा योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पनि निमित्त मुख्यसचिव बन्न सक्छन् । ज्ञवालीले आगामी भदौमा सचिव पदबाट अवकाश पाउने अवस्था रहेकाले उनी मुख्यसचिवका मुख्य दावेदार हुन् ।
तर, मुख्यसचिव पदमा सत्तारुढ दलहरुले अनुकूलका पात्र खोज्ने प्रवृत्ति मौलाएकाले ज्ञवालीले अवसर नपाउने अनुमान सिंहदरबारभित्र लागाइँदैछ । भागबण्डामा मुख्यसचिव पद माओवादीले पाएमा हालका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको सम्भावना छ । सत्तारुढ एमालेले चाहेको अनुसार भए हालका गृह सचिव एकनारायण अर्याल मुख्यसचिव बन्नसक्ने अनुमान छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराई पनि सम्भावित सूचीमा छन् ।
तर, सिंहदरबारमा शक्ति केन्द्र र स्वार्थ समूहहरुले पनि आफूअनुकूलका मुख्य सचिव ल्याउन प्रयास गर्ने भएकाले अन्य सचिवहरु पनि मुख्यसचिव बन्ने सम्भावना टरेको छैन ।
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4