काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रीय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकमा तस्वीर प्रदर्शनी सुरु गरेको छ ।
प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरिएको बैंकले जनाएको छ ।
गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने बैंकले जनाएको छ ।
प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले तस्वीर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए ।
तस्वीर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो,’ उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’
उनले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्वीरहरू भएको बताए ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैंकसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्वीर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताए ।
बैंकका अनुसार प्रदर्शनीमा ६० भन्दा बढी तस्वीर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनु अघि माइतिघरमा रहेका घर भत्काउँदैका तस्वीरदेखि ५० सालतिर काठमाडौँको भरपर्दो यातायातको साधन बिक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्वीर राखिएको छ । साथै २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्वीर पनि देख्न सकिन्छ । भारतले तत्कालीन समयमा २०४५ चैत १० गतेदेखि २०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो ।
त्यसै गरी नेपाल वायुसेवा निगमले २०४३ सालमा खरिद गरेको गण्डकी नामक बोइङ ७५७ मा पहिलो पटक यात्रुहरू अवतरण गर्ने क्रमको ऐतिहासिक तस्बिरसँगै २०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्वीर पनि प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा नबिल बैंकको इतिहास सुरुवाती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैंकको पुरानो कार्यालय भवन र ग्राहकहरूले सेवा लिँदै गरेको देख्न सकिन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4