२२ साउन, काठमाडौं । प्रतिभा माली नेपाली महिला भलिबलकी इतिहासकै एक उत्कृष्ट स्पाइकर हुन् । नेपाली महिला भलिबलको स्तर उकास्न उनको भूमिका अतुलनीय छ । नेपालले दुई पटक सेन्ट्रल जोन र २०१९ मा १३औं सागमा रजत जित्दा मालीको प्रदर्शन अद्भूत थियो ।
तीनै प्रतिभा माली काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगमा नेपालको टोलीमा छैनन् । त्यसको मुख्य कारण हो, । घुँडामा लागेको चोट र चोट निरन्तर बल्झिनु ।
१० माघ २०७६, एनभीए क्लब च्याम्पियनसिपको फाइनलमा न्यू डायमण्डबाट एपीएफविरुद्ध दरशथ रंगशाला भलिबल कभर्डहलमा तेस्रो सेट २२–२० को अवस्थामा थियो । स्पाइक प्रहार गरेकी उनले ल्याण्ड गर्ने क्रममा कोर्टमै ढल्न पुगिन् ।
कोर्टमा एक्कासी सन्नाटा छाएको थियो । प्राथमिक उपचारपछि गहभरी आँशुका साथ स्ट्रेचरमा कोर्ट छाडेकी उनलाई नजिकैको ब्लूक्रस हस्पिटलमा लगिएको थियो । एक्सरेमा नको घुँडाको एसीएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखियो । अनि शल्यक्रिया गर्नु पर्यो ।
१७ दिन अस्पतालमा बिताएपछि घर गइन् । तर रंगशालाको कोर्टमा फर्किन उनलाई ४ सय ३२ दिन लाग्यो ।
लकडाउनको कारण राम्रोसँग उपचार गर्न पाइनन् । नेपाल भलिबल टोलीका पूर्व फिजियोथेरापिष्ट उज्वल डोटेलका अनुसार घुँडा १२०/१२५ डिग्री भन्दा बढी खुम्चिन सकेन । त्यसैले चार महिनामै दोस्रो शल्यक्रिया गर्नुपर्यो ।
उनी कोटमा फर्किनमा संशय थियो । तर प्रतिभाले २०२१ जनवरीमा पोखरामा भएको टाइगर कपबाट भलिबलमा पुनरागमन गरिन् । उनी मैदान फर्किएको खबर सुन्दा शल्यक्रिया गरेका चिकित्सक प्रज्वलमान श्रेष्ठ र रुपेश वैद्यले अचम्म मानेका थिए । ‘उनको घुँडा यसरी बिग्रिएको थियो कि उनी खेल्नसक्ने अवस्था नै थिइन’ फिजियो डोटेल भन्छन् ।
तर प्रतिभाले कोर्टभित्र प्रवेश गरेसँगै कमाल नै गरिन् । उनको स्पाइक यति शक्तिशाली हुन्छ कि त्यसलाई उठाउन मुश्किल पर्छ । घरेलु प्रतियोगितासँगै सिनियर टोलीमा फर्किएकी उनी आफ्नो पुरानै लयमा देखिन थालिसकेकी थिइन् ।
२०२३ मेमा घरेलु कोर्टमै काभा च्यालेन्ज कप प्रतियोगिता आयोजना हुने भयो । अरु खेलाडीसँगै प्रतिभा पनि प्रशिक्षणमा जुटिन् । दुर्भाग्य ! उनको पुरानो चोट बल्झियो ।
तेस्रो पटक शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया र फिजियोपछि पुनः मैदान फर्किने तयारीमा जुटिन् । तर घुँडामा फेरि समस्या देखियो । चिकित्सकले पुनः शल्यक्रिया गर्नुपर्ने बताएका थिए । तर तत्काल शल्यक्रिया गर्दा चीनमा २०२३ सेप्टेम्बरमा हुने १९ औं एसिएन गेम्स (एसियाड) गुम्ने थियो ।
एसियन गेम्स प्रतिभाको सपना थियो । ‘एसियन गेम्स खेल्ने मेरो एकदमै ठूलो रहर थियो । अनि डाक्टरलाई सोधेँ,’ प्रतिभा भन्छिन्, ‘डाक्टरले ठूलो ड्रिम नै हो भने खेल बरु पछि मिलाउँला भन्नुभयो । दुख्दादुख्दै एसियन गेम्स खेलेँ ।’
६ महिनाअघि पोखरामा भएको चौथो टाइगर कपपछि उनी खेल्न नसक्ने अवस्थामा पुगिन् ।
यसरी पटक–पटक शल्यक्रिया गर्नुपर्ला भन्ने प्रतिभाले कहिल्यै कल्पना गरेकी थिइनन् । बरु खेल्न नसकिने हो कि भन्ने डर थियो । तर चौथो पटक शल्यक्रिया गर्नुपर्ने नै भयो ।
यो पटक फिजियोथेरापिष्ट उज्वल डोटेलले शल्यक्रिया गर्ने सर्जन फेर्न सुझाए । प्रतिभा बी एण्ड बीका चिकित्सक नागमणि सिंहलाई भेट्न पुगिन् । किनकी पछिल्लो समय बी एण्ड बीले खेलाडीहरुको उपचारमा नयाँ प्रविधिहरु भित्र्याएको थियो ।
चिकित्सकहरुका अनुसार प्रतिभाको एउटा लिगामेन्ट पातलो भइसकेको थियो, त्यसैले खेलका क्रममा मेनिस्कस च्यातिएर बारम्बार चोट लाग्ने गरेको थियो । यो पटक शल्यक्रिया गर्दा मेनिस्कसलाई थोरै खुर्किएको छ, ताकि रोटेशन नहोस् । ‘घाउ ठिक भइसक्यो, रिकभर समय पाँच महिना राखेका छौं,’ फिजियोथेरापिष्ट डोटेलले भने, ‘अर्को एक/दुई महिनामा उनी खेल्न सक्छिन् ।’
कोर्टमा जानसक्ने अवस्था नभए पनि काभा नेसन्स लिगका सबै खेल हेर्न प्रतिभा रंगशाला पुग्छिन् ।
शनिबार नेपालले भारतमाथि ३–२ को रोचक जित निकाल्दा पनि उनी त्यहीँ थिइन् । ‘हामी खेल्दा जहिले पनि भारतलाई जित्नुपर्छ भनेर खेल्थ्यौं । धेरै वर्षपछि भारतलाई हराउँदा एकदमै खुसी लाग्यो’, प्रतिभाले भनिन्, ‘आफूले कोर्टमा खेलेर जितेजस्तो पक्कै भएन, तर नेपालले जितेकोमा एकदम खुसी लाग्यो ।’
प्रतिभाका अनुसार नेपालले राम्रो गरिरहँदा टिममा आफ्नो अभाव महसुस गर्दिनन् । तर जब टोलीले राम्रो प्रदर्शन गर्न सक्दैन, प्याराफिटमा बसेकी प्रतिभालाई निकै छटपटी हुन्छ । ‘जब प्वाइन्ट्सहरु जान्छ अनि म हुनुपर्ने, म भएको भए यस्तो गर्थें भन्ने सोच आउँदो रहेछ’, कोर्टमा उत्रिएर खेल्नुभन्दा बाहिर बसेर हेर्न निकै गाह्रो भएको अनुभव गरेकी प्रतिभाले भनिन् ।
प्रतिभा सहितका खेलाडी उत्पादनमा भूमिका खेलेका न्यू डायमण्ड मुख्य प्रशिक्षक कुमार राईलाई पनि प्रतिभा जस्तो खेलाडी कोर्ट बाहिर बसेको देख्दा दुःख लाग्छ ।
‘अहिले हरेकले प्रतिभा माली भनेका छन् । यस्तोमा आफूलाई एकदमै दुःख लाग्छ,’ उनले भने, ‘विदेशमै लगेर उपचार गर्नुपर्ने रहेछ भन्ने छुकछुक (पछुतो) लागेको छ ।’
प्रतिक्रिया 4