+

जलबिन्दु : न लक्षण देखिन्छ, न त उपचार हुन्छ

२०८१ साउन  २५ गते १४:०६ २०८१ साउन २५ गते १४:०६
Shares
जलबिन्दु : न लक्षण देखिन्छ, न त उपचार हुन्छ

जलबिन्दु आँखा सम्बन्धित रोग हो । यो रोग लाग्दा न त कुनै पीडा हुन्छ । न त सजिलै पारदर्शीरुपमा समस्या भएको लक्षण देखा पर्छ । लामो समयपछि यही समस्याले आँखाको ज्योति सदाका लागि गुम्न सक्छ ।

लक्षण पनि नदेखिने र आँखाको परीक्षण विना थाहा पनि नहुने कारणले गर्दा यो रोग लाग्नेको संख्या बढ्दो छ ।

विश्वमै अन्धोपन गराउने मोतीबिन्दुपछि दोस्रो प्रमुख कारण जलबिन्दु हो । विश्वमा दुई करोड भन्दा बढी जनसंख्या जलबिन्दु रोगबाट पीडित छन् । मोतीबिन्दुबाट हुने अन्धोपनको उपचार छ । तर दुर्भाग्य जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन ।

के हो जलबिन्दु ?

जलबिन्दुलाई चिकित्सकीय भाषामा ‘ग्लकोमा’ भनिन्छ । आँखा र मस्तिष्कलाई जोड्ने एउटा नसा (स्नायु) हुन्छ । जसलाई ‘अप्टिक नर्भ’ भनिन्छ ।

यसको मद्दतले नै आँखाबाट देखिएको सम्पूर्ण जानकारी मस्तिष्कसम्म पुग्छ । यही स्नायुले गर्दा कुनै पनि वस्तु हामी देख्न सक्छौं ।

सो स्नायुमा कुनै कारणवश खराबी आएमा यो रोग लाग्न सक्छ । जसलाई हामी जलबिन्दु भनेर बुझ्छौं ।

आँखाको नसा (अप्टिक नर्भ) कसरी खराब हुँदै जान्छ ?

आँखाको नसालाई खराब पार्ने प्रमुख तत्व भनेको आँखाभित्रको चाप बढ्नाले हो । शरीरमा रक्तचाप हुन्छ । त्यसलाई नियन्त्रणमा राखे स्वस्थ रहन्छौं भन्ने हामीमध्ये धेरैजसोलाई थाहा छ । तर धेरैलाई आँखाभित्र पनि आफ्नै चाप हुन्छ । र, यो पनि सन्तुलित हुनुपर्छ भन्ने जानकारी नहुन सक्छ ।

आँखाभित्रको चापको मात्रा १० देखि २१ मिलिमिटरको बीचमा हुनुपर्छ । यो भन्दा मात्रा बढ्यो त्यसले आँखाको सो स्नायुलाई थिचेर क्षति पार्न सक्छ ।

आँखाभित्रको चापको सन्तुलन कायम राख्ने काम आँखाभित्र पाइने पानीजस्तै देखिने तरल पदार्थले गर्छ । जसलाई ‘एक्वेयस ह्युमर’ भनिन्छ ।

यसले नै आँखालाई चाहिने सम्पूर्ण पोषण दिन्छ । यी तरल पदार्थ आँखाभित्र निरन्तर २४ सै घण्टा बन्ने र बाहिर निस्कन्छ । जसमा बाधा पुगेमा निरन्तर आँखाभित्र पानी बन्ने र निस्कन पाउँदैन । र, आँखामा पानी जम्न थाल्छ ।

जमेको पानीले आँखामा चाप बढ्न थाल्छ । सो चापले नसालाई थिच्दै गई बिस्तारै बिगार्दै लैजान्छ । आँखाभित्र बढ्दै गएको दबाबले अप्टिक नर्भको पत्रलाई नष्ट गर्न सक्छ ।

आँखामा हुने पानीको सन्तुलन बिग्रिएर स्नायुमा चाप बढ्न गयो भने अन्धोपन निम्तिन सक्ने भएको कारण चलनचल्तीको भाषामा जलबिन्दु भनिएको हो ।

जलबिन्दु लाग्ने कारण

जलबिन्दुलाई दुई भागमा छुट्याइएको छ, विना कारण हुने र कारणसहित हुने जलबिन्दु ।

विना कारण आउने जलबिन्दु

कुनै कारण विना देखिने जलबिन्दु वंशाणुगत हुनसक्छ । परिवारमा कसैलाई पहिला देखिएको छ भने ४० वर्षभन्दा माथिका सन्तानमा हुने उच्च जोखिम रहन्छ ।

वंशाणुगत जलबिन्दु दुई खालको हुन्छ, जुन आँखाको बनावटको हिसाबले देखिन्छ । एउटा साँघुरो आँखामा हुने जलबिन्दु र अर्को खुल्ला आँखामा हुने जलबिन्दु ।

साँघुरो आँखामा पर्ने सबै भाग सानो हुन्छ । यो जलबिन्दु एसियाली मुलुकमा देखिन्छ । किनकि उनीहरूको आँखाको बनावट नै सानो हुन्छ । खुल्ला आँखामा हुने भाग फराकिलो हुन्छ । पश्चिमी देशहरुमा यो समस्या धेरै देखिन्छ ।

यी दुईमध्ये सबैभन्दा बढी खुल्ला आँखामा जलबिन्दु हुन्छ । यसको कुनै लक्षण हुँदैन ।

तर थोरै मानिसमा देखिने साँघुरो आँखामा हुने जलबिन्दु लक्षणसहितको हुन्छ । यसमा एक्कासि आँखा दुख्ने, रातो हुने, चिलाउने, पोल्ने, ठाउँको दुख्ने, बान्ता आउने, राति सुत्न नसक्ने लगायत लक्षण पर्छन् । जुन एक्कासि देखापर्छ । जसको २४ घण्टामा उपचार भएन भने सदाका लागि आँखाको दृष्टि गुम्छ । तर नेपालको सन्दर्भमा साँघुरो आँखाको जलबिन्दु बढी देखिन्छ । विशेषगरी गाउँघरतिर धेरैजसोले एक्कासि साँघुरो आँखाको जलबिन्दुको क्षण देखिए अस्पताल लैजानुको सट्टा धामीझाँक्रीमा लगेर निको नभए पनि बल्ल अस्पताल लैजाने गरेको पाइन्छ । ढिलाइले गर्दा आँखाको ज्योति गुमिसकेको हुन्छ ।

कारणसहित देखिने जलबिन्दु

यो प्रकारमा कुनै आँखा वा स्वास्थ्य समस्याले आँखाको स्नायुमा बाधा पारेर भविष्यमा जलबिन्दु हुनसक्छ ।

जस्तै- उच्च रक्तचाप, आँखामा चोटपटक, आँखाको दृष्टि धमिलो हुने रोग (युभीआईटिस), लामो समयसम्म मायोपिया (नजिकको देख्ने तर टाढाको नदेख्ने रोग, जसमा चस्माको सहारा लिनुपर्छ) भएकाहरूमा पनि आँखामा असर गरी जलबिन्दु हुनसक्छ ।

त्यस्तै, जथाभावी आँखामा औषधिको प्रयोग गरेमा पनि जलबिन्दु हुनसक्छ । जस्तै आँखामा स्टोरोइड औषधिको प्रयोग लामो समयसम्म गर्दा आँखाको स्नायु र पानीको सञ्चालन प्रक्रियामा असन्तुलन ल्याई भविष्यमा अन्धोपन हुनसक्छ ।

कारण सहित हुने जलबिन्दुमा पनि कुनै लक्षण देखिंदैन । र, यो बिस्तारै वर्षौं लगाएर आँखाको दृष्टि घटाउँदै लैजान्छ, आँखाले देख्न छोड्छ ।

लक्षण नै नदेखिए कसरी पत्ता लगाउने ?

जलबिन्दु भए नभएको पत्ता लगाउने एउटै मात्र तरिका हो, आँखाको परीक्षण । आँखाको परीक्षणबाट आँखाको स्नायुको आकारप्रकार, बनावट हेरेर पत्ता लाग्छ ।

माथि उल्लेखित कारण उच्च रक्तचाप, मायोपिया, आँखामा चोटपटक लागेको खण्डमा आँखामा समस्या नभए पनि जलबिन्दुको परीक्षण गराउनुपर्छ ।

त्यस्तै, परिवारमा पहिला कसैलाई जलबिन्दु छ भने पनि अनिवार्य गराउनैपर्छ । यी कारण नभए पनि ४० वर्षको उमेरपछि आँखाको नियमित परीक्षण गराउनुपर्छ । जसमा आँखाको प्रेसर, नसाको अवस्था र दृष्टिको परीक्षण गर्नुपर्छ । जलबिन्दु मात्र होइन, अन्य आँखा सम्बन्धी अन्य जोखिम रोक्न सकिन्छ ।

जलबिन्दु पहिल्याउन चस्मा पसलले सक्दैन

धेरैजसो व्यक्ति आँखामा समस्या आए वा दृष्टि अवस्था थाहा पाउन चस्मा पसलमा जान्छन् । उनीहरुले समस्या देखिए चस्मा परिवर्तन गर्न सिफारिस गर्न सक्छन् । तर जलबिन्दु नै हो भनेर पत्ता लाग्न कठिन हुन्छ ।

तर दक्ष चिकित्सक र जलबिन्दु जाँच्ने उपकरण सहितको सेवा भएको खण्डमा मात्र यसको पहिचान हुनसक्छ ।

उपचार

जलबिन्दु भइसकेपछि उपचार हुन सक्दैन । तर स्नायु त प्रतिशत क्षति भइसकेको छैन भने तत्काल उपचार गरी रोक्न सकिन्छ । ताकि, शतप्रतिशत स्नायुमा क्षति नहोस् र आँखाको दृष्टि नजाओस् ।

यसको उपचारमा जलबिन्दुको गम्भीरता हेरेर लेजर उपचार, आँखाको चापलाई कम गर्ने र स्नायुलाई क्षति हुनबाट रोक्ने औषधि वा शल्यक्रियाबाट यसलाई जहाँ पुगेको छ त्यहीं रोक्न सकिन्छ ।

आँखाको समस्या जलबिन्दु डा. बेन लिम्बू
डा. बेन लिम्बू
लेखक
डा. बेन लिम्बू
नेत्ररोग विशेषज्ञ तथा अकुलोप्लास्टी सर्जन

डा. लिम्बू काठमाडौंको ग्लोबल आई सेन्टरका संस्थापक हुन् । उनको नेपाल मेडिल काउन्सिल दर्ता नम्बर ४४०१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?