कहिलेकाहीं अनुहारको कुनै भागमा दुखाइ हुँदा खासै चासो दिइँदैन । जुन एक-दुई दिनपछि आफैं हराएर जान्छ । तर बारम्बार अनुहारका भागहरू दुख्न थाले भने पक्कै केही समस्या छ भने बुझ्नुपर्छ ।
अनुहारको एक छेउमा सहन नसक्ने गरी दुख्ने, बिजुलीको झट्का हानेको जस्तो हुने र दाँतमा पनि पीडा हुने जस्ता लक्षण ट्राइजेमिनल न्युराल्जियाको हुनसक्छ । जसको समयमै पहिचान र उपचार नभए अवस्था गम्भीर हुनसक्छ ।
के हो ट्राइजेमिनल न्युराल्जिया ?
ट्राइजेमिनल न्युराल्जिया स्नायुसम्बन्धी समस्या हो । मस्तिष्कमा हुने १२ जोडी स्नायु (क्रेनिएल नर्भ) मध्ये पाँचौं नम्बरको स्नायुलाई वा ट्राइजेमिनल नर्भ (स्नायु) भनिन्छ । ट्राइजेमिनल नर्भमा कुनै किसिमको दबाब वा अवरोध आएमा अनुहारको एक भागमा चरम दुखाइ हुन्छ । जसलाई ट्राइजेमिनल न्युराल्जिया भनिन्छ ।
एक भागमा अत्यधिक दुखाइ बाहेक करेन्ट लागेको जस्तो झट्का र झिल्का हान्ने जस्तो अनुभव हुनु यसका प्रमुख लक्षण हुन् । ट्राइजेमिनल न्युराल्जिया थोरैमा देखिने तर धेरै सताउने रोग भनेर चिनिन्छ ।
कारण
ट्राइजेमिनल न्युराल्जिया हुनुको स्पष्ट कारण अझसम्म विज्ञानले पत्ता लगाइसकेको छैन । कुनै दुर्घटना, दाँतको उपचारको क्रममा चोटपटक, अनुहारको टयुमरका कारण ट्राइजेमिनल न्युराल्जिया वरपरको रक्तनलीलाई उक्साहट गरी प्रभावित भाग सुन्निन थाल्छ । जसले स्नायुमा दबाब दिई यो समस्या हुन सक्ने विज्ञहरुको प्रबल अनुमान छ ।
त्यस्तै, उच्च रक्तचाप, कोलेस्टेरोल, अनियन्त्रित मधुमेह, रक्तनलीहरु कुनै कारणवश कडा भएमा पनि यो समस्या हुन सक्ने जोखिम हुन्छ ।
कुन उमेर समूहमा जोखिम बढी ?
अहिलेसम्मको तथ्यांक हेर्दा जो वृद्ध व्यक्तिहरूमा यो समस्या बढी देखिन्छ । वृद्धको तुलनामा युवामा कमै मात्रामा हुने गर्छ । युवामा पनि बढी महिलामा यो समस्या देखिन्छ । महिलामा किन देखिन्छ भन्ने ठोस निष्कर्ष पनि अहिलेसम्म पत्ता लागिसकेको छैन ।
के कस्ता लक्षण देखिन्छ ?
– अनुहारको एकापट्टिको भाग एक्कासि दुख्नु, करेन्ट लागेको जस्तो झट्का आउनु, पोलेको जस्तो अनुभव हुनु र झमझमाउनु ।
– बेलाबेला झट्का हाने जस्तो हुनु, अलि अलि दुख्नु र उक्त प्रक्रिया पटक-पटक दोहोरिनु ।
– अनुहार अत्यधिक चिसो र तातोले छुँदा, दाँत माझ्दा, दाह्री काट्दा वा खानेकुरा खाँदा पनि दुखाइ बढ्नु ।
यो समस्याले कुन–कुन भागमा असर गर्छ ?
ट्राइजेमिनल स्नायुको आँखामाथि, माथिल्लो बंगारा र तल्लो बंगारामा गरी तीनवटा हुन्छन् । यो समस्या हुँदा तीनवटै भागमा दुखाइ अनुभव हुन्छ । रक्तनलीले स्नायुमा दबाब दिएपछि सो स्नायु ढाकेको माथिल्लो तहमा असर गर्दा दुखाइ थप बढ्छ ।
पहिचान
यो समस्याको पहिचान लक्षण हेरेरै पनि यकिन गर्न सकिन्छ । तर यो समस्याले अनुहारको अन्य कुन भागमा असर गरेको छ भनेर हेर्न नर्भ कन्डक्सन टेस्ट (स्नायुमा सञ्चार परीक्षण), एमआरआई र सिटी स्क्यान प्रभावकारी हुन्छ ।
उपचार
यो समस्याको ठोस उपचारपछि निको हुन्छ भन्ने हुँदैन, मात्र यसको दुखाइ व्यवस्थापन हुनसक्छ । दुखाइको व्यवस्थापनका लागि केही औषधि छन् । न्युराल्जियाको कारणले दुखेको भाग लठ्ठाएर दुखाइ कम गरिन्छ ।
त्यस बाहेक सो नसालाई बन्द गर्ने शल्यक्रिया उपचार विधि पनि छन् । जुन अवस्था हेरेर गर्ने वा नगर्ने तय गरिन्छ । निकै कम व्यक्तिमा यसको शल्यक्रिया विधि अपनाइन्छ । जुन त्यति अभ्यासमा आएको देखिंदैन ।
त्यस्तै, यो समस्याबाट प्रभावित व्यक्तिमा अकुपञ्चर विधिले निकै प्रभावकारी नतिजा देखाएको छ । यो रोगको व्यवस्थापन भनेको दुखाइ कम गर्नु हो ।
अकुपन्चर थेरापीको क्रममा सियोको माध्यमबाट इन्डोरफिन हर्मोनको रिलिज गराउँछ । इन्डोरफिन हर्मोनले प्राकृतिक तवरमा पेन किलर (पीडानाशक) को काम गर्छ । जसले गर्दा दुखाइ बिस्तारै कम हुन्छ । न्युराल्जियाको समस्या मात्र होइन, अकुपञ्चर थेरापीले शरीरमा हुने अन्य किसिमको दुखाइजन्य समस्या पनि कम गर्छ ।
अकुपञ्चरसँगै ध्यान तथा प्राणायामले पनि ट्राइजेमिनल न्युराल्जियाको समस्या भएकाहरूमा फाइदाजनक नतिजा दिन्छ ।
प्रतिक्रिया 4