कोलोनोस्कोप एक प्रकारको मेडिकल उपकरण हो । यसको प्रयोग गरी ठूलो आन्द्राको तल्लो भागको निरीक्षण, विश्लेषण गर्ने प्रविधिलाई कोलोनोस्कोपी भनिन्छ । यसकै मद्दतले ठूलो आन्द्राको बनावट, अवस्था, रोग, उपचार र रोकथामबारे प्राप्त हुन्छ ।
यो परीक्षणको क्रममा मलद्वारदेखि मलाशय, सिग्मोइड तथा ठूलो आन्द्राको तल्लो भागको समेत परीक्षण गरिन्छ । जसले यहाँ मासु पलाएकोदेखि क्यान्सरसम्म पत्ता लगाउन मद्दत गर्छ ।
यो उपकरण कस्तो हुन्छ ?
कोलोनोस्कोपीको क्रममा कोलोनोस्कोप नामक प्रकाश जडित लामो र लचिलो ट्युबको प्रयोग गरिन्छ । जुन मलद्वारबाट छिराएर ठूलो आन्द्राको तल्लो भागसम्म परीक्षण गरिन्छ । सो कोलोनोस्कोप ट्युबमा एक क्यामरा र एक उज्यालो प्रकाश छिर्ने बत्ती पनि जडान हुन्छ । जसले गर्दा आन्द्राको भाग प्रकाशको सहायताले क्यामरामा देख्न सकिन्छ ।
कुन समयमा यो परीक्षणको आवश्यक पर्छ ?
पेटमा समस्या
लगातार पेट दुखेको छ तर कारण पत्ता लागेन भने ठूलो आन्द्रामा समस्या हो कि भनेर हेर्न कोलोनोस्कोपी गरिन्छ । त्यस्तै, विना कारण तौल घटिरहे वा दिसामा रगत देखिएको खण्डमा पनि कोलोनोस्कोपी लगाई आन्द्रामा समस्या भए नभएको हेरिन्छ । कब्जियत र पातलो दिसा भइरहने व्यक्तिमा पनि यो परिक्षण गरिन्छ ।
कतिपय अवस्थामा शरीरबाट रगत गइरहेको छ भने आन्द्रामा रक्तस्राव भएको हो कि भनेर हेर्न कोलोनोस्कोपी गरिन्छ ।
क्यान्सरको पारिवारिक इतिहास
परिवारमा कसैलाई आन्द्राको क्यान्सर भइसकेको छ भने अन्य सदस्यलाई पनि सो क्यान्सर नहोला भन्न सकिन्न । त्यसैले यो जोखिम आउन नदिन वर्षमा एक पटक अनिवार्य कोलोनोस्कोपी गर्नुपर्छ ।
क्यान्सर पत्ता लगाउन
ठूलो आन्द्राको क्यान्सर पत्ता लगाउन कोलोनोस्कोपी एक महत्त्वपूर्ण उपकरण हो । यसले क्यान्सर भएको र शंकास्पद देखिएको पनि बेलैमा पत्ता लगाउन मद्दत गर्छ । किनकि कोलोनोस्कोपीकै बेला मासु जाँचका लागि बायोप्सी निकाल्न सकिन्छ ।
क्यान्सरको निगरानी
जो व्यक्तिलाई पहिला नै ठूलो आन्द्राको क्यान्सर भइसकेको वा केही प्रकारको असामान्य मासु पलाएको छ भने त्यो मासुको अवलोकन गरी फैलावट र असर हेर्न पटक-पटक कोलोनोस्कोपी गर्नुपर्ने हुनसक्छ ।
ठूलो आन्द्रामा भएको मासु पत्ता लगाउन र हटाउन
कोलोनोस्कोपीले ठूलो आन्द्रामा रहेको मासु पत्ता लगाउने मात्र होइन, हटाउने काम पनि गर्छ । मासुको डल्ला पहिचान सहित हटाउनु परेमा पनि स्क्रिनिङ र थेराप्युटिक कोलोनोस्कोपी भन्ने गरिन्छ ।
ठूलो आन्द्रामा असामान्य रुपमा पलाएको कतिपय मासुको डल्लाले पछि क्यान्सरको रुप लिन सक्छ । सो डल्ला क्यान्सरको जस्तो शंकास्पद देखिए कोलोनोस्कोपी गरिरहेकै अवस्थामा हटाउन सकिन्छ ।
शल्यक्रियापछिको निगरानी
ठूलो आन्द्रासम्बन्धी शल्यक्रिया गरिएको छ भने पनि उचित उपचारको सुनिश्चित गर्न र कुनै समस्या आएमा निगरानी राख्न कोलोनोस्कोपीको आवश्यकता हुनसक्छ । जुन चिकित्सकले अवस्था हेरेर परीक्षणका लागि बोलाउन सक्छन् ।
४५ वर्षको उमेरपछि अनिवार्य जाँच आवश्यक
आन्द्रामा कति खेर समस्या हुन्छ भन्न सकिंदैन । उमेर बढेसँगै पहिलाको जस्तो कार्य शक्ति ठूलो आन्द्राको रहँदैन । त्यसैले आन्द्रामा समस्या भए नभएको पत्ता लगाउन ४५ वर्षको उमेरपछि १० वर्षको अन्तरमा अनिवार्य कोलोनोस्कोपी गराउनु उचित हुन्छ ।
युरोप तथा अमेरिकी देशहरूमा ४५ वर्षपछि यो परीक्षण अनिवार्य गरेको छ । अमेरिकन सोसाइटी अफ क्यान्सरले पनि ठूलो आन्द्राको जोखिमबाट बच्न ४५ वर्षपछि परीक्षण अनिवार्य गर्न अमेरिकन सोसाइटी अफ क्यान्सरले समेत सुझाएको छ ।
तर नेपालमा भने जब कुनै रोग पत्ता लाग्दैन तर व्यथाले च्यापिरहेको अवस्थामा बल्ल कोलोनोस्कोपी गरिन्छ । जसकारण पहिचान र उपचार नै ढिला तथा जटिल बन्न सक्छ । नियमित रुटिनमा पिसाब, दिसा तथा रगत परीक्षण जस्तै नेपालमा पनि ४५ वर्ष उमेर पार गरेकाहरूका लागि नियमित चेकजाँचमै राख्न आवश्यक रहेको छ ।
कोलोनोस्कोपी गर्नुअघि ध्यान दिनुपर्ने कुरा
– कोलोनोस्कोपी गर्नुअघि गर्भावस्था, फोक्सो, मुटुसम्बन्धी समस्या, रक्तस्राव रोगहरू तथा कुनै पनि औषधिको लागि एलर्जी भए पहिला नै चिकित्सकलाई बताउनुपर्छ, ताकि कोलोनोस्कोपी गर्न मिल्ने अवस्था र सावधानी बेलैमा अपनाउन सकियोस् ।
– कोलोनोस्कोपी गर्नुअघि चिकित्सकले केही नखान सुझाउँछन् । किनकि यो परीक्षणको दौरान आन्द्रा सफा हुनुपर्छ । अनि मात्र अपेक्षा गरिएको भाग स्पष्ट रूपमा देख्न सकिन्छ । यदि अधिक खानेकुराका कारण दिसा रहेको पाइएमा त्यो दिन कोलोनोस्कोपी गर्न सम्भव हुँदैन ।
– कोलोनोस्कोपी गर्न जानुअघि अस्पतालको गाउन लगाउन दिइन्छ । यो गाउन लगाउँदा परीक्षणमा सहज हुन्छ ।
कोलोनोस्कोपी कसले गर्छ ?
ग्यास्ट्रोएन्टेरोलोजिस्ट (पाचन प्रणाली विशेषज्ञ) वा कोलोरेक्टल सर्जन (पाचन नली विषयक शल्यचिकित्सक) दुवैले कोलोनोस्कोपी गर्न सक्छन् ।
कोलोनोस्कोपी गर्दा
जब परीक्षण गर्ने कोठामा पुगिन्छ, तब स्ट्रेचर वा बेडमा एक साइडमा ढल्काएर सुताइन्छ । त्यसपछि मलद्वारबाट बिस्तारै कोलोनोस्कोप छिराएर ठूलो आन्द्राको तल्लो भागसम्मको अवस्था विश्लेषण गरिन्छ ।
कोलोनोस्कोपी गर्ने बेला आन्द्रा फुलाउन कार्बनडाइअक्साइड ग्याँस प्रयोग गरिन्छ । जसले गर्दा थोरै ग्यास भरिएको जस्तो अनुभव हुनसक्छ । यो परीक्षण गराउन १५ देखि ३० मिनेट लाग्छ ।
कतिको दुखाइ हुन्छ ?
कोलोनोस्कोपी परीक्षण गर्दा दुखाइ नहोस् भनेर मलद्वारको भाग लट्ठाइएको हुन्छ । तर कार्बोनडाइअक्साइडका कारण पेट फुलेको जस्तो अनुभव हुनसक्छ । कोलोनोस्कोपीको नली छिराउँदा सुरुमा असहज पनि हुनसक्छ ।
साइड–इफेक्ट केही हुन्छ ?
कोलोनोस्कोपी सुरक्षित विधि हो । यसको साइड-इफेक्ट दुर्लभ हुन्छ । केहीलाई यो परीक्षण सकिएपछि हल्का टाउको दुख्ने, थकान महसुस हुने र रिंगटा लागे जस्तो हुनसक्छ । जुन केही क्षणमै निको हुन्छ । तर कतिपयलाई कोलोनोस्कोपीको परीक्षणपछि आन्द्राको भित्तामा हल्का घाउ हुने, प्वाल पर्ने, संक्रमण र रक्तस्राव हुनसक्छ ।
कति बेला रिपोर्ट आउँछ ?
कोलोनोस्कोपी गरेपछि रिपोर्ट आउन धेरै समय लाग्दैन । परीक्षणको केही समयमै नतिजा आउँछ । तर केही शंकास्पद देखिएमा सम्बन्धित चिकित्सकको टिमले विश्लेषण गर्नुपर्ने हुनसक्छ । ज कारण केही समय लाग्न सक्छ ।
कति लाग्छ शुल्क ?
कोलोनोस्कोपी परीक्षणको शुल्क चारदेखि पाँच हजारसम्म लाग्न सक्छ । यद्यपि, सरकारी तथा निजी अस्पतालले आ–आफ्नै ढंगले शुल्क तोकेका हुन्छन् ।
प्रतिक्रिया 4