 
																			मिति ठ्याक्कै याद भएन। यस्तै २०५४/५५ सालतिर हुनुपर्छ। म भर्खर निमावि तहमा पढ्दैथिएँ। साइनोले नजिकका दाइ सुवासले पाखो बारी बेचेर विदेश जान पाए हुन्थ्यो भनेको अहिले पनि सम्झन्छु। त्यो जग्गा त्यतिबेला मूल्यहीन थियो किनकि त्यसलाई पुराना आवादमा बस्नेहरूले भष्मे भन्थे।
मैले कच्चा दिमागले भनेको थिएँ- ‘दाइ जग्गा-जमिन जस्तो भौतिक सम्पत्ति बेचेर विदेश जानुहुन्न।’ म सके विदेश नजाऊ, जानै परे पनि घरजग्गा बेचेर नजाऊ भन्थें। म फुच्चेले त्यसो भन्दा अलिक पौढ उमेरका दाइ नमज्जाले बिच्किएका थिए।
त्यसको केही वसन्तपछि दाइ विदेश (मलेसिया) गए अरे भन्ने सुनें। त्यतिबेला दाइको स्थायी बसाइ पाँचथरमा थियो। म घरको दुःखहरूसँग पौंठेजोरी खेल्दै अध्ययनलाई निरन्तरता दिइरहें। मनमा कट्टर अठोट थियो- स्वदेशमै केही गर्छु।
त्यतिबेला नेपालको पश्चिम भेगहरूमा माओवादीले देशमा परिवर्तन गर्ने भन्दै विद्रोह उठाइरहेको थियो। म अध्ययन र नियमित रेडियो सुन्थें। यदाकदा सबै नबुझे पनि यस्ता कुराहरू थाहा पाउँथें। अनि मलाई झन् देशमै केही गर्छु भन्ने रहर र जोश दुवै बढेर आउँथ्यो।
दुःख गरेरै मैले २०५७ सालमा कन्काई मावि दानाबारी, इलामबाट एसएलसी पास गरें। २०६१ सालमा काठमाडौंको आरआर क्याम्पसबाट आइए सकें। लक्षित उद्देश्यले पढाइको गति खोजे पनि घरको समस्या र बाध्यताले अर्कै मोड लिएपछि म विवाह बन्धनमा बाँधिएँ। विगत सात वर्षदेखिको हाम्रो प्रेमलाई विवाहमा परिणत गर्न पाउँदा एकातिर खुशी भए पनि अर्कोतिर नसोचेको जिम्मेवारीले थिचेपछि हामी एकदम अत्तालियौं।
मैले स्थानीय विद्यालयहरूमा एकदम न्यून तलबमा पनि केही समय काम गरें। तर त्यसले पनि दैनिक नुन-भुटुन बाहेक अरू थेग्ने अवस्था भएन। दुःखहरूसँगै नानीहरूको भविष्यको पनि चिन्ता बढ्न थाल्यो। मौका पर्दा दिनभरि पनि सुत्ने मान्छे, मेरा कैयौं रातहरू अनिंदो बित्न थाले।
अन्ततः मैले सधैं नकार्ने गरेको एउटा गन्तव्य मुग्लान (गाउँ घरमा अरबे भन्छन्) तिर लाग्ने योजना बनाएँ। सायद यो २०६३ सालको अन्तिमतिरको कुरा हो। यतिबेलासम्म देशमा परिवर्तन गर्छु भनेर नेपालको पश्चिमबाट उदाएको माओवादी देशव्यापी भई सरकारसँग वार्ता गरेर शहर पसिसकेको अवस्था थियो।
अब विदेश नगई नहुने नै भएपछि आफ्ना आफन्तहरूलाई हारगुहार गरी सरसापट गरेर काठमाडौंमा चिनेको एक जना म्यानपावर व्यवसायी दाइ पाँचथरका फौदसिं केरूङलाई ८५ हजार रुपैयाँ बुझाएर मासिक १५ हजार रुपैयाँ कमाउने शर्तमा मलेसिया उडें। यो सन् २००७ को सुरुतिरको कुरा हो ।
जिन्दगीको केही थान कलिला सपना खरिद गर्न नेपाल एअरलाइन्सको पुरानो हवाईजहाज चढेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुरको लागि उड्दा मसँग मनमा धेरै कुरा थियो।
भर्खर पापा मामु चिन्दै गरेको छोरा, पेटमा हुर्किंदै गरेकी छोरी, पहाडको एकान्तमा एक्लै छोडेर हिंडेको जीवनमा सधैं माया गर्ने प्यारो मान्छे, आमा आपा, बहिनी अनि गाउँघर सम्झिंदै भक्कानिंदै सम्हालिंदै म पहिलोपल्ट अर्काको देश पुगें ।
हिंड्ने बेला अलि अलि घरका ऋण तिरेर डेढ सय हात्तीका नोट कमाएँ भने फर्किन्छु, अनि फेरि अधुरो अध्ययनलाई निरन्तरता दिन्छु भन्ने थियो। घरमा पनि सोही सल्लाह गरेर हिंडेको थिएँ। तर जिन्दगी आफूले सोचे जस्तो लयमा मात्रै पनि त नहिंड्दो रहेछ। म डेढ लाख कमाएर फर्किने योजनामा हिंडेको मान्छे झन्नै झन्नै पुग नपुग डेढ दशक उतै अल्झिबसें। भनौं सपनाले अल्झाइरह्यो ।
यो बीचमा राम्रै नभए पनि कमाइ खराब भएन। केही समयमा ऋणमुक्त भएँ। तर फेरि स्वदेश फर्केर अध्ययन गर्न अलिक ढिला भैसकेको महसुस भयो। फेरि आफैं कार्यरत संस्थामा अवसरहरू सृजना हुँदै गए।
आर्थिक हिसाबले पनि ठिकै जिन्दगी चल्न थालेपछि घर आउँदै-जाँदै गर्न थालें। म यही प्रक्रियामा चलिरहें। कम्पनीले पनि हामी पुराना स्टाफहरूलाई राम्रै अवसरहरू प्रदान गरेको थियो। नत्र म नेपालमा मानविकी शास्त्रमा पत्रकारिता पढेको मान्छे, मेकानिकल फिल्डमा सिनियर प्राविधिकसम्म हुने अवसर कसरी पाइन्थ्यो !
जिन्दगीको आर्थिक पाटो फेरिए पनि स्वदेशमै फर्केर केही गर्ने रहर मरिसकेको थिएन। त्यसो त विदेशमै बसेर नेपालको पहिलो संविधानसभाको चुनावमा माओवादी पार्टीलाई जिताउन सकेको पहल र कोसिस गरियो। जसको साक्षी पाँचथरका समाजसेवी बलबहादुर गुरूङ र श्रमिक अगुवा मिडिया व्यवसायी रमेश तुफान सरहरू हुनुहुन्छ।
विगतमा आफ्नो आस्था फरक भए पनि लामो सशस्त्र द्वन्द्व गरेर आएको दल माओवादीप्रति देशमा आमूल परिवर्तन गर्ला भनेर अलिक बढी नै विश्वास गरिएछ भन्ने कुरा अहिले महसुस हुँदैछ। आफ्नो घर परिवारको सबै सदस्यहरूलाई फोन गरें। अहिले जस्तो इन्टरनेटको सुविधा थिएन। अरूलाई पनि फोनमा रिचार्ज गरिंदिंदै कल गर्न लगाएर माओवादीलाई भोट माग्ने कामसम्म गरियो। त्यसरी जिताएर पठाएको दल र त्यसका नेताहरूले पनि के गरे के गरेनन्, सबै हाम्रैसामु छर्लङ्ग छ।
एवम् रीतले जिन्दगी चलिरहेको थियो। विदेश बसाइ लम्बिएसँगै स्वदेशमा ठेगाना परिवर्तन हुँदै थियो। म साविक लक्ष्मीपुर-५ इलामको मान्छे, पछि साविक चुलाचुली-५, इलामको नागरिक बन्न आइपुगें। कथाहरू यसरी अघि बढिरहेको थियो।
चुलाचुलीका केही साथीहरू विशेष गरी देवेन्द्र पौडेल (जोसँग मलेसियामै चिनजान भएको थियो) सँग चुलाचुलीमा एउटा स्थानीय मिडिया सञ्चालन गर्ने सपना देखिरहेका थियौं। त्यो छापा, रेडियो, अनलाइन के हुनसक्छ भनेर बुझिरहेका थियौं। त्यतिबेला हामी विदेशमै थियौं।
केही समयको अन्तरालमा पौडेलजीले वैदेशिक जीवन त्यागेर स्वदेश फर्किनुभो। म पनि अब चाहिं स्वदेशमै केही गर्ने भनेर नेपाल फर्किएँ। यो समय नेपालमा २० वर्षपछि स्थानीय निर्वाचन हुँदै गर्दाको हो।
फर्केर तत्काल हामीले केही थालिहाल्न सकेनौं। हामी आ-आफ्नै समस्या केहीमा अल्झियौं। यद्यपि भेटघाट तयारी थालिरहेका थियौं। निकै लामो समयको तयारीपछि चुलाचुली गाउँपालिका केन्द्रित एउटा अनलाइन दर्ता गरेर सञ्चालन सुरू गर्यौं, त्यो अझै सञ्चालनमै छ।
सँगसँगै मैले विदेशमा कमाएर बचाएको केही पैसा र केही ऋण खोजेर एउटा व्यवसाय सुरू गरें। पशुपालन तथा कृषि व्यवसाय, पशुपालन बजारमा चलेको छिटो आम्दानी हुने बंगुरपालनको लागि छनोट गरेर सुरू गरें। तर मेरो दुर्भाग्य भनौं या के, कोरोना कहर आदि कारण सबै व्यवसाय तहसनहस भइरहेको बेला पहिलो पटक उत्पादित पाठापाठीहरू बेच्ने बेला प्राणघातक हैजा स्वाइन फिबरले ३०० भन्दा बढी बंगुर मरे। पछि म नमज्जाले डुबें।
हारगुहारको लागि स्थानीय सरकारदेखि पहुँच भएसम्मको निकायमा पुगेर मैले भनें, ‘म पुनः उठ्न चाहन्छु।’ तर कसैले मेरो कुरा सुनेनन् अथवा सुन्न चाहेनन्। कसैले मेरो क्षतिको पूर्ति त सम्भव थिएन। तर चाहेको भए टेक्ने खुड्किलोसम्म बनाइदिन सक्थे तर कसैले पहल गरेनन्। बीमा पनि समयमा नवीकरण भएन भनेर टारिदिए। जसरी पनि डुब्ने त हामी भुइँमान्छे नै त रहेछौं !
हुन त सुन्दा २०/२५ लाख डुब्नु व्यवसायीको लागि ठूलो रकम त हैन। तर म भर्खर उठ्दै गरेको देशमै केही गर्ने सपना देख्नेको लागि यो निकै ठूलो बज्रपात भइदियो। आखिर देश त हाम्रो लागि हैन रहेछ भनेर मैले त्यतिबेलै थाहा पाएको हो। देश त कुनै अमूक दलहरूको भजन गाउने, चुनावमा चन्दा सहयोग गर्ने, ऋण सहयोग गर्नेहरूकै मात्र त रहेछ! म जस्ता सपना देख्नेहरू त विदेशै हिंड्नुपर्ने रहेछ।
मिडियामा पनि सबै राम्रै कभरेज भइरहेको थियो, चलिरहेको थियो। तर सहयोग कहीं कतैबाट थिएन। स्थानीय सरकारका हर्ताकर्ताहरू मिडियामा सरकारी आर्थिक सहयोग गर्न कन्जुस्याइँ गर्छन्। सहयोग गर्दा पनि आफ्नै गोजीको खर्च हुने झैं गर्छन्। व्यवसायमा डुबिहालें, मिडियाबाट पनि बाँच्ने कुनै अवसर नभए पछि मैले दराजको कुनामा थन्काएर राखेको पुरानो पासपोर्टको धुलो टक्टकाएँ अनि फेरि विदेश उड्ने निर्णय गरें।
यी मेरा कथा आफ्नै मनमा गुम्साएर राखेको थिएँ। तर केही दिन अघि गाउँमै केही गर्न खोजिरहेको, गरिरहेका साथीहरू पनि झोला बोकेर विदेश हिंडेको थाहा पाएपछि मन एकतमासले बेचैन भएर आयो। नेपालमा किन युवाहरूले भविष्य देखिरहेका छैनन् ? किन कक्षा १२ पास गर्नासाथ अधिकांश युवाहरू विदेशको सपना देख्छन् ? यसले देश कता जाला ? अबको एक वा दुई दशकपछिको हाम्रो देशको अवस्था के होला ? सोच्न ढिला भइसकेन र?
म देशमा बसेर पत्रकार बन्ने सपना देख्ने एउटा युवा डेढ दशक पूर्वी एशियाको एउटा देश मलेसियामा बिताउन बाध्य भएँ। अहिले फेरि मध्य पूर्वी एशियाको सानो अरबी देश कतारमा बाँकी सपना खोजिरहेको छु।
यो उर्बर जवानी, जोश देशमा पोख्न पाएको भए यसको जे-जति प्रतिफल देशले पाउने थियो। म जस्तै लाखौं युवा आज विश्वका कुना-कुनासम्म पुगेका छन्। उनीहरूको उर्बर जवानी पराइको मुलुक बनाउनमै सकिइरहेको छ।
म जस्तै धेरै साथीहरू विदेश बसेर आफूले आर्जेको सीप मुलुकमा सदुपयोग गर्न चाहन्छन्। लगानी गरेका छन् तर हामी जस्ता स-साना व्यवसायीहरूको लगानीको सुरक्षा छैन। उत्पादित सामग्रीको बजारको लागि राज्यले सहयोग गर्दैन। अनि युवाहरू विदेश नहिंडेर के गर्ने त? तर राज्यले युवालाई देशमा रोक्ने कुनै नयाँ काम गर्न सकेको छैन नै। बरू कसरी हुन्छ विदेशै जाउन् भन्ने मनसायले नीति निर्माण गरिरहेको छ। अब त हाम्रा सन्ततिहरूले पढ्ने किताबमै वैदेशिक रोजगारीको लागि कोरियन, मले, जापानिज, अरबी भाषा अध्यापन गराए हुन्छ। कमसे कम विदेश गएर सहज रूपमा काम त गर्न सक्छन् ?
नेपालमा सेना, प्रहरीका तल्लो दर्जामा नोकरीको कुनै आकर्षण नै छैन किनकि न्यून तलब छ। एक महिनाको तलबले सामान्य आधारभूत आवश्यकता खरिद गर्न पनि पुग्दैन। सरकारी विद्यालयका शिक्षकहरू आफैंमा खुशी छैनन्। अनि भोको पेटले राष्ट्रियताको सारङ्गी बजाएर को बस्छ नेपाल?
देशमा गठबन्धनको सरकार बनाउने नयाँ खेल खुब चलेको छ। नेताहरू आफू अनुकूल नहुने बित्तिकै सहकार्य टुटाउँदै अर्को-अर्को नयाँ गठबन्धन बनाउन थालिहाल्छन्। तर यो गठबन्धन मात्र नेता र उसका नजिकका मान्छेहरूका लागि फलिफाप भइरहेको छ। देशले त समग्रमा अस्थिरता, अराजकता, महँगी, निराशा बाहेक केही पाएको छैन। त्यसैले त अधिकांश युवा जमातले अहिले देशमा भविष्य देखिरहेका छैनन्। तर म सकारात्मक छु, सोचिरहेको छु चाँडै स्वदेश फर्केर अधुरा रहेका कामहरू अघि बढाउने छु।
भन्छन् नि- जिन्दगीमा ऋण लागे पनि दिन लागेन भने त कसो एकदिन सफल नभइएला र ? सोच्दैछु अहिले मलाई फर्केर नहेर्ने मेरा प्रिय आफन्तहरूलाई पनि त्यति बेलै एकमुष्ट जवाफ दिउँला। दुःखमा सहयोग गर्न हिच्किचाउने आफन्त भन्दा सुखमा जल्ने दुश्मनहरू मलाई प्रिय लाग्न थालेको छ आजभोलि। बस यत्ति!
चुलाचुली-३, इलाम (हालः दोहा, कतार)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4