+
+
Shares

न्युयोर्कमा नेपथ्य, ‘नेपालीभाषी एक भएर बसौं है’ भन्दै अमृतले झुमाए दर्शक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १४:४५

काठमाडौं । हजारौं दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्य’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्न पुगे । धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे- ‘संसारभर फैलिएर रहेका नेपालीभाषी एक भएर बसौं है ।’

अमृतको यो आह्वानसँगै अमेरिकाको श्रृंखलाबद्ध कन्सर्टमध्ये पाँचौं आयोजना पनि न्युयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको छ । विश्वकै केन्द्र मानिने यो सहरमा नेपाली लोकरक ब्यान्डले आफूलाई यसअघि पनि प्रस्तुत गरिसकेको छ ।

यसपटक यो सहरमा नेपथ्य प्रवेश गर्दैगर्दा उत्साही नेपालीको टोली परम्परागत पोसाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए । उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्युयोर्क सहरमा भित्र्याएको थियो । कन्सर्ट शनिबार बेलुकी ९ बजे सुरु भएको थियो ।

‘नेपाली भाषा रहुन्जेल हामी नेपाली रहिरहने छौं,’ अमेरिका बस्दै आएका दर्शकलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषा समेत, नत्र नेपाली भाषा मार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है ।’

कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँगाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्य’ जस्ता प्रस्तुति मार्फत उत्कर्षमा पुर्‍यायो ।

कन्सर्टमा सहभागीमध्ये एक न्युयोर्क विश्वविद्यालयको उडहल अस्पतालमा रेसिडेन्ट डाक्टरको रुपमा कार्यरत समन अर्यालले भने, ‘मञ्चका कलाकारसँगै दर्शकदीर्घाले एकसाथ गाइरहेको देख्दा यो त जीवनमै एकपटक लिनैपर्ने रमाइलो अनुभव जस्तो लाग्यो ।’

यो कन्सर्ट हेर्नकै निम्ति नेपाली साथीको साथ लागेर बंगलादेशी मूलकी २२ वर्षीया विद्यार्थी माया कर्माकर पनि आएकी थिइन् ।

‘संगीतले भाषाको सीमारेखा नाघ्दो रहेछ भन्ने उदाहरण मेरो निम्ति नेपथ्यको आजको प्रस्तुति रह्यो,’ मायाले भनिन्, ‘मञ्चबाट आइरहेको शक्तिशाली प्रभाव, तल दर्शकको एकत्रित ऊर्जा, जताततै प्रशंसक गाइरहेका र नाचिरहेका, मुख्य गायकका बोलीदेखि लिएर हाउभाउसम्म प्रत्येक गतिविधिमा सम्मोहन, पृष्ठभूमिमा बग्दै गरेका नेपालका मनमोहक दृश्यहरूदेखि हलभित्रका चकाचौध बत्तीहरूको प्रयोगले सिंगो परिवेशै गजबको लाग्यो ।’

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘हामीले धेरै कार्यक्रम आयोजना गर्दै आएको भए पनि नेपथ्य चाहिं विशेष रह्यो,’ आयोजक टोलीका थिले थकालीले भने, ‘कन्सर्ट सकिएपछि पनि मलाई असंख्य दर्शकले फोन र मेसेज गर्दै धन्यवाद दिइरहेका छन् ।’

पाँच कन्सर्ट सम्पन्न भएपछि अब छैटौं प्रस्तुतिका लागि नेपथ्य छोटकरीमा डीएमभी (वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनिया) क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ । यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ का दिन ब्यान्ड प्रस्तुत हुँदैछ ।

मेरिल्यान्डपछि पेन्सिलभानियाको ह्यारिसबर्गमा सातौं कन्सर्टसँगै नेपथ्यको यस वर्षको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?