 
																						१७ असोज, काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्ग दशैंअघि खुलाउने प्रयासमा सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ ।
सैनिक उच्च स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको छ ।
त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ ।
‘टोलीमा भौतिक पूर्वाधार मान्त्रालयका ३ जना र नेपाली सेनाका एक जना प्राविधिक थिए’, स्रोतले भन्यो, ‘वैकल्पिक मार्ग बनाउनका लागि समेत विष्फोटक पदार्थ लगायतको प्रयोग गर्नुपर्ने हुनसक्ने भएकाले सेनालाई पनि संलग्न गराएका हौं ।’
बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो । छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए ।
‘स्रोत, साधन नहुँदा प्रभावित क्षेत्रमा जान नसक्ने स्थिति भएकाले उहाँले सेनाको हेलिकोप्टर माग्नुभएको थियो’, मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसक्रममा सडक निर्माणका लागि सेनाको पनि आवश्यकता हुनसक्ने भएकाले तत्काललाई प्राविधिक पनि पठाएका हौं ।’
रक्षा स्रोतका अनुसार, यातायात मन्त्री दाहालसँग भेट भएलगत्तै रक्षामन्त्री राईले प्रधानसेनापति अशोकराज सिग्देलसँग सडक मर्मतबारे छलफल गरेका थिए । ‘अध्ययनका लागि जाँदा एरियल भ्यू हेरेर मात्र भएन, स्थलगत अध्ययन पनि गर्नुपर्यो’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसपछि ५/६ जना बोक्न सक्ने सानो हेलिकोप्टर पठाइएको थियो ।’
रक्षामन्त्री राईले अनलाइनखबरसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा सडक खुलाउनका लागि सम्भाव्यता अध्ययन गर्ने काम भइरहेको बताए ।
‘टोलीमा एक जना सेनाका अधिकारी पनि छन्, टोलीले रिपोर्ट बुझाएपछि कसरी अघि बढ्ने भन्नेबारे यातायात मन्त्रालयबाटै निर्णय हुन्छ’, उनले भने, ‘त्यसक्रममा यातायात मन्त्रीज्यूबाट सेनाको पनि प्रयोग गर्नुपर्छ भन्ने प्रस्ताव आयो भने प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गर्छौं ।’
नेपाली सेनाका एक उच्च अधिकृतले भने विपद्का बेला देशको आवश्यकतामा जतिसुकै बेला सेना खटिन तयार रहेको बताए । ‘सरकारले निर्णय गरे निर्माणमा सहयोग गर्छौं’, उनले भने, ‘अहिले पनि प्राविधिक सहयोग गरिरहेका छौं ।’
नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मा पनि लिएको छ । तीन वटा सुरुङमार्ग समेत भएको द्रुतमार्गको काम अहिले ३६ प्रतिशत सकिएको छ । सेनाले दार्चुला–तिंकर, कर्णाली करिडोरसँगै संखुवासभा र गोरखामा पनि सडक निर्माणको काम गरिरहेको छ ।
शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र बीपी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ । बीपी राजमार्गको काभ्रेको मंगलटार नजिकै सडक नै बगाउँदा सयौं यात्रु बाटोमै अलपत्र परेका थिए । उनीहरुमध्ये थुप्रै पैदल हिँडेर काठमाडौं आएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4