२२ असोज, बार्सिलोना । पाख्रिबास नगरपालिका–६, फलाँटे, धनकुटा थातथलो भएका ६५ वर्षीय हरिप्रसाद वस्ती अहिले बेलायतको लिभरपुलमा छन् ।
विराटनगर महानगरपालिका–४, मोरङमा बस्दै आएका उनलाई आफ्नो जन्मथलो पाख्रिबासको यादले सताइरहेको छ । वर्षौं विछोडिएका आफन्तसँग भेटघाट हुने पर्व दशैंमा उनले जन्मथलोलाई विशेष सम्झिरहेका छन् ।
१५ वर्षदेखि हरिप्रसादका छोरी–ज्वाइँको बसाइ बेलायतमा रहेको छ । नेपाल सरकारको कर्मचारी, जागिर खाउञ्जेल उनलाई बेलायत घुम्ने अनुकूलता मिलेन । असारको तेस्रो हप्ता हरिप्रसाद श्रीमती सहित बेलायत आएका हुन् ।
लामो समयपछि छोरी–ज्वाइँ, नातिनातिनासँग माया साट्न पाएका उनी खुशी पनि छन् । अर्कोतर्फ जन्मिएर थाहा पाएदेखि नेपालमै मनाइरहेको दशैंको उनलाई याद नआउने कुरै भएन ।
‘छोरी–ज्वाइँ परिवारलाई टीका नलगाएको १५ वर्ष भएछ । दशैंको मुखमा नेपाल फर्कने कुरा पनि भएन ।’ हरिप्रसाद भन्छन्, ‘उता नेपालमा ९० वर्षकी माताजी हुनुहुन्छ । म माताकै साथमा बसेको छु । यत्रो वर्ष आमाको हातबाट लगाउँदै आएको टीका यो वर्ष निधार खाली हुने भन्ने चिन्ता पनि छ ।’ अहिले पनि उनको दिनमा चार–पाँच पटक सम्पर्क हुन्छ, आमासित ।
‘आशीर्वाद त दिनहुँ पाएकै छु’, हरिप्रसादले नेपाल सम्झँदै भने, ‘जमरा राखेर नवरात्रमा चण्डी पाठ गरिन्थ्यो, अब यो वर्ष जमरा मात्र हुन्छ तर घरमा चण्डी पाठ नहुने भयो । टीकाको दिन ३ जना हामी दाजुभाइका परिवार आमासँग एकैठाउँमा भेला भएर टीका लगाउँथ्यौं । यो वर्ष हामी कान्छी बुहारी र कान्छो छोरो नहुने भयौं ।’
आफैंले फलाएर कुटाएका चामल पनि उनले दशैंमा सम्झिएका छन् । आफ्नै ‘ठूलाघरे कृषि फार्ममा’ जन्मेर हुर्काएका खसीको स्याक्को ट्याम्कोको याद पनि अहिले आइरहेको छ । ‘पहाडका हामी ठूलाघरे, ९० वर्षकी आमा भएको घर, आशीर्वाद लिन आउनेहरूको त्यो रमाइलो घुइँचोमा हामी यो पटक नहुने भयौं’, उनले थपे ।
समुदायका सबै घरपरिवारले आ–आफ्नो घर वरिपरिको झार उखेलेर गर्ने सरसफाइ, नालाहरूको सरसफाइ, घरमा विशेष रङरोगन गर्ने दृश्य पनि हरिप्रसादको आँखा वरपर घुमिरहेको छ । हाटबजारमा केटाकेटीहरू सहितको लुगा किन्नेहरूको घुइँचो, रोटेपीङ र लिङ्गेपीङको दृश्यसँगै सुरु हुने दशैंको झल्को उनले यो पटक दूर देशमा देख्न पाएनन् ।
उनले अनलाइनखबरलाई भने, ‘प्रवासमा बस्ने नेपालीहरूलाई त दशैं तथा तिहार जस्ता पर्व आउँदा झनै खातिर लाग्नु स्वाभाविक नै हो भन्ने मैले अहिले महसुस गरें ।’
****
पोखरा महानगरपालिका–१७ कास्कीका ७५ वर्षीय तुलसीराम बराल यतिबेला अमेरिकाको डालसमा छन् । तर उनको तनमन भने नेपालतिर नै छ । दशैं नजिकिंदै गर्दा उनलाई गाउँघरको यादले सताइरहेको छ ।
उनले दशैंको बेला पोखरा छोरेपाटन नजिकैको थातथलो पुम्दीभुम्दीलाई पनि सम्झन्छन् । ‘आफू जन्मेको ठाउँ । कान्छा बा, माइला बाका घरहरू सँगै जोडिएको हाम्रो एउटै आँगन । पुराना दिनहरूलाई मैले यहाँबाट सम्झिरहेको छु ।’
ज्येष्ठताको हिसाबले आफूसँग थुप्रै टीका लगाउन आउने गरेको उनी सम्झन्छन् । ‘नेपालमा त हुलका हुल टीका लगाउन आउँथे । उमेर पुगेकाले दाइ, बा भन्दै हाम्रै घरमा आउँथे । यहाँ मुश्किलले ८–१० जनालाई टीका लगाउन पाइएला’, तुलसीरामले बताए ।
बराल दम्पती असार दोस्रो साता अमेरिका आइपुगेका हुन् । यो उनको अमेरिका आई तेस्रो पटक हो । डाइभर्सिटी भिसा (डीभी) मार्फत कान्छो छोरा–बुहारी अमेरिका बस्न थालेपछि बराल दम्पती पटक–पटक आइरहेका छन् । २०७५ को दशैं पनि उनले अमेरिकामा नै मनाएका थिए ।
अमेरिकामा भएका छोरा–बुहारी र नाति–नातिनालाई टीका लगाउन पाउँदा उनी एकातर्फ खुशी पनि छन् । अर्कोतर्फ नेपालमा रहेका दुई छोरा र नाति–नातिनाहरूलाई दशैंमा टीका र आशीर्वाद दिन नपाउँदा दुःखी पनि छन् । दशैंको बेला सबै परिवार एकै ठाउँमा भएको भए कत्ति रमाइलो हुन्थ्यो भन्ने लागेको छ, तुलसीरामलाई ।
‘तपाईंहरू जस्ता युवाहरू बाहिर हुनुहुन्छ । यो बाध्यता पनि होला । छोराछोरीहरू कोही नेपालतिर छन्, कोही विदेशतिर । चाडबाडको बेला परिवार एकै ठाउँमा नहुँदा हामी बा–आमालाई कस्तो हुँदो हो ? उनले उल्टै प्रश्न गरे ।
छोरी–ज्वाइँलाई भेट्न यसअघि ३–४ पटक हङकङ समेत पुगिसकेका बरालले विदेश सुनसान लाग्ने गरेको सुनाए । ‘पहिला दुई पटकसम्म अमेरिका आयौं । दुई महिना टिक्न पनि गाह्रो भयो । न्यास्रो लागेर नेपाल नै फर्कियौं । छोरा–बुहारी कामको काम । बरु अहिले त नातिनातिना पनि भए त्यसैले अलि लामो समय बसेका हौं’, तुलसीरामले भने ।
‘नेपालमा दशैं आएपछि घुइँचो देखिन्थ्यो । रोटेपीङ र लिङ्गेपीङ देखिन्थ्यो । गाउँघरतिर सबै फर्कन्थे । दामलीहरूसँग चिया पिउँदै गफ गर्न पाइन्थ्यो । त्यो सबै विदेशमा कहाँ पाइन्थ्यो र ?’ उनले दुःखेसो पोखे । उनलाई गाउँघर डुल्न र गफगाफ गर्न असाध्यै मन पर्छ । अझ दशैंका बेला थुप्रै मान्छेहरू भेटिने हँुदा यो पर्व विशेष लाग्छ तुलसीरामलाई ।
‘यहाँ त बाटोमा कोही पनि नभेटिने । गाडीमा चढेर ५–१० मिनेटमै पुग्दा त टाढा जस्तो पनि नलाग्ने । तर नेपालमा जस्तै बाटोमा गफ गर्दै हिंड्न नमिल्ने ।’ उनले भने, ‘मलाई त अमेरिका असाध्यै सुनसान र निछम्म लाग्यो । वनमा नै बसे जस्तो हुन्छ ।’
विदेशमा नेपालीबीच खासै सामाजिक भावना नभएको गुनासो पनि छ तुलसीरामलाई । नेपालमा जस्तो आत्मीय भाव र सहयोगीपन विदेशमा नरहेको उनको बुझाइ छ । उमेर ढल्किंदै गएकाले अब विदेश यात्रा कम हुने पनि तुलसीरामले बताए ।
****
षडानन्द नगरपालिका, दिङ्ला भोजपुर थातथलो भएका ६८ वर्षीय प्रकाशराज अधिकारी हाल अमेरिकाको डालसमा बस्छन् । काठमाडौं महानगरपालिका–१० बानेश्वरमा पनि उनको आफ्नै घर छ । तर उनी परिवारसँगै अमेरिकामा बस्न लागेको झण्डै ९ वर्ष पुग्न लागिसक्यो ।
दशैंको टीकाको दिन छुट्टी नबसी काम गर्दाको अनुभव छ उनीसँग । ‘टीकाको दिनमा काम गर्दा धेरै कुरा छुटेको, धेरै कुरा हराएको जस्तो अनुभव हुँदोरहेछ’ उनले भने, ‘यति रमाइलो पर्वलाई विदेशमा बसेर सम्झना मात्र गर्नु एक प्रकारको बाध्यात्मक अवस्था पनि हो । मेरो मन र मस्तिष्क बीचको द्वन्द्व चलिरहन्छ । मनले नेपाल चाहिराखेको छ । तर मस्तिष्कले यहाँ चाहिराखेको छ ।’
उनकी ठूली छोरी एलिना अधिकारीको वीरगञ्ज स्थायी ठेगाना भएका अमेरिका निवासी सुमित भट्टराईसँग विवाह भयो । ‘छोरीले ग्रीन कार्ड फाइल गरेर एप्रुभ भएपछि हामी दुई बुढाबुढी अमेरिका आएका हौं । तर यति लामो यतै बस्छौं भन्ने लागेको थिएन’, उनले भने ।
परिवारका दुई वटै छोरीहरू अमेरिका भएकाले उनीहरूप्रतिको माया र लगावले पनि अमेरिका बस्न बाध्य भएको उनले सुनाए । सन् २०१५ अक्टोबर १२ मा उनी अमेरिकाको बोस्टनमा पुगेका थिए ।
आफूलाई खुशी बनाउने चिजहरू नेपालमा भए पनि शारीरिक आवश्यकताले गर्दा अमेरिकामा बस्न बाध्य भएको उनले बताए । ‘म ६८ वर्षको भएँ । प्रेसर, डायबेटिज र प्याङ्क्रियाज सम्बन्धी रोगले ग्रसित छु । रोगलाई निराकरणका लागि यहाँको स्वास्थ्य सुविधा मेरा लागि अनुकूल छ । मन भएर पनि नेपाल फर्कन सकेको छैन ।’
उनी भन्छन्, ‘दशैं भेटघाट र जमघटको पर्व भएकाले पनि नेपालको सम्झना अतुलनीय छ ।’ नेपालमा मनाएको दशैंको उल्लासमय वातावरण उनले यहाँ कहिल्यै पाएनन् ।
‘नेपालमा ठूलो समुदायमा दशैं मनाइन्थ्यो । आदर गर्नुपर्ने मान्छेहरूबाट आशिष प्राप्त गर्दाको मज्जा बेग्लै हुन्थ्यो ।’ नेपाल सम्झँदै प्रकाश राजले भने, ‘हामीसँग टीका थाप्ने र आशीर्वाद लिन आउनेको संख्या पनि ठूलो हुन्थ्यो । यो दुवैको मिश्रणबाट चाड मनाउन पाउँथ्यौं । एक प्रकारको पारिवारिक सम्बन्ध र प्रेमले दशैंप्रतिको व्यापकता अझ बढेर जान्थ्यो ।’
विदेशमा पनि सानो समूहमा दशैं मनाउँदै आएको उनले सुनाए । ‘म प्रत्येक वर्ष बोस्टन बस्दा ठूलो बुबासँग टीका ग्रहण गर्न जान्थें । विदेशमा भए पनि दुई छोरीहरूलाई आफ्नो हातको टीका लगाउन छुटाएका छैनौं । तर नेपालमा बसेर दशैं मनाए जस्तो अनुभूति भएको छैन ।’
जन्मथलो दिङ्लामा मनाएको बाल्यावस्थाको दशैंको अनुभूति जीवनको उत्तरार्धसम्म पनि नमेटिने अनुभव उनले सुनाए ।
उनी सरकारी सेवाबाट निवृत्त भइसकेपछि अमेरिका आएका हुन् । उनीसँग स्थानीय विकास मन्त्रालयमा प्रशासकीय अधिकृतको रूपमा काम गरेको अनुभव छ । विभिन्न प्रोजेक्टहरूमा जनरल म्यानेजरको रूपमा पनि काम गरेको उनले अनलाइनखबरलाई सुनाए ।
****
जलजला गाउँपालिका वडा नम्बर ६ सालिजा, पर्वत थातथलो भएका ६७ वर्षीय मुरारी चपाई यतिबेला डेनमार्क कोपनहेगन छन् । मुरारीको मानसपटलमा १८ वर्ष पहिले मनाएका दशैंका पलहरू अहिले ताजा बनेर आइरहेका छन् । जेठा छोरा मुक्तिराम चपाईले बोलाएर कोपनहेगनमा आएका उनलाई युरोप नौलो पटक्कै होइन ।
झन्डै तीन दशक पहिले २०५२ को जेठमा रोजगारीको खोजीमा मुरारी एक्लै जर्मनी छिरेका थिए । त्यतिबेला जर्मनीमा साढे ४ वर्ष, पोर्चुगलमा ४ वर्ष र बेल्जियम ३ वर्ष बसेका उनले झण्डै १२ वर्ष युरोपमै बिताए । अन्ततः २०६३ मा युरोपको बसाइ टुंग्याएर मुरारी सदाका लागि नेपाल फर्किएका थिए ।
‘अहिले छोराले बोलाएर भेट्न आउँदा युरोप घर जस्तै लाग्यो ।’ मुरारी विगतलाई सम्झँदै भन्छन्, ‘पहिले धेरै दुःख पाएँ । न त कागज नै थियो । लुकेर काम गर्नुपर्थ्यो । खान–बस्न नै तनाव थियो । धेरै दुःख झेलेको छु यो युरोपमा ।’ दशैंमा गाउँघरको याद कति आउँछ भन्ने उनले नजिकबाट बुझेको बताउँछन् ।
पर्वत सालिजाबाट बसाइँसराइ गरेका मुरारीको हालको बसाइ भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोक चितवन हो । ‘दशैं गाउँघरमा नै रमाइलो हुन्छ । चितवन बस्दा पनि पर्वतको याद आउँथ्यो । अहिले त डेनमार्कमा छौं । चितवन र पर्वत दुवै ठाउँको याद आइरहेको छ’, उनले थपे ।
६५ वर्षीय भीमकुमारी चपाई पनि श्रीमान् मुरारी सँगै तीन महिनादेखि डेनमार्कमै छिन् । गत वर्ष कान्छो छोराको परिवारसँग उनले अमेरिकामा दशैं मनाएकी हुन् । यो पटक ठूलो छोरा र परिवारसँग कोपनहेगनमा दशैं मनाउने उनी बताउँछिन् ।
‘बिहान–बेलुकी छोराछोरीको मुख देखिन्छ त्यो क्षण अति नै खुशी लाग्छ । तर दशैंमा गाउँ–घर–छिमेकको अति याद आउँदो रहेछ ।’
भीमकुमारी भन्छिन्, ‘टाढा टाढा भएका आफन्तसँग दशैंमा भेट हुन्थ्यो । भान्जा भान्जी चेलीबेटीहरू हाम्रो घरमा आउनुहुन्थ्यो, रमाइलो हुन्थ्यो ।’ विदेशमा भने दशैं जस्तो चाडमा पनि आफ्नो परिवार बाहेक अन्यलाई खासै मतलब नहुने उनको अनुभव छ ।
भीमकुमारीकी ठूली छोरी जापानमा छन् भने कान्छी छोरी भरतपुरमा नै । तीन दशक पहिले श्रीमान् विदेश थिए, अहिले छोराछोरी ।
‘चाडबाडमा सबै परिवार एकै ठाउँमा नभएको पनि वर्षौं भयो । कहिले को हुँदैन, कहिले को हुँदैन’ उनी भन्छिन्, ‘आफ्ना छोराछोरी विदेश हुँदा चाडपर्व नै नआए हुन्थ्यो भने जस्तो हुन्छ ।’ विदेशको दशैं उनलाई दशैं जस्तै लाग्दैन । आफू विदेशमा भए पनि मन भने गाउँघरमै हुने भीमकुमारी सुनाउँछिन् ।
****
७७ वर्षीय फुलकुमारी क्षेत्री २०७९ साउनदेखि छोरीज्वाइँसँगै क्यानाडामा बस्दै आएकी छिन् । उनले दुईवटा दशैं टोरोन्टोमै मनाइन् । विदेशी भूमिमा फुलकुमारीको यो तेस्रो दशैं हो । वामीटक्सार अर्लाङकोट, गुल्मी थातथलो भएकी फुलकुमारी भन्छिन्, ‘साउनमा नेपाल छोडेको दुई वर्ष पूरा भइसक्यो । दशैं आउँदा नेपालको याद झनै आउँदो रहेछ ।’
गुल्मीबाट बसाइँसराइ गरेर उनको परिवार हाल बर्दघाट नगरपालिका ५, नवलपरासीमा बस्दै आएको छ । ‘आफू जन्मेको ठाउँ । दशैंको पल सम्झँदा पनि धेरै रमाइलो लाग्छ’ उनले थपिन्, ‘नेपालमा टीका लगाउने भीडभाड हुन्थ्यो । टीकाको दिन नभ्याए पूर्णिमासम्म पनि टीका लगाइदिन्छन् । गाउँघरको पीङ । मधेशमा त धेरैजसोको खेती स्याहार्ने बेला हुन्थ्यो ।’
छोरी र ज्वाइँलाई मात्रै होइन उनका साथीहरू पनि क्यानाडामा आफ्नो हातको टीका थाप्न आउने गरेको फुलकुमारी सुनाउँछिन् । ‘यहाँ पनि खुशी र रमाइलो त लाग्छ । अझै नेपालमा केटाकेटीहरूलाई दशैंमा धेरै महत्व छ । त्यो यता कम पाएँ, उनले सुनाइन् ।
‘विदेशमा जन्मिएर यतै हुर्किएका बच्चाहरू चाडबाडमा नेपाल फर्किएका हुँदैनन् । बालबच्चा यहीं जन्मिए । उनीहरूलाई त्यति महत्व रहेनछ । उनीहरूलाई दशैंबारे बुझाउन जरूरी छ’ फुलकुमारी भन्छिन्, ‘हामीले बाल्यावस्थामा मनाएको दशैंको सम्झना अझै पनि सम्झनामा छ । त्यसैले पनि अहिले आफू जहाँ भए पनि मन सधैं नेपालमै छ ।’
प्रतिक्रिया 4