दशैंका बेला अस्पतालका नाक कान घाँटीरोग विभाग बिरामीको भीडभाड निकै हुन्छ । यसो हुनुको मुख्य कारण दशैंमा मासु धेरै खाइने भएकाले घाँटीमा हड्डी अड्किने समस्या बढ्छ । जसकारण अस्पताल आउनेहरु धेरै हुन्छन् ।
मासु खानु समस्या होइन, हतारिएर खानु र खाँदा के खाँदैछु भनेर हेक्का नराख्नु सबैभन्दा ठूलो समस्या बनिदिन्छ । किनकि हड्डी अड्किनु समस्याको तत्काल उपचार चाहिन्छ । दशैंको समयमा सबैभन्दा गम्भीर समस्या नै यही हो । उपचारमा ढिलाइ भए बिरामीको ज्यान समेत जान सक्छ ।
हड्डी यी अवस्थामा अड्किन्छ
मासु अड्काएर आउनेहरूमा वयस्क बढी छन् । त्यसमा पनि मासुसँगै मदिरा पिइरहेको अवस्थामा हड्डी अड्काउनेहरु धेरै हुन्छन् । प्रायले मासुसँगै मदिरा खाँदा हड्डी अड्काएको पाइन्छ । मासुसँगै मदिरा अत्यधिक पिउँदा के खाइरहेको भन्ने होस नहुँदा समस्या बन्न सक्छ ।
त्यसैगरी, वृद्धवृद्धामा हड्डी अड्किने समस्या बढी देखिन्छ । यस्तोमा छाकैपिच्छे मासु खाँदा एक त दाँत हुँदैन । जसले गर्दा मासु चपाउन नै मिल्दैन । र, नचपाई निल्दा मासुसँगै हड्डी खाना नलीबाट जान्छ र अड्किने गर्छ ।
अर्को, भनेको खाना मुखमा पस्ने बित्तिकै तालुमा एक किसिमको अनुभूति हुन्छ । जसले गर्दा चपाउन गिजामा बल लगाएर चपाउन सक्छौं । तर उमेर बढेसँगै तालुमा हुने त्यो अनुभूति कम हुन्छ । र, खानेकुरा मुखमा हाल्दा चपाएको थाहा नहुँदा हड्डी निल्ने सम्भावना बढी हुन्छ ।
अर्को कारण कसैमा हतारमा खाँदा पनि हड्डी अड्किन सक्छ । कसैको भने एक हातमा मोबाइल र अर्को हातले मासुका परिकार खाइराख्दा खानमा कम र मोबाइलमा बढी ध्यान दिंदा हड्डी अड्किने जोखिम बढी हुन्छ ।
अस्पतालमा सबैभन्दा बढी कुखुराको मासुको हड्डी अड्काएर आउनेको संख्या बढी छ ।
मासुको हड्डी कुन–कुन अंगमा अड्किएको हुन्छ ?
हड्डी खाना नली, श्वासप्रश्वास नली र फोक्सोमा अड्किन्छ । मासुसहितको हड्डी खाना नलीमा अड्किएमा खाना खान कठिन हुने, र्याल आउने, मुख सुन्निने, घाँटी अत्यधिक दुख्ने, थुक अत्यधिक आउने, खानेकुरा निल्न नसक्ने र घाँटी सुन्निने समस्या हुन्छ ।
यो नलीमा पुग्दा दुखाइ मात्र होइन, श्वासप्रश्वास नली र फोक्सोमा पुगेमा गम्भीर असर पुग्न सक्छ । श्वासप्रश्वास नलीमा हड्डी अड्किएमा निल्दा कहाँसम्म पुग्न सक्छ थाहा हुँदैन ।
कसैलाई त अड्किने बित्तिकै श्वासप्रश्वास फेर्न कठिन हुन्छ । त्यसैले हड्डी अड्किएमा पायक पर्ने अस्पताल लैजानुपर्छ ।
मासुको हड्डी अड्किने बित्तिकै प्राथमिक उपचार गर्न सकिन्छ ?
मासुको हड्डी अड्किने बित्तिकै घरमै गर्न सकिने भनेको हड्डी अड्किएको व्यक्तिको पछाडि उभिएर पेटको तल्लो भागमा दुवै पाखुराले माथितर्फ बल लगाउने गर्नुपर्छ । यसले पेटमा प्रेसर पुगी मुखबाट हड्डी निस्किने सम्भावना हुन्छ । तर हड्डीको चुच्चो खाना नली मासुमा गाडिएको छ भने निकाल्न कठिन हुन्छ । त्यस्तो अवस्थामा नजिकको अस्पतालमा छिटो भन्दा छिटो पुग्नुपर्छ ।
गर्दनमा हानेर निकाल्ने प्रयास नगरौं
कतिपयले अड्किएको हड्डी निकाल्न हतारिएर तालु वा गर्दनमा पनि हान्ने गरेको पाइन्छ । जसले थप जटिल अवस्था बनाउँछ । कहिलेकाहीं जोडले तालु वा गर्दनमा हान्दा त्यसकै हड्डीमा चोट लाग्न सक्छ ।
जति ढिलो, त्यति समस्या
जति ढिलो अस्पताल पुगिन्छ, त्यति ज्यान जाने जोखिम रहन्छ । दुई-चार दिनसम्ममा अड्किएको ठाउँको मासु कुहिएर संक्रमण भई पाक्न सक्छ । यस्तोमा शल्यक्रिया गर्न खोज्दा औजारले पनि अंग छेडिन सक्छ । जसले ज्यान जाने जोखिम बढाउँछ ।
उपचार कस्तो हुन्छ ?
मासु अड्किएमा थोरै दबाबले पनि आउने सम्भावना देखिन्छ भने हेल्मिक मेनवरको प्रयोग गर्न सकिन्छ । यो विधिमा पहिला व्यक्तिलाई अर्को व्यक्तिले पछाडिबाट हातले माथिल्लो छाती र घाँटीको माथिल्लो भागमा थिचेर दबाब सिर्जना गर्दा अड्किएको हड्डी निस्कन सक्छ ।
यो विधि गर्दा आएन र घाँटीमा हड्डी अड्किएर बस्यो भने यसको उपचार शल्यक्रिया नै हो । अवस्था अलि जटिल छैन भने सामान्य शल्यक्रिया घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्था छ भने सिजरियन शल्यक्रिया नै गर्नुपर्छ ।
यसको जटिलता भनेको खाना नलीमा गाडिएर बसेको हड्डी जति ढिलो निकालियो त्यति खाना नली प्वाल पार्ने जोखिम हुन्छ । खाना नली प्वाल परेमा चाप कम हुने, ज्वरो आउने, छातीको पछाडि भाग दुख्ने, मुटुको धड्कन बढ्ने हुन्छ ।
हड्डी अड्किन नदिन के कुरामा ध्यान दिनुपर्छ ?
– मासु खाँदा मात लाग्ने गरी मदिरा नपिउने ।
– मासु खाँदै मोबाइलमा तल्लीन नहुने ।
– हड्डी अड्किन नदिन मासु होस् वा अन्य खानेकुरा जति नै हतार भए पनि खानामा हेरेर र चपाएर खानुपर्छ ।
– घरमा दाँत नभएका ज्येष्ठ नागरिकलाई मासु दिंदा हड्डी नभएको स-साना टुक्रा पारिएको नरम मासु दिने ।
– हड्डी अड्किएको जस्तो भएमा तुरुन्त अस्पताल जाने ।
भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4