+
+

बाबुरामले फेरि सम्झिए नयाँ शक्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते २०:५३

६ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नाम र झण्डा परिर्वतन गरेको छ । पोखरामा मंगलबार सकिएको विधान सम्मेलनले पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको हो ।

नेता मानुषी यमी भट्टराईका अनुसार विधान संशोधनको मस्यौदामा नयाँ शक्ति नाम प्रस्ताव गरिएको थिएन । तर समूहगत छलफलमा अधिकांशले पार्टीको नाम नयाँ शक्ति राख्नुपर्ने मत राखे ।

‘पार्टीको नाम जेजे भएपनि हाम्रो अवधारणा ‘५ स’ नै हो, जनताले पनि नयाँ शक्ति भनेर नै चिन्छन्’, उनले भनिन्, ‘नयाँ शक्ति नै भनौं भन्ने मत आएपछि यो निर्णयमा पुगेका हौं ।’

२०७२ असोजमा नयाँ संविधान जारी भएलगतै माओवादी केन्द्र छाडेका भट्टराईले ३० जेठ २०७३ मा दशरथ रंगशालामा कार्यक्रम गरेर नयाँ शक्ति पार्टी घोषणा गरेका थिए । उनको पार्टीमा पूर्वमाओवादी नेताहरु मात्र होइन, सेवा निवृत्त कर्मचारी, अधिकारीकर्मी, कलाकारहरु समेत जोडिएका थिए ।

तर २०७४ को स्थानीय चुनावमा नयाँ शक्तिले झट्का व्यहोर्‍यो । ७५३ पालिकामा भएको चुनावमा नयाँ शक्तिले दुई वटामा प्रमुख, एक उपप्रमख र केही वडाअध्यक्ष मात्र जित्यो । स्थानीय चुनावसँगै लडखडाएको नयाँ शक्तिले २०७४ को आम चुनावमा पुग्दा पुराना भनिएका दलहरुसँगै गठबन्धन गर्नुपर्‍यो । असोज २०७४ मा एमाले र माओवादीले वाम गठबन्धन गर्दा डा. भट्टराईको नयाँ शक्ति थियो । तर घोषणासभामा पुग्दा बाहिरियो ।

त्यसको प्रतिक्रिया स्वरुप उनले नेपाली कांग्रेसको समर्थनमा गोरखा २ बाट चुनाव जिते । तर उनको दल भने हार्न पुग्यो । प्रतिनिधिसभामा उनी मात्र रहे भने प्रदेशसभातर्फ पनि गण्डकीमा २ र बागमतीमा एक सांसद मात्र रहे ।

सेवा निवित्त कर्मचारी, बुद्धिजीवी मात्र होइन, माओवादीमा हुँदादेखि नै विश्वास पात्रहरु देवेन्द्र पौडेल, खिमलाल देवकोटा लगायतका नेताहरुले कसमेत साथ छाडे । वैशाख २०७६ मा आइपुग्दा डा. भट्टराईले नै नयाँ शक्ति नाम छाड्न तयार भए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्दा नयाँ शक्ति नाम छाडेर समाजवादी पार्टी नेपालमा सहमति गरे ।

२०७९ को चुनावको मुखमा उपेन्द्र यादवसँग अलग भएर आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाए । एकपछि अर्को दल जहाँ पुगे, भट्टराईले आफ्नो दलले नै वैकल्पिक राजनीतिक धारकै नेतृत्व गर्ने दाबी गर्न छाडेनन् । तर उनको दल कहिल्यै वैकल्पिक राजनीतिक शक्तिका रुपमा आउन सकेन ।

बरु ५ महिना पहिले मात्र गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) (७ प्रत्यक्षसहित) २० सांसद सहित प्रतिनिधिसभाकै चौथो ठूलो दल बन्यो । भट्टराई नेतृत्वको नेसपाले भने माओवादीसँग एकता गर्ने गरी उसकै चुनाव चिह्न लिने गरी मात्र दुई उम्मेदवार उठाएको थियो । उनीहरुमध्ये महेन्द्र राय यादव सर्लाही २ मा निर्वाचित हुँदा भट्टराईकी छोरीसमेत रहेकी मानुषी यमी भट्टराई काठमाडौं ७ मा पराजित हुन पुगिन् ।

त्यसपछि पनि भट्टराई माओवादीसँग एकता गर्ने पक्षमै थिए । तर सरकारको नेतृत्व गरेसँगै माओवादी अध्यक्ष प्रचण्डले बेवास्ता गरेपछि भट्टराई थप अठ्यारोमा परे । एक्ला सांसद महिन्द्र राय यादवसँगै भट्टराईका विश्वासपात्र गंगानारायण श्रेष्ठ सहितको समूह उनलाई छाडेर माओवादीतिर गए ।

भट्टराईले भने पार्टीको नाममा नयाँ शक्ति फुर्को जोडेर फेरि संगठित गर्ने प्रयास गरेका छन् । पार्टीकी नेता मानुषी यमी भट्टराई, नाम नै सब थोक होइन, तर ब्राण्डिङका लागि महत्वपूर्ण भएकाले पनि नयाँ शक्ति जोडेको बताउँछिन् ।

आलोचकहरु भने पराम्परागत दल र त्यसको नेतृत्वप्रति आम मानिसमा बढ्दो असन्तुष्टिलाई हेरेर भट्टराईले ‘भल’ छोप्न खोजेपनि सफल हुनेमा शंका गर्छन् । भट्टराईका एक पूर्व सहकर्मी भन्छन्, ‘अर्थमन्त्री, प्रधानमन्त्री भइसकेका उनलाई वैकल्पिक मान्न (आम मानिस) तयार भएनन् । नभए ५ महिना अगाडि दल खोलेको रविले सक्ने, डा. बाबुरामले नसक्ने भन्न्ने होइन ।’ बोली र व्यवहारमा भिन्नता, धैर्यताको कमी आदिले त्यसलाई थप मलजल गर्‍यो ।

नेसपा नयाँ शक्तिकी नेता मानुषी पनि भट्टराईलाई नयाँ/वैकल्पिक शक्तिका रुपमा स्वीकार नगरेको एक हदसम्म मान्छिन् । नयाँ/वैकल्पिक भन्नासाथ राजनीतिमा देखा नै नपरेकाहरु हुनुपर्छ भन्ने सोच देखिएको भन्दै उनले भनिन्, ‘हामीले बुझाउन पनि सकेनौं, हाम्रा कतिपय कदम पनि सही भएनन् ।’

तर नेसपा नयाँ शक्ति विचार दृष्टिकोण समेत भएको वैकल्पिक भएको उनी बताउँछन् । ‘वैकल्पिकको नाममा जता हावा बगेको छ, त्यता चल्ने, भीडले डोर्‍याउने शक्ति बनाउन खोजेका होइनौं’, उनले भनिन्, ‘विचार दृष्टिकोणसहित वैकल्पिक भनेका हौं । हामीले नाममा नयाँ शक्ति नछाड्नुको कारण पनि यही हो ।’

आगामी माघ २५–२७ सम्म महाधिवेशन गर्ने निर्णय गरेको नेसपा नयाँ शक्तिले ०८४ को चुनावमा निर्णायक शक्तिका रुपमा उभ्याउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?