काठमाडौं । ‘मिर्जापुर’ सिजन ३ को सफलतापछि अमेजन एजीएम स्टुडियोज र एक्सेल इन्टरटेनमेन्टले एक महत्वपूर्ण घोषणा गरेका छन् । उनीहरुले मिर्जापुर श्रृंखलामा आधारित कथानक फिल्म बनाउने योजना अघि सारेका छन् ।
एक्सेल इन्टरटेनमेन्टले यो फिल्मलाई निर्माण गर्न लागेको हो । फ्यानका लागि यो विशेष उपहार हुनेछ किनभने उनीहरुको प्रिय शो अब ठूलो पर्दामा आउँदैछ । जसले उनीहरुलाई हलमा भव्य र रोमाञ्चक अनुभव दिनेछ ।
पुनित कृष्णद्वारा निर्मित र गुरमीत सिंहद्वारा निर्देशित ‘मिर्जापुर’ फिल्म सन् २०२६ मा रिलिज हुनेछ । यसमा मिर्जापुरका चर्चित पात्रहरू जस्तै कालिन भैया (पंकज त्रिपाठी), गुड्डु पण्डित (अली फजल) र मुन्ना त्रिपाठी (दिव्येन्दु) सँगै अभिषेक बनर्जी कम्पाउन्डर र अन्य कलाकारले पनि अभिनय गर्नेछन् ।
थिएटरमा रिलिज भएको आठ हप्तापछि प्राइम भिडियोका सदस्यले यसलाई २४० देशमा हेर्न पाउने जनाइएको छ । प्राइम भिडियोका कन्टेन्ट प्रमुख मनिष मेन्घानीले भने, ‘मिर्जापुर यसको रोचक पात्र, अविस्मरणीय संवाद र आकर्षक कथाका कारण आजको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज भएको छ । हामी हाम्रा दर्शकको प्राथमिकता अनुरूपका सामग्री सिर्जना गर्नमा गर्व गर्छौं । मिर्जापुरको बढ्दो लोकप्रियतालाई आत्मसात गर्दै हामी यो फ्रेन्चाइजलाई थिएटरमा ल्याउन उत्सुक छौं ।’
निर्माता रितेश सिधवानी र एक्सेल इन्टरटेनमेन्टका फरहान अख्तर भन्छन्, ‘यो हाम्रो लागि ठूलो कोसेढुंगा हो, किनभने हामीले हाम्रा दर्शकका लागि मिर्जापुरको विशेष अनुभव फिर्ता ल्याएका छौं, तर यस पटक ठूलो पर्दामा । लोकप्रिय श्रृंखलाले यसको शक्तिशाली कथावस्तु, कालिन भैया, गुड्डु भैया र मुन्ना भैया जस्ता यादगार पात्रले दर्शकको मन जितेको छ । यो लोकप्रिय श्रृंखलालार्ई फिल्ममा परिणत गर्दा दर्शकलाई मिर्जापुरको संसारलाई नयाँ ढंगले अनुभव गर्ने अवसर प्रदान गर्दै हेर्न थप रमाइलो बनाउने विश्वास लिएको छु ।’
प्रतिक्रिया 4