+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमै करेसाबारी

रासस रासस
२०८१ कात्तिक १४ गते १४:१७

१४ कात्तिक, कञ्चनपुर । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् ।

केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् । उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ ।

नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् । व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउँछन् ।

‘करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्’, उनले भने, ‘किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।’

पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उनको भनाइ छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगको साटो जैविक विधिको प्रयोग गरेर गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताए ।

मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ । मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ छ ।

कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ । बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् । किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?