२० कात्तिक, जनकपुरधाम । करिब २५ वर्षअघि मजदुरी गर्न भारत पसेका श्रीमान सम्पर्कविहीन भएपछि ५५ वर्षीया रामकुमारी महत्तोले पर्खाइका अत्याशलाग्दा समय गुजारिन् । भारत हिँडेका उनकै गाउँका कोही छिमेकीहरु आउँदाजाँदा पनि उनले श्रीमान चलितरकै बारे सोधिरहिन्।
तर, जवाफमा उही शून्य !
३० वर्षको हुँदा नै श्रीमान बेपत्ता भएपछि सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीकी रामकुमारी महतोको अनुहारबाट खुसीको उज्यालो हराइसकेको थियो ।
यो दुई दशकभन्दा बढी समयसम्म रामकुमारीले बेपत्ता श्रीमान घर फर्किहाल्छन् कि भनेर बाटोमा आँखा डुलाइरहिन् । तर, श्रीमान चलितर न घर फर्किए न केही थाहा पत्तो नै लाग्यो ।
जवानीमा छुटेका श्रीमान वृद्धावस्थासम्म घर नफर्किंदा रामकुमारी निराश भइसकेकी थिइन् । उनको एक मनले भनिसकेको थियो, ‘तेरो श्रीमानको मृत्यु भइसक्यो ।’
तर, रामकुमारीले सपना पनि सोच्न सोचिसकेको घटना विपनामै भयो । बेपत्ता श्रीमान चलितर महत्तो करिब २५ वर्षपछि टुप्लुक्क गाउँमा देखा परे । मरिसकेको ठानेको मान्छे वर्षौंपछि भेटिँदा यतिबेला उनको परिवार नै हर्षविभोर छ ।
‘२० वर्षसम्म पनि पति नआउँदा मृत्यु भयो भन्ने लागेको थियो । म आफूलाई विधवा सम्झिन थालेको थिएँ । भगवानको महिमा मृत्यु भयो भन्ने ठानेको पति घर फर्किनुभयो’, रामकुमारीले खुसी बाँडिन् ।
मृत्यु भइसकेको भनेर चलितरलाई हिन्दु परम्परा अनुसार कुशको शव बनाएर अन्त्येष्टिसँगै किरियाकर्म गर्न घर परिवारले तीनपटक तयारी गरे । तर आर्थिक विपन्नताले रुपैयाँ पैसाको जोहो नहुँदा समयपछिका लागि सर्दै गयो । छोरा प्रविणका अनुसार चौथो पटक छठपछि जसरी पनि बुवाको किरियाकाण्ड गर्ने तयारीमा थियो ।
‘तीनपटक बुवाको किरियाकर्म गर्ने तयारी गर्न तिर लागें । हरेक पटक पैसा घट्यो, जोहो हुन सकेन । अनि पछि गरौंला भनेर टार्दै गयौं । अन्तिममा छठपछि जसरी पनि किरियाकाण्ड गर्ने हाम्रो तयारी थियो’, छोरा प्रविण खुसी हुँदै भने ‘भगवानको कृपा बुबा फर्किनुभयो । हाम्रो संसार नै फर्केको महसुस भइरहेको छ ।’
साविक धनुषाको बटेश्वर गाउँपालिका १ लक्ष्मी निवास सोनापुर घर भएका चलितर पारिवारिक जोहो गर्न २५ वर्षअघि साथीहरुसँग पञ्जाब गएका थिए । त्यसपछि उनी उतै बेपत्ता भएका थिए । दुई दशकसम्म सम्पर्कमा नआउँदा परिवारसँगै समाज पनि चलितर मरिसकेको हुन सक्ने ठानिसकेका थिए ।
तर अचानक आइतबार साँझ उनी साविक घर भएको गाउँमा आइपुगे । गाउँले देखेर चकित र उत्साहित भए । घर पुग्नु करिब सय मिटर परै बाटोमा छिमेकहरुलाई चिने । तर परिवार देखेनन्।
पछि पो तिनै छिमेकीबाट थाहा पाए–घरपरिवार केही वर्षअघि नै यहाँबाट अन्तै बसाइँ सरिसके ।
चलितर गाउँ फर्केको खबर एक छिमेकले छोरा प्रविणलाई फोन गरेर खबर गरिदिए । धुमासन टोलका लक्ष्मण महतो उनको हातबाट झोला लिएर उनलाई आफ्नो घरतिर डोर्याए ।
मृत्यु भइसकेको ठानेका चलितरको परिवारको सदस्यको उनी फर्केको खुसीले भुइँमा खुट्टा रहेन । तत्कालै छोरा प्रविणले एउटा गाडी भाडा गरेर बुवालाई स्वागत गरेर लैजान दिदी पार्वती, श्रीमतीसहित आइपुगे ।
तर लिन आएका छोरा प्रविण, बुहारीलाई चलितरले चिन्नै सकेनन् । जेठी छोरी पार्वतीलाई भने चलितरले चिने ।
कसरी पो चिनुन् ?
चलितर भारत जाने बेला प्रविण केवल २/३ वर्षका मात्र थिए । उनी लक्काजवान भएका मात्रै थिएनन्, बिहेबारी भएर सन्तान पनि जन्मिइसकेको थियो ।
जे होस्, वर्षौंपछिको पुनर्मिलनले उनीहरु खुसीको आँसुले भावविह्वल भए । परिवारले चलितरलाई घर सर्लाहीको घुर्कौली लगे । त्यहाँ सहजै उनले श्रीमती राकुमारीलाई चिने । आश मारिसकेको पतिसँग पुनर्मिलनले उनको घर एकछिन खुसीको आँसुमा डुब्यो ।
‘हाम्रो संसार फर्केको महसुस भइरहेको छ । बुवा बेपत्ताले हाम्रो परिवार अधुरो र निराश थियो । अब बल्ल अपुरो परिवार पूरा भएको लागिरहेको छ’, छोरा प्रविणले सुनाए ।
२५ वर्ष बन्धक भएर फर्किए चलितर
२५ वर्षपछि गाउँ फर्केका चलितर आफूलाई एक साहुले पञ्जाबमा बन्धक बनाएर श्रम गराएको खुलाएका छन् । उनका अनुसार एक साहुले बेपत्ता बनाएर आफ्नै पशुपालन कारखानमा राखेका थिए ।
जहाँ चलितरले कम्पाउण्ड भित्रै रहेर गाईबस्तु पाल्नुपर्थ्यो । बाहिर निस्किन दिन्नथे । साहु र तिनका मानिसको निगरानीमा काम गरिरहेका चलितर बाहिर जान खोज्दा मारिदिने धम्की दिने गरेक उनी सुनाउँछन् ।
‘मलाई मालिकले बन्धक बनाएर श्रम गरायो । बाहिर जाने नाम लिँदा काटेर फालिदिन्छु भन्थे । डरले बाहिर निस्किन सकिरहेको थिएन । त्यहाँ गाईवस्तु पाल्ने काममा मलाई लगाएको थियो’, महतोले अनलाइनखबरसित भने ।
आफू बन्धक मुक्त हुनुमा भारत बिहार सितामढीका मंगल महतो भन्ने मान्छेले पहल गरिदिएको चलितरको भनाइ छ । चलितरका अनुसार कारखाना भित्रै कामको क्रममा सितामढीको मंगल महतोसँग चिनजान भएको थियो । मंगलमहतो पञ्जावमा सामान्य ठेक्कापट्टाको काम गर्छन् ।
आफूलाई साहुले बन्धक बनाएको, घरजान नदिएको, मारेर फालिदिने धम्की दिने गरेको मंगललाई चलितरले सुनाएका थिए । त्यो मंगलले मोबाइलमा रेकर्ड गरे । पछि मंगलले चलितरलाई घरजान दिन पहल थाले । तर साहुले मानेनन् । उनले यो कुरा बाहिर ल्याएपछि परपञ्चायत भयो । श्रमवापतको एक रुपैयाँ दिएन । त्यसपछि घर फर्किन दिन साहु सहमत भएको चलितरको भनाइ छ । बन्धकमुक्त भएर घर फर्किन र पारिवारिक पुनर्मिलनले चलितर अत्यन्त हर्षित छन् ।
तर छोरा प्रविणका अनुसार मंगल महतोसँग सोमबार फोन सम्पर्क हुँदा फेरि फर्किन्छ भन्ने सर्तमा साहुले जान दिएका खुलाएका छन् । ‘बुबालाई फेरि पठाइदिनु । मैले फेरि फर्किन्छ भन्ने शर्तमा छलफल भएर घर फर्किने वातावरण मिलाइदिएको छु । आएन भने यहाँका साहुले मलाई मारिदिन्छन्’, मंगलले भनेको कुरा प्रविणले सुनाए ।
प्रविणले आफ्नो बुबा अब कुनैपनि हालतमा नफर्किने बताएपछि रिसमा मंगलले फोन काटेको बताए । प्रविणले बुबालाई बन्धक बनाएर काम गराउने साहुलाई कारबाहीको लागि नेपाल सरकारले समन्वय गरी भारत सरकारसँग पहल गरिदिन आग्रह गरे ।
‘बुबाको कारणले हाम्रो परिवारले भोगेको दुःख कष्टको सीमा छैन । बुबासँग २५ वर्ष श्रम गरायो । मानवताहीन त्यो साहुलाई कानुनी कारबाही होस् । क्षतिपूर्तिको लागि पनि सरकारले पहल गरिदेओस्’, प्रविणले आग्रह गर्दै भने ।
चलितर बेपत्ता हुँदा परिवारले झेलेको कष्ट
विपन्न परिवारका अभिभावक चलितर र श्रीमती रामकुमारी गाउँघरमै मजदुरी गर्थे । ३ छोराछोरीसहित पाँच जनाको परिवार पाल्न चलितर बेलाबेला भारतको पञ्जाव आउजाउ गरिरहन्थे । अन्तिमपटक परिवारले वर्षौं प्रतीक्षा गरे ।
रामकुमारीले मजदुरी गरेर जेनतेन प्रविणसहित ३ छोराछोरीलाई हुर्काइन् । जेठी छोरी पार्वती र कान्छी कविताको माइतको सहयोगमा जेनतेत बिहेबारी भयो । छोरो प्रविणको बिहे भयो ।
तर, बुबा नभएपछि नागरिकत्ता नबन्दा उनी विदेश जान पाएनन् । रोजीरोटी गरेर परिवार चलाउन गाह्रो लागेपछि प्रविण आमाको नाममा रहेको सरेको पैतृक सवा तीनकठा घडेरी सोनापुरबाट बेचेर घुर्कौली सरे ।
घुर्कौलीमा उनले १० धुर घडेरी आमाको नाममा किनेर घर बनाएर परिवार बसाले । चोकमा मासिक ६ हजारमा साढे ४ धुर घडेरी चोकमा भाडामा लिएर खाजा पसल चलाइरहेका छन् ।
चलितरका एक्लो छोरो प्रविण २७ वर्ष पुगिसकेका छन् । तर नागरिकता नबन्दा उनी अहिले सम्म अनागरिक छन् । उनको श्रीमतको पनि नागरिकता छैन भने ३ छोराछोरीको जन्मदर्ता बन्न सकेको छैन । सामुदायिक विद्यालयले भर्ना नलिँदा दुई छोरालाई प्रविण जेनतेन निजी स्कुलामा पढाउन बाध्य छन् । नागरिकता अभावमा व्यवसाय दर्ता र बैंकबाट ऋण नपाउँदा उनको व्यवसाय पनि राम्ररी चल्न सकेको छैन ।
२०६३ मा नागरिकता टोली गाउँगाउँमा खटिँदा माइत र गाउँसमाजको जोडबलमा श्रीमती रामकुमारीको जन्मसिद्ध नागरिकता वैवाहिक आधारमा बन्यो । तर चलित्तरको अत्तोपत्तो नहुँदा नागरिकता बनेको थिएन ।
आमा रामकुमारीको नागरिकता भएपनि त्यसबाट बनाउन वर्षौं प्रविणले प्रयास गरे । तर बुवाको नागरिकता वा मृत्युदर्ता ल्याउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले कयौं महिना फर्कायो । प्रविणले वडा कार्यालयमा बुबाको मृत्यु दर्ता बनाउन कयौं पटक पुगेका पनि थिए ।
‘आफ्नो नागरिकता वा कुनै काम गराउन जाँदा बुबाको नागरिकता वा मृत्युदर्ता खोज्थ्यो । अनि धेरैपटक वडा कार्यालयमा बनाउन पनि पुगेको थिएँ । तर वडाले पहिले मृत्यु संस्कार गरेपछि मात्र दिने भन्यो । तर खर्च अभावमा मृत्यु संस्कार गर्न सकेका थिएनौं । त्यस कारण वडाले पनि मृत्युदर्ता बनाइदिएन’ प्रविण भन्छन् ‘ठिकै गर्यो। अहिले बुवा जिउँदो फर्किनु लेखेको रहेछ ।
बटेश्वर गाउँपालिका १ का वडाध्यक्ष अशोक महतोका अनुसार कयौंपटक परिवारजनले मृत्यु दर्ता बनाइदिन जोडबल गरे । ‘परिवारजनले त कतिपटक मृत्यु दर्ता बनाउन जोडबल गर्यो । तर मैले बेपत्ता रहेको भनेर मात्र सिफारिस दिएँ । हेर्नुस् अन्तमा चलितर फर्किनुभयो । मृत्युदर्ता दिएको भए के हुन्थ्यो’, उनले खुसी हुँदै भने ।
बुबा आएपछि बुबा र आफ्नो नागरिकता बन्ने प्रविणको ठूलो आशा पलाएको छ । ‘अब त बुबाको नागरिकता बन्छ होला । त्यसपछि मेरो र मेरी श्रीमतीको । छोराछोरीको जन्मदर्ता बनेर उनीहरु पढ्न पाउँछन् । मैले पनि व्यापार व्यवसाय राम्ररी चलाउनु पाउँछु’ प्रविण खुसी हुँदै भने ।
प्रतिक्रिया 4