जाडो मौसममा चिसोले बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी असर गर्छ । त्यसैले बालबालिकासँगै वृद्धवृद्धाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जाडोमा चिसो हावाले वृद्धवृद्धालाई बिरामी बनाउँछ र धेरै समस्या बढाउँछ । तापक्रम घट्दै जाँदा, इन्फ्लुएन्जा र हाइपोथर्मिया जस्ता मौसमसँग सम्बन्धित अवस्थाहको सम्भावना बढ्छ ।
कमजोर प्रतिरोधात्मक क्षमताका कारण वृद्धवृद्धामा संक्रमणको जोखिम पनि बढी हुन्छ । यस्तोमा केही सावधानी अपनाइयो र हेरचाह गरियो भने विभिन्न समस्याबाट वृद्धवृद्धालाई बचाउन सकिन्छ ।
जाडोमा कम शरीरको तापक्रमसँगै रक्तवाहिकाहरू साँघुरो हुन्छन्, जसले सम्पूर्ण शरीरमा अक्सिजन पुग्नबाट रोक्छ । जसले हृदयघात, कलेजोमा क्षति र स्ट्रोक पनि निम्त्याउन सक्छ ।
जाडोमा वृद्धवृद्धामा बढ्ने समस्या
दम
दमबाट पीडित वृद्धवृद्धाहरूको समस्या जाडोको मौसममा बढ्न सक्छ । दम एक किसिमको एलर्जिक रोग हो । चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले दमका रोगीहरूलाई चिसो हावाबाट बचाउनुपर्छ ।
फ्लु
वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा उनीहरूमा फ्लुको सम्भावना बढी हुन्छ । यो उनीहरूका लागि घातक पनि हुनसक्छ । जब शरीर दुख्ने, चिसो लाग्ने, ज्वरो आउने, कमजोरी वा टाउको दुख्ने, घाँटी दुख्ने, नाक बग्ने, बूढाबूढीमा खोकी लाग्ने जस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
निमोनिया
जाडो मौसममा निमोनियाको जोखिम बढी हुन्छ । निमोनिया जुनसुकै उमेरमा हुनसक्ने भए पनि बालबालिका र वृद्धवृद्धामा यससँग सम्बन्धित जटिलताको जोखिम उच्च हुन्छ । निमोनिया भाइरस, ब्याक्टेरिया वा फोक्सोलाई असर गर्ने फङ्गसको कारणले हुने संक्रमण हो । यस्तो अवस्थामा सास फेर्न गाह्रो हुन्छ । त्यसैले वृद्धावृद्धालाई दमको जोखिमबाट बचाउन विशेष सावधानी अपनाउनुपर्छ ।
भिटामिन डीको कमी
जाडोमा भिटामिन डीको कमी हुनसक्छ । यो सबैका लागि आवश्यक भिटामिन हो । विशेषगरी वृद्धवृद्धाहरूलाई यसको धेरै आवश्यकता हुन्छ । यदि घरका वृद्धवृद्धा भिटामिन डीको कमीबाट पीडित छन् भने यसले उनीहरूको मांसपेशीहरूमा दुखाइ बढ्न सक्छ र हड्डीहरू कमजोर हुनसक्छन् ।
डिहाइड्रेसन
जाडोमा मानिसहरू सामान्यतया पानी कम पिउने गर्छन्, जसकारण डिहाइड्रेसन हुनसक्छ । चिसो मौसममा तिर्खा प्रतिक्रिया पनि कम हुन्छ, यद्यपि शरीरलाई पहिले जस्तै पानी चाहिन्छ । यो अवस्थाले विभिन्न जटिलता निम्त्याउन सक्छ ।
हृदयघातको जोखिम
चिसो मौसममा वृद्धवृद्धाहरूलाई हृदयघातको बढी जोखिम हुन्छ । किनभने चिसो हावाले रक्तनलीहरू खुम्चिन्छ, जसले रक्तचाप बढाउँछ । चिसो दिनमा पनि वृद्धवृद्धाहरू बाहिर निस्किएर नियमित रूपमा बाहिरी गतिविधि गर्छन् भने यसले थप तनाव सिर्जना गर्छ, जुन मुटुका लागि बिलकुलै राम्रो होइन ।
जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल कसरी गर्ने ?
शरीर न्यानो राख्ने
उमेर बढ्दै जाँदा हाम्रो शरीर कम तापक्रम समायोजन गर्न कमजोर हुँदै जान्छ । त्यसैले वृद्धहरूलाई न्यानो बनाएर राख्नुपर्छ । चिसोबाट बच्न अनावश्यक काम बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन र निस्कनु परेमा न्यानो लुगा लगाएर हिंड्नुपर्छ ।
सक्रिय रहने
शरीरलाई न्यानो राख्नुका साथै वृद्धवृद्धाले शरीरलाई सक्रिय राख्नु पनि जरुरी हुन्छ । सक्रिय रहँदा शरीरमा न्यानोपन उत्पन्न हुनुका साथै शरीरलाई डिटक्सिफिकेसन पनि हुन्छ । यस्तोमा जाडोमा वृद्धवृद्धाले कम चिसो भएको दिनमा हल्का व्यायामका साथै हिंड्डुल पनि सक्छन् । धेरै चिसो हुँदा घरमै इनडोर व्यायाम गर्न सक्छन् ।
हाइड्रेटेड रहने
जाडोमा शरीरमा पानीको कमी हुनसक्छ । वृद्धहरू पनि यस समयमा कम सक्रिय रहन्छन्, जसकारण उनीहरूलाई कम तिर्खा लाग्छ । यस्तो अवस्थामा शरीरमा पानीको कमी नहोस् भनेर दिनभर पर्याप्त पानी पिउनुपर्छ । साथै हर्बल चिया र सुप पनि पिउन सकिन्छ ।
भिटामिन डी
चिसोबाट बच्न वृद्धवृद्धाहरूले भिटामिन डी लिनु पनि महत्त्वपूर्ण हुन्छ । जाडोमा दिनमा बाहिर राम्रो घाम लाग्छ, जुन हड्डीसँगै शरीरका लागि पनि फाइदाजनक हुन्छ । यस्तो अवस्थामा वृद्धवृद्धाले बिहान र दिनमा घाम ताप्ने प्रयास गर्नुपर्छ ।
खोप
जाडोयाममा वृद्धवृद्धालाई इन्फ्लुएन्जा र निमोनियाविरुद्धको खोप लगाइदिएर पनि इन्फ्लुएन्जा र निमोनियाको जोखिमबाट बचाउन सकिन्छ ।
प्रतिक्रिया 4