+

किन हुन्छ अण्डाशयमा सिस्ट र पाठेघरमा मासु पलाउने समस्या ? (भिडियो)

२०८१ कात्तिक  २५ गते १६:२४ २०८१ कात्तिक २५ गते १६:२४
किन हुन्छ अण्डाशयमा सिस्ट र पाठेघरमा मासु पलाउने समस्या ? (भिडियो)

पाठेघरको ‘सिस्ट’ सामान्यतया महिलामा आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अण्डा उत्पादनको क्रममा कुनै बेला ‘सिस्ट’ हुनसक्छ । यो बेलामा आत्तिनुपर्ने हुँदैन । धेरैमा साना ‘सिस्ट’हरू पलाउँछ, जुन आफैं फुटेर जान्छ पनि । तर ठूला ‘सिस्ट’ भएमा समस्या उत्पन्न हुनसक्छ ।

कतिपय महिलामा भने हर्मोनल गडबडीको कारण पीसीओएस र पीसीओडीको कारण पनि सिस्टको समस्या हुन्छ । साथै प्याथोलोजिकल सिस्ट पनि देखा पर्छ । कतिपय महिला सिस्ट र ‘फाइब्रोइड’ मासु पलाउने समस्यामा झुकिएको पाइन्छ । पाठेघरमा मासु पलाउने समस्या भनेको चिकित्सकीय भाषामा फाइब्रोइड पाठेघरको रोग हो ।

अण्डाशयमा पलाएको पानीको फोका, जमेको रगत आदि सिस्ट हो । सिस्ट एक प्रकारको झिल्लीदार थैली हो, जसमा तरल पदार्थ, हावा वा अन्य पदार्थ हुन्छ । सिस्ट विभिन्न प्रकारको हुन्छ जस्तो- फिजियोलोजी सिस्ट, प्याथोलोजिकल सिस्ट, डर्मोइड सिस्ट, इन्डोमेट्रियोटिक सिस्ट आदि ।

अण्डाशयमा सिस्ट पलाउँदा देखापर्ने लक्षण

सिस्ट एउटा अण्डामा पनि पलाएको हुनसक्छ र दुईवटामा पलाएको पनि हुनसक्छ । कुन प्रकारको सिस्ट पलाएको हो त्यही अनुसार लक्षण देखिन्छ । पछिल्लो समय महिला ढिलो विवाह गर्छन् । त्यसैले ‘एन्डोमेट्रियोसिस सिस्ट’ धेरैलाई देखिएको छ यो भनेको ‘चकलेट सिस्ट’ हो । जसमा अण्डाशयमा रगत जमेको हुन्छ र त्यसले गर्दा महिनावारी हुँदा एकदमै धेरै पेट दुख्ने, धेरै रगत जाने हुन्छ । यो सिस्टको कारण गर्भधारण गर्न पनि गाह्रो हुन्छ ।

त्यसबाहेक अन्य सिस्ट भनेको पानी भरिएको, डर्मोइड सिस्ट जसमा कपाल, हड्डी पनि हुन्छ । पाँच प्रतिशत सिस्ट भने क्यान्सरयुक्त पनि हुन्छन् । अण्डाशयमा पानीका फोकाहरू छ भने त्यसलाई पीसीओडी भनिन्छ । आजभोलि १५ देखि २५ वर्षको उमेरमा यो समस्या धेरैमा देखा परेको छ । पीसीओडी हुँदा अनियमित महिनावारी, महिनावारीको समयमा धेरै रक्तस्राव, लगातार तौल बढ्नु, डण्डीफोर आउने, शरीरमा रौं पलाउने, डिप्रेसन, चिडचिडेपन तथा अनिद्रा र अनावश्यक थकान तथा इन्फर्टिलिटी जस्ता लक्षण देखिन्छ ।

फाइब्रोइड’ पाठेघरमा मासु पलाउँदा देखापर्ने लक्षण 

पाठेघरमा फलाएको मासुको आकार सानो छ भने कुनै लक्षण नदेखिन पनि सक्छ । मासु ठूलो छ भने महिनावारीमा समस्या देखा पर्छ । महिनावारी हुँदा धेरै रक्तस्राव हुने, धेरै पेट दुख्ने, ब्लड क्लट देखापर्ने हुन्छ । मासु धेरै ठूलो भएको छ भने अगाडि पिसाब थैलीलाई थिचेर बारम्बार पिसाब लाग्ने, पिसाब गरिसकेपछि पनि फेरि पिसाब आएको जस्तो हुने हुन्छ । साथै मासुले पछाडितिर थिचेको छ भने दिसा गर्न गाह्रो हुने, दिसा गर्दा दुख्ने र कब्जियतको समस्या पनि देखिन सक्छ ।

सिस्ट तथा फाइब्रोइडको कारण

अहिले जीवनशैली एकदमै धेरै परिवर्तन भएको छ । शारीरिक क्रियाकलाप एकदमै कम भएको छ । स्क्रिन टाइम बढेको छ जसले गर्दा पनि अहिलेका युवायुवतीको शारीरिक क्रियाकलाप कम भएको र साथमा खानपानशैली पनि परिवर्तन भएको छ ।

प्रशोधित खानेकुरा, रसायनयुक्त खानेकुरा र धेरै गुलियो नुनिलो खानेकुराको सेवनले मोटोपन बढेको छ । साथै पछिल्लो समय मान्छेहरूको निद्रा पनि बिग्रिएको छ । राति अबेरसम्म मोबाइल चलाउने गर्दा पर्याप्त निद्रा पुगेको हुँदैन । कसैको रातभरि काम  गर्ने दिनभरि सुत्ने पनि हुन्छ । यसले ‘सर्केडियन रिदम’ हाम्रो मस्तिष्कदेखि प्रतिरोधात्मक प्रणालीसम्मको २४ घण्टे ‘रिदम’ हुन्छ जसअनुरूप हाम्रा सेल र टिस्युहरूले काम गर्छन् त्यो बिग्रिन्छ ।

अहिले मानिसहरूलाई विभिन्न कुराको तनाव हुन्छ युवायुवतीलाई पनि तनावले घेरेको हुन्छ जसले गर्दा हर्मोनमा गडबडी भएर सिस्टको समस्या हुन्छ । पहिले चुरोट र रक्सीको सेवन पुरुषले मात्र गर्छन् भन्ने थियो । तर अहिले महिलाहरूले चुरोट र रक्सीको सेवन गर्छन् त्यसले पनि सिस्ट तथा फाइब्रोडको समस्या बढाएको छ ।

अण्डाशयको मुख्य काम भनेको ओभिलियसन गर्ने हो, त्यसका लागि सही उमेरमा बच्चा जन्माउनुपर्ने हो । तर करिअर पढाइ आदिले गर्दा महिलाहरूको विवाह गर्ने उमेर र बच्चा पाउने उमेर बढ्दै गएको छ । यसले पनि सिस्ट र फाइब्रोडको समस्या बढेको छ ।

पाठेघरमा मासु पलाएमा वा अण्डाशयमा सिस्ट भए गर्भधारणमा समस्या हुन्छ ?

पाठेघरमा मासु पलाए, अण्डाशयमा सिस्ट पलाए के गर्ने भन्ने जिज्ञासा धेरैको हुन्छ । किनकि अहिले अविवाहित र कम उमेरका युवतीहरूमा पनि यो समस्या बढेको छ ।

केही दिनअघि मात्र पनि पोखराबाट १६ वर्षीया किशोरी पाठेघरमा मासु पलाएको समस्या लिएर अस्पताल आएकी थिइन् । ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेर उनको सिस्ट निकालिएको थियो । १८ वर्षदेखि ४५ वर्षसम्मका उमेरका महिलाहरूमा यो समस्या देखिएको छ । अण्डामा सिस्ट पलाएमा अण्डाशयको क्षमता कमजोर हुँदै जान्छ र गर्भधारण हुन गाह्रो हुन्छ । यस्तोमा आशयमा ओभिलियसन नै नभएपछि बच्चा बस्न गाह्रो हुन्छ ।

पाठेघरमा पलाउने मासु तीन किसिमको हुन्छ । एउटा हुन्छ समिकोजल जुन पाठेघरको भित्री भागमा हुन्छ अर्को इन्ट्राम्युरल पाठेघरको बीचमा र अर्को बाहिरतिर हुन्छ, जसलाई सबसेरोसल फाइब्रोइड भनिन्छ । पाठेघरको भित्री भागमा भएको समिकोजल र इन्ट्राम्युरल फाइब्रोडमा पाठेघरको बनावट बिग्रिएको हुन्छ र बच्चा बस्न गाह्रो हुन्छ । बसिहाले पनि गर्भपतन हुने वा समय अगावै बच्चा जन्मने सम्भावना हुन्छ ।

सिस्ट र फाइब्रोइडको उपचार

‘सिस्ट’को प्रकृति अनुसार यसको उपचार गरिन्छ । ‘सिस्ट’ सानो र सामान्य खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफैं फुटेर जान्छ वा सामान्य गर्भनिरोधक औषधि खान दिएर पनि निको पार्न सकिन्छ । तर पीसीओडीको समस्यामा औषधिसँगै जीवनशैली र खानपान परिवर्तन महत्वपूर्ण हुन्छ । सकेसम्म जंकफुड खानु हुँदैन, कोक फन्टा जस्ता पेय पदार्थ खानु हुँदैन र चुरोट रक्सीको सेवन पनि गर्नु हुँदैन ।

आफ्नो दैनिक खानामा हरियो सागपात, सलाद र फलफूलको प्रयोग गर्नुपर्दछ । सन्तुलित र पोषणयुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ । स्वस्थ रहन खानपानसँगै नियमित व्यायाम पनि गर्नुपर्छ । कम्तीमा पनि हप्ताको पाँच दिन ३० मिनेट पसिना आउने गरी व्यायाम गर्नुपर्छ । सिस्टको समस्या धेरैजसो मोटो व्यक्तिमा देखा पर्छ, त्यसैले तौल नियन्त्रण पनि गर्नुपर्छ ।

सिस्ट धेरै ठूलो छ भने यसले डिम्बाशयमा धेरै अवरोध वा इन्फेक्सन हुनसक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ । यदि धेरै ठूलो छ र असामान्य अवस्थाको छ भने समयमै शल्यक्रिया गरी निकाल्नुपर्छ । शल्यक्रिया गर्नका लागि ल्याप्रोस्कोपिक सर्जरी जस्ता विधि अपनाउन सकिन्छ ।

फाइब्रोइड पाठेघरमा मासु पलाउने समस्या पनि धेरै महिलामा देखा पर्ने गरेको पाइन्छ । १० जना महिलामध्ये दुई जना महिलामा यो समस्या देखा परेको पाइन्छ । त्यसैले बेला-बेलामा पाठेघरको परीक्षण गर्नुपर्छ । पाठेघरमा मासु पलाएको छ भने पाठेघर नै निकालेर फाल्नुपर्छ भनेर डराएर उपचार नगरी बसेको पनि पाइन्छ । तर समस्या समयमा पत्ता लगाएर पाठेघर र अण्डाशय बचाएर शल्यक्रिया गरेर हटाउन पनि सकिन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

अण्डाशय डा. राजन शाह पाठेघर

धेरै कमेन्ट गरिएका

लेखक
डा. राजन शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय