अकुपञ्चर चिकित्सकीय उपचार सुरुवात तीन हजार वर्ष पहिले भएको हो । आधुनिक चिकित्साभन्दा लामो इतिहास बोकेको अकुपञ्चर केही दशकअघि गुमनाम जस्तै थियो ।
तर विज्ञहरूले यस उपचारबारे गहन अध्ययन, अनुसन्धान गरी उपयोगिता पत्ता लगाए । पत्ता मात्र लगाएनन् थप यसलाई कसरी उपयोग गर्न सकिन्छ भनेर हर सम्भव प्रयास गरे । फलस्वरूप यो पद्धति पुनः चर्चामा छ । तर अझै पनि जनमानसमा यो पद्धतिलाई लिएर जिज्ञासा छ ।
यससँग जोडिएका केही जिज्ञासा
अकुपञ्चर विज्ञान प्रमाणित हो ?
हो, अकुपञ्चर परम्परागत चिनियाँ चिकित्सा प्रणाली हो । तर यसको प्रभावकारिता आधुनिक अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ । विभिन्न अध्ययनले अकुपञ्चरले पीडा व्यवस्थापन, तनाव र अन्य स्वास्थ्य समस्यामा सहयोग पुर्याउन सक्छ भनेर देखाएका छन् ।
अकुपञ्चर गर्दा दुखाइ हुन्छ ?
हुँदैन । धेरैजसो व्यक्तिलाई अकुपञ्चरको बेला सुई घोच्दा हल्का पीडा वा सुईको स्पर्श मात्र महसुस हुन्छ । सुईहरू धेरै पातलो हुन्छन्, जसले गर्दा सुई घोच्दा हुने दुखाइ न्यून हुन्छ । सही तालिमप्राप्त चिकित्सकले गर्दा पीडा महसुस हुँदैन ।
अकुपञ्चर दुखाई व्यवस्थापनमा मात्र प्रयोग गरिन्छ ?
हुँदैन । अकुपञ्चरले दुखाइ व्यवस्थापन मात्र नभएर अनिद्रा, पाचन समस्या, महिला स्वास्थ्यका समस्या, मानसिक स्वास्थ्य र प्रतिरक्षा प्रणाली सुधार गर्न पनि मद्दत गर्छ । यो एक बहुआयामिक उपचार हो ।
अकुपञ्चरले औषधिलाई प्रतिस्थापन गर्न सक्छ ?
अकुपञ्चरले औषधिलाई पूर्णरुपमा प्रतिस्थापन गर्दैन । तर यो अन्य चिकित्सा विधिहरूसँग मिलेर काम गर्न सक्छ । जसले गर्दा बिरामीलाई छिटो राहत मिल्छ । यसले कतिपय अवस्थामा बिरामीलाई औषधिको मात्रा कम गर्न सहयोग पुर्याउँछ ।
एक हप्ताभित्र अनुहार पक्षघात (फेसियल पाल्सी) को लागि अकुपञ्चर गर्न मिल्छ ?
मिल्छ । अनुहार पक्षघातको प्रारम्भिक चरणमा अकुपञ्चर गर्न सकिन्छ । अकुपञ्चरले यिन–याङ सन्तुलन, रक्तसञ्चार सुधार र प्रतिरक्षा बलियो बनाउन सहयोग गर्छ ।
सुरुमा स्वस्थ पक्षमा उपचार गर्दा ऊर्जा नोक्सान हुँदैन, बरु रोगको अवस्था छिटो सुधार हुन्छ ।
अकुपञ्चरमा जति धेरै सुई लगायो त्यति राम्रो हुन्छ ?
अकुपञ्चरमा ‘थोरै तर प्रभावकारी’ सिद्धान्त अनुसरण गरिन्छ । धेरै बिन्दुहरूमा सुई लगाउँदा शरीरको ऊर्जा नोक्सान भई कमजोरी उत्पन्न हुनसक्छ, जसले राम्रो उपचार परिणाम दिन सक्दैन । उपचार सातदेखि १० दिनसम्म गरेर दुई दिनको विश्राम उपयुक्त हुन्छ । किनकि निरन्तर अकुपञ्चर गर्दा सुधार रोकिन सक्छ वा थकावट देखा पर्न सक्छ ।
सामान्यतया, प्रत्येक सत्रमा १० देखि २० बिन्दुहरूमा सुई लगाउनु उचित मानिन्छ । तर जटिल र समस्या भएको अवस्थामा २० देखि माथि बिन्दुसम्म प्रयोग गर्न सकिन्छ ।
वर्षायाममा अकुपञ्चर गर्न मिल्छ ?
यो बिरामीको शारीरिक प्रकृति र रोगको अवस्थामा निर्भर गर्छ । वर्षायाममा चिसो र आर्द्रता बढी हुने भएकाले याङ कमी भएका बिरामीहरूमा अकुपञ्चर उपयुक्त नहुन सक्छ ।
अकुपञ्चरपछि शरीरका बिन्दुहरू खुला हुने हुँदा बाह्य चिसो हावाको जोखिम रहन्छ । साथै, शरीरमा पहिले नै आर्द्रता बढी भएका बिरामीहरूमा अवस्था बिग्रिन सक्छ । यस्तो अवस्थामा टीडीपी ल्याम्प, मोक्साबस्टन, वा तातो अकुपञ्चरले नकारात्मक प्रभाव घटाउन सहयोग पुर्याउँछ । यिनको कमी वा भित्री ताप भएका बिरामीहरूमा वर्षायाममा अकुपञ्चर लाभदायक हुन्छ ।
अनिद्राका बिरामीलाई पनि वर्षायामअघि अकुपञ्चर गर्दा लाभ मिल्छ । किनकि अनिद्राको कारण याङ ऊर्जा यिनमा प्रवेश नगर्नु हो । वर्षायाममा यी ऊर्जा बढी हुने भएकाले अनिद्राका बिरामीलाई निदाउन मद्दत पुर्याउँछ ।
अकुपञ्चरले मात्र दीर्घकालीन रोगहरूको उपचार गर्छ ?
यस्तो पटक्कै होइन । अकुपञ्चरले विभिन्न तीव्र र दीर्घकालीन रोगहरू, जस्तै आन्तरिक रोग, बाह्य रोग, स्त्रीरोग, बाल रोग र पाँच इन्द्रियसँग सम्बन्धित रोगहरूको उपचार सम्भव छ ।
यसले मेरिडियनहरू खुला गरी, रक्त र उर्जाको सन्तुलन कायम गर्न र रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरको यिन–याङ सन्तुलन र अंगहरूको सन्तुलन कायम राखी स्वास्थ्य पुनः प्राप्त गर्न सहयोग पुर्याउँछ ।
विशेषगरी महिलाको महिनावारीको पीडा, पेट दुखाइ, मांसपेशी र जोर्नी पीडा, टाउको दुखाइ जस्ता समस्याहरूमा अकुपञ्चरले छिटो र प्रभावकारी रूपमा पीडा कम गर्न मद्दत गर्छ ।
सुई लामो समयसम्म राख्दा बढी फाइदा दिन्छ ?
हुँदैन । अकुपञ्चरको समय र अवधि बिरामीको रोगअनुसार निर्धारण गरिनुपर्छ । सुई धेरै समय राख्दा शरीरले उपचारमा कम प्रतिक्रिया दिन सक्छ र स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।
सामान्यतया, सुईलाई २०–३० मिनेटसम्म राख्नु पर्याप्त हुन्छ ।
अकुपञ्चर सुरक्षित छ ?
अकुपञ्चर धेरै प्रचलित र सुरक्षित उपचार विधि हो, जसले साधारणतया कुनै गम्भीर नकारात्मक प्रभाव गर्दैन । यद्यपि, अकुपञ्चर गर्दा केवल स्नायु वा रक्तनलीहरूमा कुनै हानि नगरी मांसपेशी र त्यससँग जोडिएको तहको बीचमा सुई प्रवेश सावधानीपूर्वक गर्नुपर्ने हुँदा यो उपचार व्यावसायिक चिकित्सकबाट मात्र गरिनुपर्छ ।
अकुपञ्चरबाट संक्रमण हुनसक्छ ?
हुँदैन । हाल प्रयोग गरिने अकुपञ्चर सुईहरू एक पटक मात्र प्रयोग गरिने हुन्छन् । सुईको प्वाल पनि निकै सानो हुने भएकाले सङ्क्रमणको जोखिम रहँदैन ।
गर्भवती महिलालाई अकुपञ्चर गर्न मिल्दैन ?
गर्भवती महिलाहरूले अकुपञ्चर चिकित्सकको सल्लाहमा सुरक्षित रूपमा गराउन सक्छन् । यो विधि गर्भावस्थाका लक्षणहरू मुर्छा, पीठ दुखाइ र तनाव व्यवस्थापनमा सहयोग पुर्याउन सक्छ ।
प्रतिक्रिया 4