२६ कात्तिक, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको राजीनामा स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको हो ।
उनले स्वास्थ्य बीमालाई सोचेजस्तो हिसाबले अगाडि बढाउन नसक्दा राजीनामा दिनुपरेको बताएका थिए ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णयबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा जानकारी गराएका हुन् ।
१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ‘आफ्नो कार्यकालमा बीमालाई सफल बढाउने सोच राखेको थिएँ । तर काम गर्ने सहज वातावरण पनि हुन सकेन’, डा. लोहनीले अनलाइनखबरसँग भनेका थिए, ‘सरकारले बीमाको कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेन ।’
लोहनीले गत २८ भदौमा राजीनामा दिएका थिए ।
अहिले स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन छ । बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो ।
बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालयले आफ्ना कुनै महाशाखाका कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुवै पदमा पार्टीगत भागबण्डाको आधारमा नियुक्ति गर्ने तयारी चलिरहेको छ ।
प्रतिक्रिया 4