२७ कात्तिक, पोखरा । पोखरा महानगरपालिकामा उत्पन्न कर्मचारी विवादमा नेपाली कांग्रेसले कार्यपालिकाबाट कानुनी दायित्वअनुसारै निर्णय भएको र नगर प्रहरीमाथि प्रहार गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ ।
कात्तिक २० गते पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुखको सचिवालयमा खटिएका नगर प्रहरीमाथि गरेको सांघातिक आक्रमण, हुल हुज्जत तथा अशोभनीय कार्य भएको भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको छ ।
गत कात्तिक १५ गते नेपाली कांग्रेसकै दबाबबीच बसेको ३७ औं कार्यपालिका बैठकले २८ जना प्राविधिकलाई कात्तिकसम्मको सेवा सुविधा दिएर हटाउने, ५ जना शिक्षिका र २ जना परिचालिकालाई कार्यालय सहयोगीमा राख्न सक्ने र बाँकी करारका कर्मचारीको हकमा पुस मसान्तसम्म म्याद थप्ने निर्णय गरेको थियो । एमाले असहमति जनाउँदै बैठक नै बहिस्कार गरे पनि बहुमतका आधारमा बैठक बसेर निर्णय गरेको थियो ।
एमालेले ३७ औं कार्यपालिका बैठकको निर्णय खारेज गर्नुपर्ने, सबै करार कर्मचारीलाई पुससम्मै करार अवधि थप्नुपर्ने र त्यतिबेलासम्म कर्मचारीहरुको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको थियो । कात्तिक २० गते त्यही क्रममा पोखरा महानगरपालिकामा एमाले जनप्रतिनिधिले मेयरको कार्यकक्षमा छिर्न नदिएको भन्दै नगर प्रहरी सन्तबहादुर केसीको अण्डकोषमा प्रहार गरेका थिए । सोमबार उनको शल्यक्रिया भएको छ ।
नेपाली कांग्रेस दलका नेता तथा वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले विज्ञप्ति जारी गर्दै कानुनअनुसारै निर्णय भएको र नगर प्रहरीमाथि हमला गर्नेलाई कारबाहीको माग गरेका हुन् ।
कार्यपालिकाको ३७ औं बैठकले प्रदेश लोकसेवा आयोगबाट सिफारिस भइ आएका कर्मचारीलाई काममा लगाउनु पर्ने र यसरी लगाउँदा २८ जना कर्मचारीहरूलाई विदा दिनुपर्ने अनिवार्य कानुनी दायित्व अनुसार निर्णय गरेको उनको भनाइ छ । ऐन कानुनअनुसार गरिएको निर्णयलाई कार्यान्वयन गर्नुको विकल्प नभएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
‘लोकतन्त्रमा कुनै पनि विषयको पक्ष वा विपक्षमा आफ्नो अभिमत राख्ने, आन्दोलन गर्ने व्यक्ति वा संगठनको नैसर्गिक अधिकार हो । यद्यपि यस्ता गतिविधिहरू प्रचलित ऐन कानुनभन्दा माथि हुन सक्दैनन् । आन्दोलनका नाममा गरिएका कुनै पनि अराजक एवं गुण्डागर्दीजन्य गतिविधिको हामी कडा शब्दमा घोर भत्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
जन निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी नगर प्रमुख ज्युको सचिवालय तोडफोड गर्नु, ड्युटीमा खटिएका नगर प्रहरीलाई घिसारेर बाहिर निकाल्नु, नगर प्रहरी सहायक निरीक्षक सन्तबहादुर केसीको संवेदनशील अंमा प्रहार गरी सख्त घाइते बनाई शल्यक्रिया गर्नुपर्ने परिस्थितिको सृजना हुनुले दुखी तुल्याएको कांग्रेसको भनाइ छ ।
एउटा कर्मचारीको पक्षमा आन्दोलन गर्ने नाममा अर्को कर्मचारीमाथि संघातिक आक्रमण हुनु निन्दनीय विषय भएको उसले जनाएको छ ।
‘घाइते प्रहरी केसीमाथि आक्रमण गर्ने जो कसैलाई तत्काल अनुसन्धान गरी कडा कारबाही गर्न र उचित स्वास्थ्य उपचारको प्रबन्ध गर्न महानगरपालिका समक्ष जोडदार माग गर्दछौं,’ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट प्रधानांगले भनेका छन् ।
प्रतिक्रिया 4