२७ कात्तिक, काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर पूर्वमन्त्री दीपक मनाङेले आफूलाई पत्रकारहरुले भात खान पनि नदिएको गुनासो गरेका छन् । जिल्ला अदालत परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा मनाङेले भात खान पनि नपाएको गुनासो गरेका हुन् ।
फैसला कार्यान्वयनका लागि सीआईबीले मनाङेलाई जिल्ला अदालतमा पेश गरेको थियो । फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलान गर्न आदेश दिएका थिए ।
त्यसपछि अदालतबाट बाहिरिने क्रममा पत्रकारहरुले मनाङेको प्रतिक्रिया मागेका थिए । संक्षिप्त प्रतिक्रिया दिंदै उनले ‘तिमीहरुले भात खान पनि दिएनौ क्यारे’ भनेका थिए । अदालत परिसरको भीड छिचोल्दै प्रहरीले मनाङेलाई कारागारतर्फ लगेको थियो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजाय भोगिसकेकाले अब बाँकी समय कारागारमा बिताउनुपर्नेछ ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनको फैसलालाई सदर गरेको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई आज बिहान काठमाडौंको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4