+
+
पत्रकार भुल हत्या प्रकरण :

प्रहरी चौकीमा मिलापत्रको केही दिनमै कुटपिट गरी हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १८:२३

३० कात्तिक, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–११ का पत्रकार सुरेश भुलको हत्याअघि प्रहरी कार्यालयमा दुई पक्षीय छलफल भएको पाइएको छ । चौकीमा मिलापत्र गरेर फर्किएको केही दिनमै उनको कुटपिटपछि हत्या भएको खुलेको हो ।

यता प्रहरीले भने छलफल भए पनि उनीहरूबीचको मिलापत्रमा प्रहरीको कुनै उपस्थित नभएको दाबी गरको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्ट भन्छन्, ‘छलफल भएको हो तर, प्रहरीको उपस्थितिमा कुनै मिलापत्र भएको थिएन ।’

२० कात्तिकमा गौरीगंगा–११ कान्तिपुर टोलकी बिस्ना भुलको हराएको बाख्रो पत्रकार भुलको घरमा बाँधिएको भेटिएको थियो । प्रहरीका अनुसार भुलले सुरुमा उक्त बाख्रो अन्तबाटै आफूले किनेर ल्याएको दाबी गरेका थिए ।

तर, उनका आफन्तले भने मेडिकल अगाडि बाख्रो बसेको देखेपछि त्यहीं नजिकै सुरेशले उक्त बाख्रो बाँधेको दाबी गरेका छन् । बाख्राधनी पक्षले भने चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि उनीहरूबीच प्रहरी चौकी मुसरियामा छलफल भएको थियो ।

चौकीमा भएको छलफलमा उक्त बाख्रो भुलले नै राख्ने र बाख्राधनी बिस्नालाई बाख्रो बराबरको रकम दिने सहमतिसमेत भएको खुलेको छ ।

तर सुरेशले रकम दिन ढिलो गरेको भन्दै आक्रोशित भएर उनीहरू २४ गते कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सुरेशको उपचारको क्रममा २६ गते मृत्यु भएको एसपी विष्ट बताउँछन् ।
हत्या आरोपमा सोही ठाउँका ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको एसपी विष्टले बताए । पक्राउ पर्नेहरूमा ४५ वर्षीया बिस्ना भुल, ५५ वर्षीय जंगबहादुर भुल, २८ वर्षीय विशाल विक, ३१ वर्षीय दिनेश विक, १९ वर्षीय दिनेश भुल, ३१ वर्षीय धर्म विक, २७ वर्षीय रमेश रावल र ३८ वर्षीया रमा रावल छन् ।

पक्राउ परेकाहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी विष्टले बताए ।

यो घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ । मालाखेतीका डीएसपी गंगाबहादुर थापाका अनुसार घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?