लोकतन्त्रको बहाव कहिल्यै निभ्न नदिएको नेपाली कांग्रेस नेपाली राजनीतिक इतिहासको एउटा सिङ्गो किताब हो । देशको राजनीति, शासन व्यवस्था, राष्ट्रियता र प्रजातन्त्र विरुद्ध कहिल्यै कुनै सम्झौता नगरेको कांग्रेसका आफ्नै ऐतिहासिक मूल्य, मान्यता, विधि र विधान छन् । जहाँ देशको सिङ्गो इतिहास र लोकअधिकारका जीवन्त धरोहरहरू गाँसिएका छन् ।
भारतको बनारसमा १५ कात्तिक २००३ मा भएको एउटा भेलामा सिर्जित ‘नेपाली राष्ट्रिय कांग्रेस’कै जगमा आजको नेपाली कांग्रेस जिउँदो–जाग्दो छ । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा लगायत नेताहरूले जन्माएको यो संगठन त्यही वर्षको माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा ‘नेपाली राष्ट्रिय कांग्रेस’का रूपमा स्थापित भयो ।
त्यसैलाई पार्टीको पहिलो महाधिवेशन मानिन्छ । त्यसको तीन वर्षपछि नेपाल प्रजातान्त्रिक कांग्रेससँगको एकीकरणपछि एक्लो ‘नेपाली कांग्रेस’ बन्यो । जसले नेपालको प्रजातान्त्रिक लडाईंमा निकै संघर्ष र गौरवपूर्ण इतिहासका पानाहरू भर्यो ।
नेपाली कांग्रेस फेरि एकपटक महाधिवेशनको चरणमा छ । समयको सही–सलामती भइरहे अनि नेतृत्वको इच्छाशक्ति नबदलिए आगामी वर्ष नेपाली कांग्रेस फेरि १५औं महाधिवेशनमा होमिनेछ । यद्यपि हरेक चार वर्षमा हुनै पर्ने महाधिवेशनको सँघारमा यो वा त्यो बहानामा लम्ब्याउने वा छेक्ने कामहरू यसअघि नभएका होइनन् ।
महाधिवेशनको सँघारमा पार्टीभित्र वा भनौं नेतृत्वभित्र हुने यसखालका ध्रुवीकरणहरूले महाधिवेशन लम्बिने अवस्थाहरू यसअघि पनि नेपाली कांग्रेसले झेल्दै आएको छ । तर पार्टीको विधानले स्पष्ट पारिसकेका कतिपय विधिविधानलाई भने यसपालि मिचिनुहुन्न भन्ने अपेक्षा कांग्रेसका लाखौं सदस्यको छ ।
केन्द्रीय महाधिवेशनबारे विधानमा यस्ता व्यवस्था छन् :
– पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ ।
– केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।
– केन्द्रीय महाधिवेशनको एक महिना अगाडि केन्द्रीय महाधिवेशनका प्रतिनिधिले आ–आफ्नो जिल्ला मार्फत केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रमा बुझाउनुपर्नेछ ।
– केन्द्रीय महाधिवेशनको सम्पूर्ण सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यले केन्द्रीय कार्यसमितिको कुनै पनि निर्णय पुनरावलोकन गर्न केन्द्रीय महाधिवेशन भन्दा एक महिना पहिले नै केन्द्रीय कार्यालय मार्फत केन्द्रीय महाधिवेशनमा प्रस्ताव प्रस्तुत गर्न सक्नेछन् । त्यसरी प्रस्तुत हुने प्रस्तावमा छलफल गरी निर्णय गरिनेछ ।
– महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीतिनिर्माण तथा विधान पारित गर्न फरक–फरक समयमा महाधिवेशन गर्न सकिनेछ । सोका लागि पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्नेछ ।
यसरी विधानले प्रस्ट रूपमै भनेको छ कि नेपाली कांग्रेसको महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । हरेक लोकतान्त्रिक पार्टीको सर्वोच्च निकाय विधिसम्मत तोकिएको तिथिमितिमै आम कार्यकर्ताबाट ‘अडिट’ हुन जरूरी छ ।
यसबाट पार्टीमा नयाँ रक्तसञ्चार हुन्छ भने कार्यकर्तामा स्फूर्ति ताजगी हुन्छ । त्यसैले एउटा लोकतान्त्रिक पार्टीमा महाधिवेशन भनेको एउटा त्यस्तो सञ्जीवनी हो जसले सिङ्गो पार्टीको आन्तरिक जीवनलाई जीवन्त बनाउँछ ।
तर महाधिवेशन आउनुअघि नै नेपाली कांग्रेसले गर्नैपर्ने केही कामहरूको अझै थालनी भएकै छैन । केही सुरुवात भएका छन् तथापि सकिएका छैनन् । धेरै काम बाँकी छन् । पार्टी नेतृत्वले पदाधिकारीहरूलाई त्यही अनुसार जिम्मेवारी दिएको छ । त्यही अनुसार कार्यभारहरू बाँडफाँट भएका छन् ।
तदनुरुप कामहरू यथा समयमै भए महाधिवेशन सार्नुपर्ने वा धकेल्नुपर्ने अरू कुनै कारण बाँकी रहँदैनन् । राष्ट्रिय संकट वा कुनै अन्तर्राष्ट्रिय बाधा–व्यवधानहरू आएनन् भने पार्टीको आन्तरिक कारणले मात्रै महाधिवेशनलाई एकै दिन मात्रै सार्न खोजियो भने त्यसको परिणाम पक्कै पनि राम्रो हुने छैन ।
त्यसैले जिम्मेवारी पाएका अनि कार्यक्षेत्र र कार्यभार तोकिएका पदाधिकारीहरूले रातदिन नभनेर ती जिम्मेवारीहरू पूरा गर्न लाग्नुपर्छ । यसका लागि सबैभन्दा ठूलो जिम्मेवारी भनेको त महामन्त्रीहरूको हुन्छ ।
संरचनागत र विधानले कार्यभार प्रस्ट पारे अनुसार संगठनहरू सम्हाल्ने जिम्मेवारी भनेको महामन्त्रीहरूको हो । त्यस कामका लागि आवश्यकता अनुसार सहयोग गर्नु सहमहामन्त्रीहरूको कर्तव्य हो । र, केन्द्रीय सदस्यहरू पनि जिम्मेवारीबाट पन्छिन मिल्दैन ।
हरेक महाधिवेशनका बेला वा अरू समयमा पनि नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै बल्झिने समस्या भनेको क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यता प्राप्त गर्ने वा त्यसको वितरणका सबै कार्यविधि विधानले नै प्रस्ट पारिसकेको छ । अनि कार्यसमितिले त्यसको छिनोफानो गर्ने जिम्मेवारी र अधिकार पनि महामन्त्रीहरूलाई दिएको छ ।
यस्तो अवस्थामा टोल–टोलमा सक्रिय सदस्यता वितरणका लागि खटिएका वा जिम्मेवारी पाएका प्रतिनिधिहरूको प्रगति बुझ्ने र बाधाअड्काउ फुकाउनका लागि सहजीकरण गर्ने प्रमुख जिम्मेवारी विधान अनुसार महामन्त्रीहरूकै हो ।
त्यसका लागि महामन्त्रीहरू यतिबेला हरेक दिनजसो पार्टी कार्यालयमा नियमित बस्ने र देशभरिका गतिविधिहरूको बारेमा जानकारी लिने काममा खटिनुपर्छ । आवश्यक परेका बखत समस्या परेका स्थानहरूमा खटिने बाहेक संगठन सुदृढीकरणको सम्पूर्ण जिम्मेवारी महामन्त्रीहरूलाई नै हुन्छ ।
यस कारण पार्टी सभापति वा नेतृत्व भन्दा पनि पदीय हिसाबले महाधिवेशनलाई समयमै सम्पन्न गर्ने वा त्यसलाई धकेल्ने भन्नेबारे पार्टीको निक्र्योल पनि महामन्त्रीहरूकै कार्यक्षमता र उनीहरूले सम्हालेको जिम्मेवारी कति पूरा गरे वा गरेनन् भन्नेमा निर्भर रहन्छ ।
लोकतन्त्रका आ–आफ्नै चक्र हुन्छन् । आ–आफ्नै विधिविधान र मूल्य अनि मान्यताहरू हुन्छन् । त्यसका बेग्लै सिद्धान्त हुन्छन् र त्यसलाई अपनाउने आ–आफ्नै तौरतरिका हुन्छन् । नेपाली कांग्रेसको मूल मर्म भनेकै लोकतन्त्र हो । प्रजातन्त्रको लडाईंले जन्माएको एउटा ऐतिहासिक पार्टी अनि प्रजातन्त्रकै वैश्विक सिद्धान्तलाई आत्मसात् गरेको नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र भने लगातार बिरामी झैं हुन थालेको छ ।
देशको शासनपद्धति वा राज्य सिद्धान्तमा अपनाइने प्राविधिक लोकतन्त्र बाहेक नेपाली कांग्रेसभित्र आफ्नै मौलिक लोकतन्त्र छ । त्यसको मर्मलाई सदैव पुनर्ताजगी गर्न कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई पूर्ण चलायमान बनाउन आवश्यक छ । त्यसैलाई जीवन्त लोकतन्त्र भनिन्छ ।
यो जीवन्त लोकतन्त्रको अभ्यासका निम्ति महाधिवेशनको नियमिततालाई त्यसको अनुशासनलाई अझ तेजिलो बनाउँछ । नेपाली कांग्रेसले पनि आफ्नो विधान अनि नीति, कार्यक्रम र नियमावली मार्फत त्यसको मौलिक अभ्यास गर्दै आएको छ । त्यही अभ्यासको एउटा सर्वोच्चतम विन्दु भनेको महाधिवेशन नै हो । १५औं महाधिवेशन पनि विधानकै मर्मअनुसार २०८२ साल मंसिरमा हुनैपर्छ भन्नेमा आम कार्यकर्ताको दुईमत छैन ।
१४औं महाधिवेशन लगत्तै देशमा आम चुनाव भयो । हरेक सार्वभौम राष्ट्रको जीवनमा जसरी आम निर्वाचन लोकतन्त्रको सबैभन्दा सर्वोच्च अभ्यास हुन्छ एउटा लोकतान्त्रिक पार्टीको जीवनमा पनि महाधिवेशनको महत्व उत्तिकै रहन्छ । तथापि अहिलेसम्म नेपाली कांग्रेसको ध्यान पनि यही आम निर्वाचनमा केन्द्रित भएको छ भन्दा अत्युक्ति नहोला ।
यद्यपि एउटा सार्वभौम लोकतान्त्रिक राष्ट्रमा आम निर्वाचन पार्टीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा स्पष्ट नै छ । तथापि पार्टीको आन्तरिक लोकतन्त्रलाई बचाइराख्न पार्टीको महाधिवेशन पनि उत्तिकै जरूरी छ । आम चुनावपछि देखिएका राजनीतिक परिस्थितिहरूले आम नागरिकमा अहिले नैराश्य, वैराग्य अनि आक्रोश बढिरहेको छ ।
राज्य वा शासनव्यवस्था र अवस्थाप्रति यसरी निरन्तर नागरिक आक्रोश बढ्दै जानु वा नैराश्यता फैलिनु भनेको अन्ततः लोकतन्त्रमाथि बादल मडारिनु हो । आफ्नो नीति वा सिद्धान्त मात्रै होइन, जिम्मेवारीका हिसाबले पनि नेपाली कांग्रेस देशको प्रमुख दल हो । अरू पार्टीहरूले के गरे वा के गर्लान् भन्नुभन्दा पनि देशको एउटा ऐतिहासिक पार्टी भएका नाताले राष्ट्रका निम्ति अघि बढ्ने हिम्मत गर्नु नेपाली कांग्रेसको आफ्नो मौलिक पहिचान पनि हो ।
किनकि देशका हरेक ऐतिहासिक कालखण्डहरूमा वा परिवर्तनका हरेक निर्णायक मोडहरूमा नेपाली कांग्रेसले नै देशलाई सम्हाल्दै आएको इतिहास छ । यी सब निराशाहरूलाई चिर्न पनि नेपाली कांग्रेसको पुनर्ताजगी चाहिन्छ र त्यसकै लागि पनि महाधिवेशन समयमै हुन जरूरी छ ।
यस्तो अवस्थामा कांग्रेसको आन्तरिक सुव्यवस्था सुदृढ हुन निकै जरूरी छ । र त्यसका लागि समयमै महाधिवेशन हुन अझ जरूरी छ । सबैतिरबाट काँध थापिरहेका पार्टीलाई हरेक भ्रातृ संगठन, विभाग वा थुप्रै शुभेच्छुक संघ–संगठनको पुनर्ताजगी अनि पुनर्निर्माणले पार्टीलाई मजबुत र अझ जागरुक बनाउँछ । समयमै महाधिवेशन सकेर फेरि लगत्तै आम चुनावमा होमिनु त छँदैछ ।
कांग्रेसको महाधिवेशन समयमै भयो भने त्यसपछिको निर्वाचन परिणाममा पनि महाधिवेशनका सकारात्मक प्रभावले काम गर्न सक्छ । अहिलेको परिस्थितिलाई नियाल्दा महाधिवेशन सारिहाल्नुपर्ने वा अलि पछि धकेल्ने भनेको बहाना मात्रै हुनसक्छन् । नेतृत्वलाई त्यसका लागि सबैतिरबाट दबाव दिन जरूरी छ ।
नेपाली कांग्रेसका नौ लाख क्रियाशील सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ–संस्था, सबै लोकतन्त्रप्रेमी, मौन मतदाता लगायतले आजैदेखि त्यसका लागि पहल थालौं । जो जहाँ छौं, पार्टीको आफ्नो नेतालाई महाधिवेशन कहिले हुन्छ ? भनेर सोधौं ।
अनि नेतृत्वलाई हरेक माध्यमबाट दबाब दिऔं । फोन गरेर सोधौं, सामाजिक सञ्जालमा सोधौं । यसबाट कार्यकर्तामा जति जोश, जाँगर र उमंग छाउँछ त्यसले नेपाली कांग्रेसलाई अझ सुदृढ, सुगठित र सुशोभित गर्नेछ । अन्ततः देश, समाज, लोकतन्त्रलाई मजबुत बनाउँछ ।
प्रतिक्रिया 4