+
+
लाजिम्पाटमा व्यवसायीमाथि रड प्रहार घटना :

जेलबाट छुटेका मार्शललाई पक्राउ गरेर फेरि अनुसन्धान

एक व्यवसायीमाथि लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा रड प्रहार भएको घटनामा संलग्न भएको आरोपमा जेलबाट छुटेका व्यक्तिलाई फेरि पक्राउ परेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:०९

१६ मंसिर, काठमाडौं । एक व्यवसायीमाथि लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा रड प्रहार भएको घटनामा संलग्न भएको आरोपमा जेलबाट छुटेका व्यक्तिलाई फेरि पक्राउ परेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि भएको आक्रमण संलग्न भएको आरोपमा मार्शल भनिने शैलेन्द्र तामाङमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको हो । आक्रमण भएकै दिन जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मार्शललाई पक्राउ गरेको थियो ।

सुरुमा उनीमाथि प्रहरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरेर मुद्दा बुझाएको थियो । उनी यसअघि पनि फौजदारी मुद्दा चलेकाले ‘पटके’ कसुरदार भएकाले यो मुद्दा जिल्ला अदालत काठमाडौंले हेरेको थियो । जसमा काठमाडौं जिल्ला आलतले उनीविरुद्ध २८ दिनको कैद सजाय सुनाएको थियो । तर प्रहरी हिरासतमा १८ दिन बिताएकाले उनले १० दिनमात्रै कारागार बस्नुपर्‍थ्यो ।

१० दिन कैद भुक्तान गरिसकेपछि फेरि उनलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

‘रड प्रहारको भूमिकामा उनी पनि संलग्न देखिएपछि फेरि पक्राउ परेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएका छौं’ एसपी अधिकारीले अनलाइनखबरसँग भने ।

उनीसँगै यो घटनामा अहिले दुई जनामाथि अनुसन्धान भइरहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सोही घटनामा संलग्न रही फरार रहेका निश्चल सुनारलाई झापाबाट २ मंसिरमा पक्राउ गरेको थियो । अहिले मार्शल र निश्चलविरुद्ध परिसरले अनुसन्धान अघि बढाइरहेको छ भने दुई जना अझै फरार छन् । फरार हुनेहरुमा अजय लामा र दीपक बरामु छन् ।

अहिले हिरासतमा रहेका तामाङ यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । उनीसहितको समूहले ठमेलको छायाँ सेन्टरस्थित प्लेब्वाई क्लबको पार्किङमा एक व्यक्तिमाथि आक्रमण गरेको थियो ।

नुवाकोटकै गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङको समूहमा रहेका तामाङसहित ७ जनाविरुद्ध त्यतिबेला ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार ‘घैटे’कै सहयोगी सानुभाइले पछिल्लो समय आफ्नो छुट्टै समूह बनाएर गुण्डागर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् । उनै सानुभाइको समूहमा रहेका तामाङले व्यवसायी विक्रम लामामाथि आक्रमण गर्न प्रयोग भएको खुलेको छ ।

त्यस्तै अर्का फरार व्यक्ति अजय लामा पनि यसअघि ठगी मुद्दामा तीन वर्ष ६ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध गत पुस ९ मा मात्रै ठमेलको सात घुम्तीस्थित १०एक्स क्लबको अगाडि ड्युटीमा रहेका प्रहरी जवान लोकबहादुर बुढामाथि कुटपिट गरेको आरोपमा समेत मुद्दा चलेको थियो । त्यतिबेला लामाको समूहले प्रहरी जवान बुढाको टाउकामा किक हान्नुका साथै मोबाइल समेत फुटाइदिएको थियो । उनै अजयले आफूसहित तीन जना प्रयोग गरेर विक्रममाथि आक्रमण गरेको खुलेको छ ।

‘ठगी मुद्दामा विक्रमकै कारण आफू साढे ३ वर्ष जेल बस्नु परेको भन्दै उनैले आक्रमण गर्ने योजना बनाएपछि आक्रमण पक्राउ परेकाहरुले दाबी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार आक्रमणको योजना बनाएपछि आक्रमणकारीले चार वटा नयाँ मोबाइल सेट र सिमकार्ड किनेका थिए । त्यसपछि ती फोन र सिमकार्ड समेत प्रयोग भएको छैन ।

यता पीडित पक्षले भने हाल बेलायतमा रहेकी एक महिलाले हत्या गर्ने उद्देश्यले सुपारी दिएर आपराधिक समूह परिचालन गरेको दाबी प्रहरी समक्ष गरेको छ । पीडित पक्षले बेलायतमा रहेकी भनिएकी महिला नातेदार समेत रहेको र एक क्रसरमा संयुक्त लगानी समेत रहेको, पछिललो समय सम्बन्धमा दरार आएपछि मार्नेसम्मको योजना बनाएर आक्रमण भएको दाबी उनीहरुको छ ।

गत वर्ष पनि आफूमाथि यस्तै आक्रमणको योजना बनेको सूचना आएको विक्रमले प्रहरी समक्ष दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?