+
+

करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

आफैंले बनाएको ऐन बाधक भएपछि अध्यादेश ल्याउने सरकारको योजना

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले मन्त्रालयहरूमा कर्मचारी अभाव भएकाले करारमा कर्मचारी राख्न अध्यादेश ल्याउन लोकसेवा आयोगसँग राय माग्ने निर्णय गरेको हो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ मंसिर १७ गते १७:३०

१७ मंसिर, पोखरा । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले निजामती सेवा ऐन संशोधन अध्यादेश ल्याउने भएको छ । करारमा कर्मचारी राख्न निजामती सेवा ऐनको खिलाफ हुने भएकाले सरकारले अध्यादेश ल्याउने भएको हो ।

सोही तयारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले मन्त्रालयहरूमा कर्मचारी अभाव भएकाले करारमा कर्मचारी राख्न अध्यादेश ल्याउन लोकसेवा आयोगसँग राय माग्ने निर्णय गरेको हो ।

इन्जिनियरिङ र कृषि सेवामा करारमा कर्मचारी राख्न अध्यादेश ल्याउन लागिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गण्डकी प्रदेश निजामती सेवा ऐनको दफा १४ मा कुनै पनि करार र ज्यालादारीमा कर्मचारी राख्न नपाउने व्यवस्था गरेको छ ।

दफा १४ को उपदफा १ मा भनिएको छ, ‘ज्यालापारी ना करारमा नियुक्ति गर्न नपाइने (१) यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन ।’ त्यसको उपदफा २ ले अझै कडा व्यवस्था गरेको छ ।

ऐनविपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने अधिकारीबाट सरकारी बाँकी सरह असूल उपर गर्ने व्यवस्था छ । यही व्यवस्थाका कारण मन्त्रालयहरूमा करारमा कर्मचारी राख्न मन्त्री र सचिवहरू डराउँदै आइरहेका थिए । निजामती सेवा नियमावलीले पनि त्यही व्यवस्थालाई जोड दिएको छ ।

आफैंले ल्याएको ऐनले करारमा कर्मचारी राख्ने बाटो बन्द गरेपछि सरकारको टाउको दुखाइ बन्दै आएको थियो । भौतिक पूर्वाधार कार्यालयमा मात्र करिब १ सय जना प्राविधिक करारमा राख्न आवश्यक छ । कृषि सेवामा पनि कर्मचारी आवश्यक परेकाले अध्यादेश ल्याउन लागिएको मुख्यमन्त्री पाण्डेले बताए ।

आफैंले बनाएको ऐन बाधक भए पनि आपत्कालीन सेवाका नाममा कर्मचारी नियुक्त गर्दै आइरहेका थिए । स्वास्थ्यमा आपतकालीन सेवाका नाममा कर्मचारी करारमा नियुक्त गर्ने मन्त्रिपरिषद्‍को बैठकले यसअघि नै निर्णय गरेको थियो । तर, इन्जिनियर र कृषि सेवामा कर्मचारी राख्न नपाउँदा काम प्रभावित हुँदै आएको मन्त्रीहरुको भनाइ छ । पूर्वाधार विकास तथा यातायात, ऊर्जा जलस्रोत तथा खानेपानी र कृषि मन्त्रालय मातहत करारमा कर्मचारी राख्न अध्यादेश ल्याउन लागिएको हो ।

गण्डकीमा कर्मचारी अभावको समस्या हल गर्नका लागि प्रदेश सरकारले अध्यादेश ल्याउने मन्त्रिपरिषद्‍ले निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुष्टि गरे । स्वास्थ्यपछि इन्जिनियरिङ सेवा र कृषि सेवाका करारका कर्मचारीकाबारेमा मन्त्रिपरिषद्‍ले निर्णय गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

आफैंले ल्याएको ऐनले करारमा कर्मचारी राख्ने बाटो बन्द गरेपछि सरकारको टाउको दुखाइ बन्दै आएको थियो । भौतिक पूर्वाधार कार्यालयमा मात्र करिब १ सय जना प्राविधिक करारमा राख्न आवश्यक छ ।

अन्त पनि नाम निकाल्ने, विदेश जाने हुँदा कर्मचारी अभाव भए पनि करारमा राख्न नपाउने नियमका कारण अप्ठेरो परेकाले अध्यादेश ल्याउन लागिएको भौतिक पूर्वाधार मन्त्रालयको समीक्षा बैठकमा मुख्यमन्त्री पाण्डेले जानकारी गराए । संसद नचलेको अवस्थामा तत्काल समस्या समाधान गर्नुपर्ने भएकाले अध्यादेश ल्याउन लागिएको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङले बताए ।

‘प्रदेश लोकसेवा आयोगलाई परामर्श दिन पत्र पठाउँछौं । निजामती सेवा ऐन अनुकूल वा प्रतिकूल छ भनेर राय दिएपछि मन्त्रिपरिषद्‍ले फेरि अध्यादेश ल्याउने निर्णय गर्छ,’ अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. टकराज गुरुङले भने ।

गण्डकीमा संघीय सरकारले २ हजार ६ सय १७ दरबन्दी तोकेको छ । तर, गण्डकी सरकारले भने ३ हजार ३ सय चाहिने बताउँदै आएको छ । कर्मचारी संगठन तथा व्यवस्थापन सर्भेक्षण नै पुनरावलोकन नगरी प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखा प्रमुख पार्वती लामिछानेले बताइन् ।

प्रदेशका पदहरू दर्ता हुने क्रममै रहेको लामिछानेको भनाइ छ । गत ७ असोजमा छैठौं अधिवेशन अन्त्य भएको थियो । त्यसपछि अर्को अधिवेशन कहिले बोलाउने भन्ने एकीन नभएकाले अध्यादेश ल्याउन लागिएको हो ।

सरकारले संसदलाई बिजनेस दिन नसकेको सांसदहरूले गुनासो गरिरहँदा मुख्यमन्त्री पाण्डेले आगामी अधिवेशनमा पेस गर्ने गरी ऐनको तयारी गर्न पनि निर्देशन दिएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?