२० मंसिर, बुटवल । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेरै भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् ।
भैरहवामा बिहीबार नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था पहिलेभन्दा सुध्रिँदै गएको भन्दै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे ।
‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ,’ अर्थमन्त्री पौडेलले भने । उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने दाबी गरे ।
‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ’, उनले भने, ‘उद्योगी व्यपारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’
वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठिक नभएको तर यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको उनले दाबी गरे ।
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे ।
‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै उनले अर्को भवन निर्माण गर्न तयारी भइरहेको बताए ।
‘विमानस्थलमा अरू काम पनि बाँकी छन् । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं,’ उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं । विमानस्थलबारे सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदैछन् । निजी क्षेत्रले गर्ने काम गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । हामी चलाएर देखाउँछौं ।’
अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे ।
बुटवल–नारायाणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानका लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको जनाए ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउने सरकारले लगानी गर्दै जाने बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले तेस्रो मुलुकका नागरिकलाई मात्रै पर्यटक मान्ने तर भारतीयलाई पर्यटक नमान्ने मानसिकता हटाउनुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताए । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उनले भने, ‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुनसक्छन् ।’ उनले नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको जनाए ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायीमैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताए ।
संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाए । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।
३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले बताए । महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सवमा सुरु महोत्सव १ पसुसम्म सञ्चालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने आयोजको अपेक्षा छ ।
प्रतिक्रिया 4